रक्तदान जीवनदान भन्ने मूल नाराका साथ पालुङ जेसीजद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ महिला सहित ५९ जनाले रक्तदान गरेका छन् । मंगलबार थाहानगर ओखरबजारमा पालुङ जेसीजले भरत रत्न जेहेन्दार छात्रवृत्ति वितरण तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
जेसीजका अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्ष तथा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पालुङ जेसीज वर्ष २००८ का अध्यक्ष भरत गोपालीको सहयोगमा थाहा नगरका मत्स्य नारायण मावि, जनकल्याण उच्च मावि, झम्केश्वरी मावि, सुनौला मावि र बज्रवाराही माविका १० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निर्देशक मनिता राजकर्णिकारले रक्तदान सम्वन्धी जानकारी मूलक सन्देश दिएका थिए ।

थाहा नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एउटा गोरु मरेको छ । वडा नम्बर ९ स्थित गणेश बहादुर पाख्रिनको गोरु करेन्ट लागेर मरेको हो ।
एक हल गोरु जंगलमा चराउन लगेकोमा बाटोमा लत्रेको तारमा परी एउटा मरेको बताइएको छ । बलले पालेको अर्को गोरुलाई पनि करेन्ट लागेको भए पनि एउटा मात्र मरेको स्थानीयको भनाइ छ । प्राधिकरणले विद्युतीय तार लत्रेको, पोल जीर्ण भएको, रुखले छोएको पन्छाउन आलटाल गरीरहेकोले घटना बढेको स्थानीयहरुको गुनासो छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पछिल्लो बैठक गत २०७३ साल साउन ३१ गते सोमबार हेटौंडामा बसेको थियो । उक्त बैठकले विविध प्रस्तावअन्तर्गत गरिएको एउटा तालिमसम्बन्धी निर्णय बाहेक मूल प्रस्तावमा एउटै निर्णय गरेको छ –‘महासंघको सदस्यता प्राप्तिका लागि निवेदन परेका मध्ये २४ जनाको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिसमक्ष पेश गर्ने ।’ बैठकले सदस्यता स्वीकृत गर्दा दुईवटा शर्त र आधार लिएको छ । उसकै भाषामा – १) पूर्णकालीन पत्रकारिता गर्नेलाई सदस्यता सिफारिश गर्ने २)हाल पत्रकारितामा क्रियाशील रहेको र व्यवस्थापन पक्षमा रही काम नगरेको ।
यसरी पत्रकार महासंघको मकवानपुर शाखाले गरेको निर्णयपछि अहिले मकवानपुरको पत्रकारिता क्षेत्रमा व्यापक टिप्पणीहरु सुनिएका छन् । प्रथमतः सदस्यता सिफारिश पाउने २३ जना निर्विवाद छन् र उनीहरुप्रति अग्रिम बधाई र शुभकामना पनि । शाखाले निर्धारण गरेको शर्त र आधारका कारण पत्रकारितामा क्रियाशील भएर पनि सदस्यताबाट बन्चित बनाइएका कैयौं पत्रकारहरुलाई हेरेर एकातिर आश्चर्य प्रकट भैरहेको छ भने अर्कातिर उक्त निर्णयको कार्यान्वयनले भविष्यमा सदस्यता नवीकरण हुन नसक्दा शाखाको वर्तमान कार्यसमिति नै अल्पमतमा परेर विघटन हुने स्थिति आउन सक्नेमा चिन्ता व्यक्त भइरहेको छ । वास्तवमा यो निर्णयको कार्यान्वयनले तत्काल सतहमा देखिएको र भविष्यमा देखिने असरहरुलाई विश्लेषण गर्न जरुरी त छ नै, मकवानपुर शाखाले सदस्यता सिफारिशका शर्त र आधारहरुको निर्णय गरिरहँदा त्यस्तो निर्णय गर्ने शर्त र आधारहरुचाहिँ के हुन् भन्नेतर्फ ध्यान दिनु पहिलो जड सवाल हो ।
नेपाल पत्रकार महासंघको विधानको दफा ४ मा सदस्यताको प्रकार र योग्यतासम्बन्धी व्यवस्थामा भनिएको छ, –‘महासंघमा सदस्य, संस्थागत सदस्य, अतिथि सदस्य र मानार्थ सदस्य गरी चार प्रकारका सदस्य हुनेछन् ।’ सदस्यको योग्यता सम्बन्धमा सोही दफाको उपदफा १ मा भनिएको छ– ‘(क) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा लागेका व्यक्ति, (ख) पत्रकारिता वा अरु कुनै विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति, (ग) प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति, तर महिला, आदिवासी जनजाति, दलित, मधेशी, शारीरिकरुपमा अशक्त, अल्पसंख्यक र पछाडि पारिएको क्षेत्र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ । (घ) यो संशोधित विधान लागू हुनुभन्दा अगाडि महासंघको सदस्य रहेका व्यक्ति, (ङ) महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।’
यसरी विधान अनुसार महासंघको सदस्यता लिन चाहने पत्रकारले आफू क्रियाशील रहेको शाखामा योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पत्रकारितामा निरन्तरता र क्रियाशीलताको प्रमाण र आफू कार्यरत संस्थाको नियुक्तिपत्रसहित आवेदन दिएपछि प्रक्रिया अघि बढ्छ । शाखामा आवेदन आएपछि छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश गर्नु शाखाको काम हो । शाखाले आवेदनको छानविन गर्दा माथि उल्लेखित विधानको दफा ४ अनुसार सदस्य हुन चाहिने योग्यताका आधारहरुलाई सूचकको रुपमा लिनुपर्दछ ।

महासंघको विधानले कतै पनि शाखालाई कुनै पत्रकारलाई सदस्यता प्रदान गर्नु अघि उल्लेखित योग्यताका अतिरिक्त शाखाले आफै अन्य शर्त र आधारहरु तोक्न सक्नेछ भनी उल्लेख गरेको छैन । मकवानपुर शाखाले निर्णय गरी जुन दुईवटा शर्त र आधारहरु तय गरेको छ, विधानको कुन दफाको आधारमा शर्त र आधारहरु तय गरिएका हुन् भन्ने स्पष्ट छैन । प्रत्येक शाखाका लागि महासंघको सर्वोच्च निकाय साधारणसभाले पारित गरेको एउटै विधान लागू हुन्छ । कुनै पत्रकारलाई महासंघको सदस्यता दिँदा विधानमा जुनसुकै कुरा लेखिएको भएपनि कुनै शाखाले शाखाको पत्रकारिताको खास विशेषताको आधारमा योग्यताको छुट्टै आधार तय गर्नसक्ने व्यवस्था विधानले गरेको देखिँदैन । यस अर्थमा मकवानपुर शाखा विधानभन्दा माथि पुगेको देखिन्छ र त्यो उचाइबाट तल हेर्दा उसले कैयौं क्रियाशील पत्रकारलाई महासंघको सदस्य बन्न योग्य नदेखेको अवस्था हो ।
