चाँडै विवाह गरेपछि बच्चा धेरै जन्मिन्छन्–चेपाङ
मकवानपुरको काकडा–७, दामराङकी सेतीमाया चेपाङको साथमा एक वर्षदेखि साढे ३ वर्षसम्मका २ छोरा र २ छोरी छन् । चारजनै लगभग उस्तै देखिन्छन्, दुब्लापातला । शरीरको माथिल्लो भागमा लुगा छ, तल्लो भाग नांगै । उमेरले किशोरी तर २५, ३० वर्षको जस्तो दे
खिने सेतीमायाको खास उमेर १७ वर्षमात्र हो । उनी पाँचौं बच्चा जन्माउने तरखरमा छिन् । उनको पेटमा ६ महिनाको गर्भ छ । सेतीमाया आफैं दुब्ली छन् । उनी ठमठमी हिँड्न पनि सक्दिनन् ।
१३ वर्षको उमेरमा गाउँकै १५ वर्षको केटा शिवमान चेपाङसँग बाबुआमाले उनको विवाह गरिदिएका थिए । विवाह गरेको १० महिनापछि उनले पहिलो बच्चा जन्माइन् । सेतीमायाको काखमा अहिले पौष्टिक आहार खान नपाएर सुकेनाश लागेको ११ महिनाको छोरा छ । डेढ वर्षकी अर्की छोरी र काखको छोरा आमाको दूध चुस्छन् ।
ओठमा हाँसो हतपती नदेखाउने सेतीमाया आफ्नो कुरा पनि खुलस्तसँग भन्न लजाउँछिन् । उनका पतिको अधिकांश समय कन्दमूल खोज्न जंगलमै बित्ने गर्छ । खोरिया बारीमा उत्पादन भएको मकै र कोदोले २ महिना पनि धान्दैन । जंगली कन्दमूलमै उनीहरूले भर पर्नुपर्छ ।
उनीहरूका कुनै पनि बच्चा स्कुल जाँदैनन् । सेतीमाया लजाउँदै भन्छिन्, ‘बाबु—आमाले चाँडै विवाह गरिदिए । चाँडै विवाह गरेपछि बच्चा धेरै जन्मिन्छन् ।’ काकडा–१ की वृषामाया चेपाङ पनि १५ वर्षको उमेरमै दुइटा बच्चाकी आमा बनेकी छिन् । १३ वर्षको उमेरमा उनले छिमेकी १४ वर्षीय केटासँंग भागी विवाह गरेकी थिइन् । बाबुआमाले अर्कैै केटासंँग विवाह गर्नलागेकाले मनपरेको केटासँंग भागी विवाह गरेको उनको भनाइ छ । त्यतिबेला उनी स्थानीय स्कुलमा ४ कक्षामा पढ्थिन् ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेको भार्ता–६, डाँडागाउँका १५ वर्षीया राममाया चेपाङ र १६ वर्षीय रामकृष्ण चेपाङबीच मंसिरको १६ गते मागी विवाह भयो । विवाहमा गाउँका अगुवा शिक्षक र राजनीतिक दलका नेताहरू नै सहभागी थिए । भार्ता–६, धनिराङका १२ वर्षीया सुन्तली चेपाङ र १५ वर्षीय एकराज चेपाङले पनि परम्पराअनुसार नै बालविवाह गरे । यसैगरी भार्ता–४ रतुवाका १३ वर्षीया सनीमाया चेपाङको १५ वर्षीय सोमबहादुर चेपाङसंँग मंसिर २० गते विवाह भयो । भार्तामा मंसिर २५ गतेसम्ममा १६ वटाभन्दा बढी बालविवाह भइसकेको छ । गतवर्ष भार्ता गाविसमा २० जोडीको बालविवाह भएको थियो । यो वर्ष त्योभन्दा बढी हुनसक्ने चेपाङ संघका पूर्वसचिव तथा स्थानीय महेश चेपाङ बताउँछन् । चेपाङ समुदायमा मंसिरदेखि फागुन अन्तिमसम्ममा बिहे गर्ने चलन छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले चेपाङ महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हालै गरेको अध्ययन प्रतिवेदन अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त गाविसका ८६ प्रतिशत बालिकाको १२ वर्षदेखि १५ वर्षसम्म विवाह हुने गरेको छ ।