शाखाले मकवानपुरका सदस्यता स्वीकृति गर्न लिएको पहिलो शर्त र आधार पूर्णकालीन पत्रकारिता गर्नेलाई सदस्यता सिफारिश गर्ने भन्ने छ । महासंघको विधानमा पत्रकारलाई पूर्णकालीन वा आंशिक भनेर कतै छुट्याइएको छैन । पत्रकारको परिभाषा गर्दै विधानले भनेको छ – “पत्रकार” भन्नाले यस विधानबमोजिम तोकिएको योग्यता पुगेको छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध समाचार संकलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, भाषा सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँछ ।’ विधान अनुसार पूर्णकालीन वा आंशिक आधारमा पत्रकार हो, होइन भनेर छुट्याउन सकिँदैन । कुनै रेडियोले उसको आवश्यकताका आधारमा कुनै पत्रकारलाई कुनै एउटा समाचार बुलेटिन वाचनका लागि मात्र नियुक्त गरेको रहेछ भने उसलाई पनि पत्रकार भन्नुपर्ने विधानको मुख्य आसय हो । कुनै एउटा साप्ताहिकले कार्टुनिष्ट नियुक्त गरेको रहेछ र उसले हप्तामा एउटा कार्टुन बनाउनु पर्ने जिम्मेवारी रहेछ भने उसलाई पनि विधानबमोजिम पत्रकार भन्नु पर्ने हुन्छ र योग्यताको आधारमा महासंघको सदस्यता प्राप्तिको हकवाला हुन्छ । पूर्णकालीन होइन भनेर उनीहरुलाई अयोग्य ठहराएर सदस्यता दिनबाट बन्चित गरिनुहुँदैन ।
आमसंचार माध्यमको प्रकार, प्रकृति र विशेषताको आधारमा पत्रकारले कुनै पूर्णकालीन रुपमा गर्नुपर्ने काम हुन्छन्, कुनै आंशिक रुपमा गर्नु पर्ने काम हुन्छन् । पूर्णकालीन वा आंशिक जे भए पनि उसको क्रियाशीलता र निरन्तरताको विषयचाहिँ महासंघको सदस्यताको एउटा योग्यताको आधार हो । महासंघमा सदस्यताका लागि आवेदन गर्दा पूर्णकालीन वा आंशिक के हो भन्ने कुनै कागज पेश गर्नु पर्दैन, तर क्रियाशीलता र निरन्तरताको प्रमाण भने पेश गर्नुपर्दछ । उदाहरणका लागि कुनै छापा माध्यममा सम्बाददाताको रुपमा काम गर्ने पत्रकारले सदस्यताका लागि आवेदन गर्दा अन्य कागजातको साथमा आफूले लेखेको समाचारको ‘कटिङ’ पनि पेश गर्नुपर्दछ । यो भनेको उसको निरन्तरता र क्रियाशीलताकोे प्रमाण हो । मकवानपुरमा पत्रकारले महासंघको सदस्यता प्रांप्तिका लागि दिएको आवेदनमा संलग्न कागजहरुमध्ये २४ जनाबाहेक अन्य पत्रकार आंशिक हुन् भन्ने कुन कागजले प्रमाणित गरेको हो, यसको जवाफ शाखाले दिनुपर्दछ । र, पत्रकार आंशिक हुन्छ कि हुँदैन र उसलाई महासंघको सदस्यता प्राप्त गर्नबाट त्यही कारणले बन्चित हुनुपर्ने विधानको कुन दफामा छ भन्ने पनि शाखाले देखाउन सक्नुपर्दछ ।
महासंघ मकवानपुर शाखाको कार्यसमितिले सदस्यता प्राप्तिको अर्को आधार तय गरेको छ –हाल पत्रकारितामा क्रियाशील रहेको र व्यवस्थापन पक्षमा रही काम नगरेको । यसको अर्थ पत्रकारितामा क्रियाशील भएर पनि व्यवस्थापन पक्षमा रही काम गरेको रहेछ भने त्यस्तो पत्रकारलाई सदस्यता नदिने भन्ने हो । माथि नै भनियो कि सदस्यता प्राप्तिका लागि आवेदन दिँदा क्रियाशीलताको प्रमाण त अवश्यै पेश गर्नुपर्दछ । यसलाई कुनै शाखाले छुट्टै शर्त बनाइराख्नु आवश्यक छैन । जहाँसम्म पत्रकारको क्रियाशीलतासँगै जोडिएको व्यवस्थापकीय भूमिकाको सवाल छ, विधान बमोजिम पत्रकार भएको हकमा उसलाई पत्रकार महासंघको सदस्यता प्रदान गर्ने हो । पत्रकार महासंघको सदस्यताको आवेदनसंगै संलग्न कागजातहरु छानविन गर्ने क्रममा उसको नियुक्ती पत्र हेर्दा त्यसमा उल्लेखित पद र कार्यविवरण विधान बमोजिम पत्रकारको परिभाषा भित्र नपर्ने रहेछ भने अन्य जुनसकै पक्षमा काम गरेको भएपनि सदस्यका लागि योग्य हुँदैन । सदस्यताको लागि दिएको आवेदनमा कागजपत्रहरु तेकिएबमोजिम छन् तर पत्रकार नभएर त्यही संचार गृह वा अन्यमा व्यवस्थापकीय भूमिकामा छ भन्ने कार्यसमितिलाई लागेको छ भने त्यस्तो अवस्थामा शाखाले छानविन तथा यथार्थ जाँचबुझ समिति बनाएर काम गर्नुपर्ने हुनसक्छ । उक्त समितिको प्रतिवेदनको आधारमा सदस्यता स्वकृति सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । तर स्पष्ट के हुनुपर्दछ भने कुनै व्यवस्थापकीय भूमिकामा रहेको व्यक्ति क्रियाशील पत्रकार हो भने क्रियाशील पत्रकारको आधारमा उसले महासंघको सदस्यता प्राप्त गर्न विधानको कुनै दफाले छेक्दैन ।
पत्रकार महासंघको प्रत्येक शाखाको एउटा काम आफूसमक्ष आएको आवेदनको छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश गर्नु र योग्यता नपुगेका आवेदकहरुको कुन कुन कारणले योग्यता नपुगेको भन्ने करा स्पष्टरुपमा खुलाएर सम्बन्धित आवेदकलाई जानकारी दिनु पनि हो । शाखाको माइन्युटमै कुनकुन आवेदनको छानविन गरियो र त्यसमध्ये स्वीकृत र अस्वीकृत छुट्याई अस्वीकृत हुनुको कारणसमेत उल्लेख गर्नुपर्दछ । कुनै आवेदकले बुझ्न चाहेमा सोही माइन्युटको आधारमा निजलाई त्यस्तो सूचना दिनुपर्दछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले यो अधिकारलाई अझ सुरक्षित गरिदिएको छ ।

वास्तवमा झण्डै दुई सय सदस्यको नेतृत्व गर्ने पत्रकार महासंघ मकवानपुर शाखाले यसप्रकारको विवादित विषय सिर्जना गर्नु परिपक्वताको प्रदर्शन होइन । यसलाई निर्णय गर्नुपूर्व उसले विभिन्न चरणमा अग्रज, बुद्धिजीवी र पत्रकारहरुसँग छलफल र अन्तरक्रिया गर्न सक्दथ्यो । अहिले शाखा सदस्यता प्रदान गर्ने सन्दर्भमा एउटा निर्णयमा पुगिसकेको अवस्थामा यो विषय केन्द्रीय समितिको छानबिनको विषय बन्न सक्नेछ । स्मरण रहोस्, विधानमा भनिएको छ, ‘यसरी छानबिन गर्दा योग्यताबमोजिम सदस्य नहुनेलाई सदस्य बनाएको वा योग्यता हुँदाहुँदै सदस्य बन्नबाट वञ्चित गरिएको पाइएमा त्यस्तो शाखा वा त्यस कार्यमा संलग्न जिम्मेवार पदाधिकारी वा सदस्यउपर छानबिन गर्न सकिनेछ । यस्तो कारबाहीमा त्यस्तो शाखाको समितिलाई सचेत, निलम्बन, भंग वा कुनै सदस्यको सदस्यता निलम्बन वा समाप्त गर्न सकिनेछ ।’
तर, अन्य कुरा यथावत रहेको अवस्थामा यो निर्णय कार्यान्वयन हुन सक्छ । सबैले बुझुनु पर्ने कुरा के छ भने मकवानपुर शाखाको यो निर्णय मुलतः ग्रामीण पत्रकारिता र समावेशी संचार नीतिको विरुद्ध उभिएको छ । हेटौंडाबाहिर थाहानगर र अन्य ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका र सदस्यताको लागि आवेदन दिएका मध्ये एकजना पनि सदस्य योग्य नदेख्नुुले यसको पुष्टि गरेको छ । साथै आगामी दिनमा यसले पूर्णकालीन हुन नसक्ने पत्रकारहरुलाई सदस्यताबाट रोक्ने छ र यसको सबैभन्दा बढी समस्या महिला, आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायका पत्रकारले भोग्नुपर्नेछ । जनजाति, दलित र सीमान्तकृत समदायका पत्रकार अहिले पनि पूर्णकालीन बनेर पत्रकारिताको मूल प्रवाहमा आउने वातावरण नभइरहेको सन्दर्भमा मकवानपुर शाखाको उक्त निर्णयले उनीहरुलाई सदस्यताबाट ‘ब्रेक’ लगाउनेछ । उदाहरणका लागि कुनै रेडियोमा हप्ताको आधा घण्टा तामाङ भाषाको कार्यक्रम चलाउने संचारकर्मीलाई मकवानपुर शाखाले पत्रकार मान्ने छैन र सदस्यता दिने छैन । यसले अन्ततः मकवानपुर शाखा समावेशी मुलकको असमावेशी चरित्रमा बदलिनेछ जसले यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा दुरगामी नकारात्मक असर पार्नेछ ।
अन्ततः पत्रकार महासंघ मकवानपुर शाखाको सदस्यतासम्बन्धी निर्णय स्वयम् कार्यसमिति सदस्यहरुका लागि कि आफ्नै सदस्यताको मृत्युपत्रमाथिको हस्ताक्षर हो कि कम्तिमा निर्णयकर्ताको हैसियतले आफ्ना अन्य पेसा भए परित्याग गरेर पत्रकारिताको आंशिक जीवनबाट पूर्णकालीन हुने प्रतिवद्धता हो । उनीहरुले दुई मध्ये एक रोज्नुपर्दछ । तिनै सदस्यहरुबाट निर्वाचित भएर तिनै सदस्यहरुलाई अयोग्य ठहराउँदै आंशिक पत्रकार भए पनि निर्वाचित भएको कारणले अर्को निर्वाचनसम्म म्याद छ भनेर बस्न नैतिक रुपमा सुहाउने कुरा होइन । कार्यसमितिमा स्वयं उनीहरुको निर्णयले अयोग्य ठहरिने व्यक्ति पदाधिकारी छन् भने उनीहरुले आजसम्म नैतिक रुपमा पदबाट राजीनामा दिन ढिला भैसकेको छ किन कि उनीहरुकै परिभाषा अनुसार कार्यसमितिका आंशिकहरुले पूर्णकालीन सदस्यहरुको नेतृत्व गर्नु नैतिक पक्षसँग जोडिएको सवाल हो । अथवा उनीहरुका लागि अर्को अवसर पनि छ कि आजकै मितिबाट आफू पूर्णकालीन भएको र अर्को कुनै मुख्य पेसा नभएको घोषणा गर्ने र नैतिकरुपमा गर्वका साथ पूर्णकालीन सदस्यहरुको व्यवसायिक नेतृत्व प्रदान गर्ने ।
दुबै बिकल्पमा प्रगति हुन नसकेको अवस्थामा शाखाको अर्को बैठकमा यसप्रकारको नैतिक प्रस्तावमाथि छलफल चलाउन जरुरी छ र अघिल्लो निर्णयको कार्यान्वयन आफ्नै समितिका सदस्यहरुको छानविन र प्रक्रियाबाट गर्न उचित हुनेछ । यदि यसो पनि हुन सकेन भने यो साधारण सभामा गम्भीर छलफलको विषय बन्नुपर्दछ ।
वास्तवमा मकवानपुर शाखाले सदस्यतासम्बन्धी जुनसुकै शर्त र आधार तोकेको भए पनि विधानसँग बाझिएकोमा बाझिएको हदसम्म निष्क्रिय बनाइनुपर्दछ र विधानबमोजिम योग्यता पुगेका क्रियाशील पत्रकारलाई सदस्यता स्वीकृत गर्नुपर्दछ । यो नै उत्तम र विधानसम्मत विकल्प हुनेछ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् ।)
राज्यको बिभेदको कारण नै आदिवासी जनजातिहरु शैक्षिक,आर्थिक ,सामाजिक लगायत सम्पुर्ण क्षेत्रमा पछाडी परेको प्राध्यापक तथा नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव बाल कूष्ण माबुहाङले बताउनु भएकको छ ।बिश्व आदिवासी दिवसका अवसररमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरको आयोजनामा सास्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दे महासंघका पुर्व महासचिव माबुहाङले हरेक जनजातिले आफ्नो भाषामा शिक्षा लिन पाउनु पर्ने बताउनु भयो ।
नेपाल नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर अध्यक्ष तिर्थ बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेश सचिव एंव सल्लहाकार बुद्ध लामा नेकपा एमाले मकवानपुर उपसचिव मीना लामा माओवादी केन्द्रका अध्यक्ष प्रेम बहादुर पुलामी,संघीय समाजबादी फोरमका अध्यक्ष शुभरत्न गोले,जिल्ला बिकास समिती मकवानपुरका बरिष्ठ सामाजिक बिकास अधिकृत रामकृष्ण थापा,हेटौडा उपमहानगरपालिका प्रबन्धक भिम प्रसाद तिम्लसीना ,आयोजनामा भुजेल सेवा समितीका अध्यक्ष ध्रुव भुजेल,नेपाल आदिवासी जनजाति पत्रकार महसंघ मकवानपुर अध्यक्ष पुर्णिमा गोले लगायतले शुभकामना मन्त्तब्य ब्यक्त गर्नु भएको थियो ।
२२ औ बिश्व आदिवासी दिवसका अवसर हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले सप्ताहव्यापी कार्यक्रम अन्तरगत गरेको हो । कार्यक्रमलाई नेपाल आदिवासी जनजाति युवा महासंघ, नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघ र नेपाल मगर युवा संघको मकवानपुर शाखाले व्यबस्थापन गरेको थियो । कार्यक्रममा दुई महिलासहित १४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेवाः देय् दबुःका जिल्ला उपाध्यक्ष अनिल खड्गे, किराँत राई यायोख्याका जिल्ला उपाध्यक्ष पदमराज राई लगाएतले रक्तदान गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र, हेटौँडाका रक्त प्राबिधिक बिष्णुप्रसाद रिमाल लगाएतले रगत संकलन गरेका हुन् ।

नेपाल तरकारी तथा फलफूल व्यबसायी संघ, नेपाल मगर युवा संघका जिल्ला अध्यक्ष प्रकाश राना लगाएतले फलफूल सहयोग गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, निबर्तमान अध्यक्ष बुद्ध लामा, सल्लाहकार नन्दरत्न स्थापित, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।त्यस्तै, बिश्व आदिवासी दिवसका अवसरमा नेपाल तामाङ घेदुङ मकवानपुरद्धारा फलफूल बितरण गरेको छ । हेटौडा उपमहानगरपालिका १७ रातोमाटेमा रहेको दिब्य सेवा निकेतन बृद्धाश्रममा रहेका ३१ जना बृद्धबृद्धालाई फलफूल बितरण गरिएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको प्रमुख आतिथ्य तथा नेपाल तामाङ घेदुङकी केन्द्रिय सदस्य जानकी लामाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम घेदुङका मकवानपुर अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममै नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष राजकुमार गोलेले आश्रमलाई २ हजार रुपैया सहयोग प्रदान गर्नुभयो । कार्यक्रममा दिब्य सेवा निकेतनका केन्द्रिय अध्यक्ष टी आर निरौला, आश्रमका अध्यक्ष चम्फु सिँह लामा, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहकार मधुकर सिं गलामी मगर लगायत जातिय संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

मकवानपुरको हाँडीखोला गाविस–४ र सरिखेतपलाँसे गाविस–९ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
सरिखेतपलाँसे–९ का रमेश गोलेको घरमा परेको चट्याङ लागेर उनकी चार वर्षीया भतिजी कुमारी गोलेको ज्यान गएको हो । चट्याङ लागेर घरमा रहेका माया मोक्तान, माइली मोक्तान, मैनाकुमारी गोले, हीरामाया मोक्तान र कान्छी गोले घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै हाँडीखोला गाविस–४ मा परेको चट्याङ लागेर स्थानीय अमृता मोक्तान गम्भीर घाइते भएकी छन् । घाइतेहरुको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
मकवानपुर थाहा नगरपालिकाको विकास घरमा एकदिने दलित सचेतना तथा अन्तरक्रिया कार्यक्रम सकिएको छ । दलित समन्वय समिति थाहा नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा थाहा नगरपालिका भरीको करिव १ सय ५० जनाको सहभागिता रहेको थियो । अन्तरक्रियामा दलितहरुलाइृ केन्द्रित गरेर सरकारले दिएको सेवा सुविधा लक्षितसम्म पुग्न नसकेको बताएका थिए । उनीहरुले सबै दलितको हकहितको लागि एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा समसामहिक दलित समुदायको वस्तुगत अवस्था विष्लेशण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थाहा नगरपालिकाका दलित समन्वय समितिका अध्यक्ष जमिन दियालीले दलितका मुक्तिका निमिक्त मोर्चावादी आवश्यकता रहेका बताए।
दलित मुक्ति मोर्चा समाजका क्षेत्रिय सदस्य सिताराम सुनारको सभाध्यक्षतामा भएको अन्तरक्रिया दलित मुक्ति मोर्चा थाहानगरका सदस्य अर्जुन सुनारले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस दलित संघ क्षेत्रिय प्रतिनिधि पुरुषोत्तम विश्वकर्मा, मुक्ति समाज जिल्ला सदस्य कमार मिजार, नयाँ शक्ति नेपाल दलित प्रतिनिधि विनोद परियार, कमार विक, दलित मुक्ति मोर्चा जिल्ला सदस्य शिखा विश्वकर्मा लगायतले बोलेका थिए ।
मकवानपुर थाहा नगरपालिका शिखरकोटमा तीनदिने मनोसामाजिक परामर्श तालिम शुरु भएको छ । माइती नेपाल मकवानपुरको आयोजनामा भएको तालीममा नामटार, पालुङ र टिष्टुङका संघसंस्थाका प्रतिनिधिहरु, सहकारी, सेफ हाउस, संयुक्त वडा कार्यालय पालुङ, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिका पदाधिकारीहरुलगायतको सहभागिता छ ।
भुकम्पका कारण तथा अरु कारणले भएको पारिवारिक बेमेल, हिंसाले समाजमा मनोसामाजिक समस्या बढ्दै गएकोले ती पिडितहरुलाई सहजिकरण गर्नको लागि तालीमको आयोजना गरिएको आयोजक माइती नेपालका कार्यक्रम संयोजक माया लामाले बताइन् ।
कार्यक्रममा माइती नेपालको तर्फबाट कार्यक्रम संयोजक लामा, फिल्ड सुपरभाइजर मन लामा, सामाजिक परिचालक रिता ढुङ्गेल, सहजकर्ताहरु पविना लामा, विद्या लामा र सोममाया लामा लगायतको उपस्थिति रहेको थियो ।
२२ औ बिश्व आदिवासी दिवस मकवानपुरमा साताब्यापी कार्यक्रम गरी मनाइने भएको छ ।नेपाल आदिवासी जनजाति महसंघ मकवानपुरको आयोजना मा बिभिन्न कार्यक्रम गरी मनाउने महसंघले आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।हरेक अगष्ट ९ का दिन बिश्व भरिका आदिबासी जनजातिहरुले बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।यस बर्ष “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान,अपुरो र अधुरो संबिधान संशोधनका लागि हाम्रो साझा अभियान ”भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाइदै ।
कार्यक्रम अन्र्तगत यही साउन २१ गते स्थानीय तहको पुनसंरचना सवाल बिषयक अन्तक्रिया,सोही दिन बिहान फलफुल तथा खाध्ययन बितरण,२२ गते किराँतेश्वर धार्मिक बनमा बृक्षारोपण ,२३ गते फलफुल बितरण,२४ गते रक्तदान ,यस्तै २५ गते अर्थात अगष्ट ९ मा बिभिन्न जातजातिका बिबिध सास्कृतिक प्रस्तुतस् सहित बृहत कार्यक्रम र २७ गते बिश्व आदिवासी दिवसको सन्दर्भ र फोनिजको स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरि बिश्व आदिवासी दिवस मनाउने महासंघका अध्यक्ष तीर्थ बहादुर थापा मगरले बताउनु भएको छ ।
मकवानपुर प्रहरीले चितुवाको छाला र हडीसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रिय अनुसन्धान ब्युरो, काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले बिशेष सूचनाको आधारमा मकवानपुर हेटौडा उपमहानगरपालिका– २५ दोभानचौरबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाविस–२ बस्ने वर्ष ४२ का सोनाम थिङ र सोही स्थानका वर्ष ४८ का नेमा दोर्जे लुङ्वा रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ७ फिट लम्बाई भएको चितुवाको छाला १ थान र हड्डि ४ के.जि.४०० ग्राम बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागी आज जिल्ला वन कार्यालय मकवानपुरमा बुझाईएको छ ।
जुवातास खेल्ने ५ जना पक्राउ
मकवानपुर प्रहरीले जुवातास खेल्ने ५ जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका–२ स्थितमा खाल थापी पैसाको हारजित हुने गरी बाजी राखी ५ जना जुवा तास खेली रहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो । नगद ९ हजार ७२० रुपैयाँ र तास ३ बुकसहित उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर भीमफेदी इलाका प्रहरी कार्यालयको आयोजनामा “प्रहरी मेरो साथी” नारा सहित ऐतीहासिक मठ मन्दिर लगायत सार्बजनीक स्थल सरसफाइ गरिएको छ।
नेपाली सेनाका कैप्टन नारायण क्षेत्री तथा क्षेत्रिय कारागार जेलर चिरञ्जीबी थापाको उपस्थित तथा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बासुदेब थापाको कमाण्डमा कार्यक्रम भएको हो ।कार्यक्रममा स्थानिय सहभागी तथा नेपाली कांग्रेसका जब्बरसिं बाइबा,नेकपा एमालेका मङ्गला श्रेष्ट,माओबादी केन्द्रका रंजीत राना,राप्रपा नेपालका प्रमोद लाल श्रेष्ठको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्राथमिक स्वासथ्य केन्द्रका सुनिल कुमार झा, महेन्द्र उच्च माविका रेशम लामा, भीम आधार सामुदायीक स्कुलका माधब दास श्रेष्ठ र वडा नागरीक मञ्चका संयोजकहरुको पनि उपस्थिती रहेको थियो ।
-सुरेन्द्र राज थीके/भीमफेदी
ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरले लागुऔषध डाईजेपाम सहित दुईजनालाई पक्राउ गरेको छ । १४ साउनमा हेटौडा उपमहानगरपालिका १७ रातोमाटेमा रहेको प्रहरी चेकपोष्टमा बीरगंजबाट काठमाण्डौ तर्फ जांदै गरेको ना १ ज २८९२ नंम्बरको टाटासुमो चेकरजाँच गर्ने क्रममा यात्रा गरी आएका मकवानपुर पालुङ ६ का ३२ वर्षिय सुरज सिंह ठकुरी र काठमाण्डौ नारानथानकी २१ वर्षिया सुनिता शर्मा पक्राउ परेका हुन् । उनीहरुलाई ग्याँसको सिलिन्डर भित्र लागुऔषध डाईजेपाम ३०० एम्पुल र फेनार्गन ६०१ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई लागुऔषध सहित आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाएको छ ।
यसैबीच मकवानपुर प्रहरीले बीरगंजबाट हेटौडा तर्फ आउंदै गरेको ना १ ज ५२७० नंम्बरको यात्रुबाहक माईक्रोबस चेकरजाँच गर्ने क्रममा चितवन खैरहनी नगरपालिका वडा नं. १ बस्ने २९ वर्षिय उद्धब धमला र चैनपुर २ बस्ने २४ वर्षिय रोहन गन्धारीलाई लागुऔषध खैरो हेरोईन १० ग्राम सहित पक्राउ गरेको छ ।
काठमाडौ १४ साउन । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् ।
अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् ।
विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित भएर अमनले ती वैज्ञानिक उपकरण बनाएका हुन् । उनले फालिएका सामग्री सिरिन्ज, पाइप, काठ, पेट, कागज प्रयोग गरेर विज्ञान सामग्री बनाएका हुन् ।
अमनले विभिन्न ठाउँमा ती उपकरण बनाएर प्रदर्शनी समेत गरिसकेका छन् । प्रदर्शनकै क्रममा काठमाडाँै आएका अमनले शिक्षा विभाग, नाष्टमा ती उपकरणको प्रदर्शन गरेका छन् । त्यसअघि तनहुँको दमौलीमा आयोजना गरेको विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएको थियो ।
अमनले पानीबाट चल्ने एक्जाभेजर र पङ्खा तथा ब्याट्रिबाट चल्ने रोबोट, पानी जहाज, ट्रेन, चख्रेपिङ, भूकम्प सङ्केत मेसिन, भ्याकुर क्लिनियर, पहाडमा हिँड्ने कार जस्ता आधादर्जन उपकरण बनाएका छन् ।
अमनले आफ्नै प्रयासबाट विज्ञानका नियम र इन्टरनेटको सहयोगबाट ती उपकरण बनाएका हुन् । ‘‘कक्षामा पढेका विज्ञानका सिद्धान्तलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सुरुमा अभ्यास गरेको थिएँ’’ उनले भने–‘‘अभ्यास गर्दागदै सामग्री बनाउन सकियो ।’’
सुरुमा घर अगाडि एक्जाभेटरले खनेको देखेर उनलाई एक्जाभेटर बनाउने योजना फु¥यो । घरमै फालिएको काठ, ट््युव, सिरिञ्ज, प्लाष्टिक र पाइपले पहिलोपटक अमनले एक्जाभेटर बनाए ।
‘‘डिजेल जस्तो तरल पदार्थबाट एक्जाभेटर चलेको देखेर मलाई तरल पदार्थ पानी पनि हो पानीबाट पनि चल्न सक्छ जस्तो लागेर एक्जाभेटर बनाउन थालेँ’’ उनले भने–‘‘करिब एक हप्ताको अभ्यासपछि पानीबाट एक्जाभेटर बनाउन सफल भएँ ।’’
अमनले बनाएको एक्जाभेटरमा चार किसिमका पानी भरिएका सिरिञ्जबाट चलाउन सकिन्छ । ‘रिमोट कन्ट्रोल’बाट नै अमनले बनाएको एक्जाभेटर चलाउन सकिन्छ ।
रासस
काठमाडौँ, १४ साउन
जवरजवस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । काठमाडौँ महानगरपालिका–३ लाजिम्पाट स्थित एवान खाजा घरमा काम गर्ने दोलखा भिमेश्वर नगरपालिका–८ घर भएका २१ बर्षीय प्रविण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले बुधबार एवान खाजा घरको दोस्रो तलामा डेरा गरी बस्ने तनहुँ जामुने–१ घर भएकी १७ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताईएको छ । र सो सम्बन्धमा प्रहरीले अनुसन्धान कार्य भैरहेको जनाएको छ ।
काठमाडौं । ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय नभएको बताएका छन् ।
व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा सभापति गगनकुमार थापाले उठाएका प्रश्नको जवाफ दिँदै शर्माले प्रधानमन्त्री कार्यालयबाट गत असार २२ गते पत्राचार भएकोमा ऊर्जाले असार ३० गते प्रस्तावक चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)को आर्थिक एवं प्राविधिक हैसियत बुझ्न ऊर्जाले अर्थ मन्त्रालयमार्फत नेपालस्थित चिनियाँ दूतावासमा पत्राचार गरेको जानकारी दिए ।
पत्राचारपछि आयोजना गेजुवालाई दिने भन्ने विषयमा कुनै प्रक्रिया अघि नबढेको सचिव शर्माले स्पष्ट पारे । चाइना गेजुवाले आयोजना निर्माण र लगानी (ईपीसीएफ) प्रारूपमा बनाउने प्रस्ताव गरेको उनले जानकारी दिए ।
“विद्युत् ऐनको दफा ३५ मा सरकारले बिनाप्रतिस्पर्धा सिधै आयोजना करार गर्ने व्यवस्था भएकाले लगानीकर्ताले आयोजनामा लगानी गर्छु भन्दा प्रक्रिया अघि बढाउनुपर्छ,” उनले भने, “बूढीगण्डकी चाइना गेजुवालाई दिने विषय अघि बढेको छैन, प्रारम्भिक चरणमै छ ।” फ्रान्सको ट्रयाक्टवेल इन्जिनियरिङले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई पुनरावलोकन गर्नुपर्ने शर्माले बताए ।
प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले चिनियाँ कम्पनीले बूढीगण्डकी बनाउन प्रस्ताव गरेको जानकारी दिँदै कुरामात्र भएको तर काम अघि नबढेको स्पष्ट पारे । आयोजना कुन प्रारूपमा बनाउने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताए ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले सरकारले ल्याएको ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक कार्ययोजना अवधारणापत्रमा पनि ठूला आयोजना वैदेशिक लगानीमा ईपीएफ प्रारूपमा अघि बढाउने उल्लेख भएअनुसार चाइना गेजुवाले बूढीगण्डकी निर्माणका लागि प्रस्ताव गरेको हुन सक्ने बताए । हालसम्म सम्बन्धित निकायबाट कम्पनीको बारेमा कुनै जानकारी नपाएको उनले बताए ।
समितिका सभापति थापाले आयोजना स्वदेशी वा विदेशी लगानीमा बनाउने भन्ने प्रारूप तयार गर्र्न ऊर्जा मन्त्रालयलाई सुझाव दिए । कानुनी प्रक्रियाअनुसार आयोजना अघि बढाउन समितिले ऊर्जालाई निर्देशन दिएका छ ।
प्रधानमन्त्री के पी ओलीको चीन भ्रमणकै बेला बूढीगण्डकी चिनियाँ लगानीमा बनाउने विषयमा सैद्धान्तिक सहमति भएको थियो । नेपालको ऊर्जा संकट दीर्घकालीन रूपमा सामधान गर्न चिनियाँ लगानीमा एउटा आयोजना बनाउने विषयमा सहमति भएपछि सरकारी स्वामित्वको सीजीजीसीले एक महिनाअघि नै ऊर्जामा आशयपत्र पेस गरेको थियो । आयोजना विस्तृत डिजाइन, निर्माण र लगानीसमेत हुने गरी ईपीसीएफ प्रारूपमा बनाउन उसले ऊर्जामा आशयपत्र पेस गरेको छ ।
डीपीआरअनुसार आयोजनाको मूल बाँधको उचाइ २ सय ६३ मिटर हुनेछ । बाँधको आकार डबल आर्क ग्राभिटी रहने परामर्शदाताले तयार गरेको विस्तृत इन्जिनियरिङले देखाएको छ । जलाशय क्षेत्रमा ६३ वर्गकिलोमिटर लामो ताल बन्नेछ । आयोजना सम्पन्न गर्न २ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २१ करोड २५ लाख रुपैयाँ पर्ने देखिएको छ । त्यस्तै, बिजुली उत्पादन लागत प्रतियुनिट ७ रुपैयाँ ३५ पैसा छ ।
घर/आवास निर्माणका लागि केन्द्रीय आयोजनालाई २० अर्बको अख्तियारी
गत वर्षको विनाशकारी भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेकामध्ये चार लाख ७४ हजार चार सय ४४ घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि साढे २३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने सूचीमा परेका उक्त संख्याका घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक भएको जनाएको छ ।
यस्तै सरकारले भूकम्पपीडितहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई करिब २० अर्ब रुपैयाँ अख्तियारी प्रदान गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित भई अनुदान पाउने सूचीमा परेका भूकम्पपीडितहरुलाई घर तथा आवास निर्माणका लागि पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि उक्त इकाइलाई सो रकम बराबरको बजेटको अख्तियारी उपलब्ध गराएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उक्त इकाइलाई भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने गरी अख्तियारी प्रदान गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । प्राधिकरणले मंगलबार उक्त अख्तियारी इकाइलाई प्रदान गरेको हो ।
उनले अनुदान रकम व्यवस्थापन गर्नका लागि नेपाल सरकार, दातृनिकाय र अघिल्लो वर्षको बचत रकम तथा गैरसरकारी संस्थाबाट उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए । यस्तै प्राधिकरणले १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिने भन्दै बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थाहरुमार्फत उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिएको छ । यस्तै प्राधिकरणले उपत्यकाबाहिरका भूकम्पबाट अतिप्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकामा गरी पाँच लाख ३३ हजार एक सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको जनाएको छ । यस्तै हालसम्म ३७ हजार ७२ घरधनीका लागि पहिलो किस्ताको अनुदान रकम एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।
चालू आर्थिक वर्षमा पुनर्निर्माणका कार्यहरु अघि बढाउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिब ८४ अर्ब रुपैयाँको बजेट अख्तियारी प्रदान गरिसकेको छ । कुल अनुदान पाउन अनुदान सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरकारी संस्थाहरुसँग सम्झौता भइसकेको छ । उनीहरुले प्राधिकरणबाट तोकिएका बैंकहरुमार्फत नेपाल सरकारले उपलब्ध गराएसरह पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ताबापत ८० हजार र तेस्रो किस्ताबापत ७० हजार रुपैयाँ उपलब्ध गराउन व्यवस्था सरकारले बनाइसकेको छ । यस्तै प्राधिकरणले काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सर्वेक्षण सुरु भएको छ भने भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण गर्ने तयारी भइरहेको छ । सर्वेक्षणपछि तथ्यांक विश्लेषण गरी अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गरेपछि अनुदान रकम उपलब्ध गराइनेछ ।
मदन मिजार काठमाडौं, साउन १३
दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।
क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि डिडिसीलाई पत्राचार गरिएको जानकारी दिए। यस्तो कमी फेला परेपछि क्षेत्रीय कार्यालयले आजै अनुगमन गरिने प्रमुख यादवले बताए।
काठमाडौं, साउन ११
घरजग्गा खरिदबिक्रीमा कसरी करछली हुन्छ भन्ने भित्री रहस्य काठमाडौंको न्युरोडको एक होटल बिक्रीले खुलासा गरिदिएको छ । न्युरोडको शुक्रपथचोकमा रहेको हाल बन्द भएको होटल क्रिष्टल प्रालिले २५ प्रतिशत संस्थागत आयकर छली गर्ने उद्देश्यले १४ दिनको अवधिमा उक्त होटल दुई पटक बिक्री गरेको खुलासा भएको छ ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार कम्पनीको नामबाट २०७२ माघ २५ गते उक्त होटल प्रभा स्थापितको नाममा १० करोड २३ लाख ७२ हजार रुपैयाँमा बिक्री गरेर मालपोत कार्यालयबाट पास गरिएको थियो । त्यसको १४औँ दिनको दिन अर्थात् फागुन ९ गते उक्त होटल प्रभाको नामबाट महर्जन बिजनेस एसोसिएट प्रालिलाई ९० करोड बढी अर्थात् एक अर्ब रुपैयाँमा बिक्री गरिएको मालपोतको रेकर्डबाट देखिन आएको छ । महर्जन बिजनेस एसोसिएट प्रालिका मालिक कृष्णलाल महर्जन हुन् ।
‘मालपोतकै रेकर्डमा १४ दिनमा उक्त होटल ९० करोड फाइदा लिएर एक अर्ब रुपैयाँमा बिक्री भएको देखिन्छ’, विभाग स्रोतले भन्यो, ‘पैसा त त्योभन्दा बढी लिएको पनि हुनसक्छ ।’ होटल सिधै महर्जन बिजनेसको नाममा बिक्री गर्दा संस्थागत आयकर २५ प्रतिशत तिर्नुपर्ने भएकाले पहिला प्रभा स्थापितको नाममा नामसारी गरेर पछि महर्जन बिजनेसलाई बिक्री गरिएको हो ।
करछली गर्ने उद्देश्यले बिक्री गरिएको उक्त होटलको वास्तविक मालिक पनि प्रभा नै हुन् । १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलमा रहेको उक्त क्रिष्टल होटल प्रभा स्थापित, उनका श्रीमान् विजयरत्न स्थापित र छोरा अक्षयरत्न स्थापितको संयुक्त लगानी रहेको प्यान नम्बर ३०११२००४३ भएको क्रिष्टल होटल प्रालिको नाममा २०५९ सालदेखि सञ्चालनमा थियो ।
उक्त होटल बिक्री गर्दा करोडौं रुपैयाँ राजस्व छली भएको उजुरी परेपछि विभागले अनुसन्धान थालेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा १४ दिनको अवधिमा उक्त होटल दुई पटक बिक्री भएको र बिक्री रकम पनि धेरै देखिएपछि विभागले सबै कागजात झिकाएर अनुसन्धान गर्दा एकै परिवारको नाममा होटल सञ्चालन गर्ने फर्म रहेको र सोही फर्मका एक जनाको नाममा पहिला होटल बिक्री गरेको देखाएर पछि मात्र वास्तविक रुपमा बिक्री गरेको देखिएको हो । अनुसन्धानको क्रममा उक्त होटल बिक्रीबापत २२ करोड ४४ लाख पाँच हजार राजस्व छली भएको दाबी विभागले गरेको छ ।
सबै अनुसन्धान गर्दा कर छली गर्ने उद्देश्यले १४ दिनको फरकमा क्रिष्टल होटल दुई पटक बिक्री गरेको पुष्टि गर्दै विभागले आयकर ऐनको दफा १२० ‘ख’ अनुसार लाग्ने कर २२ करोड ४४ लाख ५ हजारमा शतप्रतिशत जरिवानासहित ४४ करोड ८८ लाख १४ हजार राजस्व असुल गर्नुपर्ने भन्दै आन्तरिक राजस्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय न्यूरोडमा पठाएको छ । संस्थागत आयकर छली गरेको कारण विभागले करदाता सेवा कार्यालयमा अनुसन्धान गरेको फाइल कर समेत तोकेर पठाएको हो । विभागले गरेको कर निर्धारणलाई करदाता सेवा कार्यालयले पनि सदर गरेमा क्रिष्टलका मालिक स्थापितहरुले उक्त कर तिर्नैपर्छ । अहिले उक्त फाइल करदाता सेवा कार्यालयका प्रमुख उपसचिव मुक्ति आचार्यकहाँ छ । स्रोतका अनुसार कर नतिर्नका लागि स्थापितहरुले सेवा कार्यालयका प्रमुखलाई प्रभावमा पार्ने प्रयास गरेका छन् ।
राजस्व अनुसन्धान विभागले दाबी गरेको करलाई सेवा कार्यालय पनि सदर गरेमा क्रिष्टलका मालिकहरु आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष कर पुनरावलोकनका लागि जान सक्नेछन् । त्यहाँबाट पनि कर तिर्नैैपर्ने ठहर भएमा क्रिष्टलका मालिकहरु राजस्व न्यायाधिकरणमा मुद्दामा जाने छन् । न्यायाधिकरणले गरेको फैसला अन्तिम हुनेछ । स्रोतका अनुसार राजस्व अनुसन्धानका विभागका महानिर्देशकले गरेको निर्णय करदाता सेवा कार्यालयका प्रमुखले उल्ट्याउन सक्ने सम्भावना कम हुन्छ भने एउटा महानिर्देशकले गरेको निर्णय अर्को महानिर्देशकबाट उल्ट्याउने सम्भावना पनि पनि धेरै कम हुन्छ । ‘पैसाको चलेखलबाट कर्मचारीहरु बँचे भने राजस्व अनुसन्धान विभागबाट भएको निर्णय आन्तरिक राजस्व विभागबाट समेत सदर हुन्छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने । होटल बिक्रीबाट करोडौं कर छलीको प्रयास गर्ने प्रभा काठमाडौंको प्रतिष्ठित व्यापारी मणिहर्ष ज्योतिको छोरी हुन् । रुप ज्योतिकी बहिनीको कर छली गर्ने उक्त योजना सार्वजनिक हुँदा समग्र ज्योति ग्रुपकै प्रतिष्ठामा समेत आँच आएको छ ।
२२ करोड ४४ लाख पाच हजार कर छल्न खोज्दा ४५ करोड तिर्नुपर्ने !
२०७२ माघ २५ गते क्रिष्टल होटल प्रभा स्थापितको नाममा १० करोड २३ लाख ७२ हजार रुपैया“मा बिक्री गरेर मालपोत कार्यालयबाट पास गरिएको थियो । त्यसको १४औं दिनको दिन अर्थात् फागुन ९ गते उक्त होटल प्रभाको नामबाट महर्जन बिजनेस एसोसिएट प्रालिलाई ९० करोड बढी अर्थात् एक अर्ब रुपैया“मा बिक्री गरिएको मालपोतको रेकर्डबाट देखिन आएको छ । होटल सिधै महर्जन बिजनेसको नाममा बिक्री गर्दा संस्थागत आयकर २५ प्रतिशत तिर्नुपर्ने भएकाले पहिले प्रभा स्थापितको नाममा नामसारी गरेर पछि महर्जन बिजनेसलाई बिक्री गरिएको हो । प्रालि भनिए पनि उक्त होटल एकै परिवारका श्रीमती प्रभा स्थापित, उनका श्रीमान् विजयरत्न स्थापित र छोरा अक्षयरत्न स्थापितको नाममा रहेको फर्ममार्फत सञ्चालन गरिएको थियो ।
कुन्द दीक्षितलाई पनि राजस्वको पत्र
काठमाडौं । विदेशी बैंकमा पैसा जम्मा गरेको र सेयर लगानी गरेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले दीक्षित परिवारका अर्का सदस्य कुन्द दीक्षित र उनकी श्रमीत मिलन दीक्षितलाई पनि बयानका लागि बोलाएको छ । विभागले गत शुक्रबार पत्र काटेर १५ दिनभित्र बयानका लागि उपस्थित हुन भनेको छ ।
विदेशी बैंकमा सेयर लगानी गर्दा नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्नेमा अनुमति नलिई सेयर लगानी गरेको र अवैध तरिकाले रकम जम्मा गरेको आरोप उजुरीमा लगाइएको स्रोतको दाबी छ । ‘कुन्द र मिलन दीक्षितलाई बयानका लागि पत्र काटिएको हो’, विभाग स्रोतले भन्यो, ‘उनीहरुले पत्र बुझ्न आलटाल गरेछन् । ढोकामा टाँसेर जान्छौं भनेपछि बुझेका छन् । तर, बयानका लागि आइसकेका छैनन् ।’ विभागले कनकमणि दीक्षित र उनकी श्रीमती शान्ता दीक्षितलाई विभागमा हाजिर हुन आउन सार्वजनिक सूचना नै जारी गरिसकेको छ । पत्रकारिताको आवरणमा दीक्षित परिवारले अर्बौ राजस्व छली गरेको राजस्व अनुसन्धान विभागको
अनुमान छ ।

कांग्रेस नेता अमरेशकुमार सिंहले संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक बिमारीको संज्ञा दिएको कारण हेटौंडामा विरोध ¥याली निकालिएको छ ।
सांसद सिंहले गरिमामय व्यवस्थापिका संसदमा मर्यादा बिर्सिएर प्रधानमन्त्रीलाई गलत अभिव्यक्ति दिएको भन्दै संसदीय प्रक्रिया अनुसार कारबाही माग गरेको हो । ‘भारतको इसारामा एमाले नेतृत्वको सरकार ढाल्न चलखेल गरेका सिंहले राजिनामा नदिएको कारण अभिव्यक्ति दिनु संसदीय मर्यादा कुल्चनु हो,’ क्षेत्रीय अध्यक्ष चन्द्र शाहीले भने– सिंहलाई देश निकाला गर्नु पर्दछ ।
एमाले जिल्ला सचिवालय सदस्य नवीन सिग्देलको प्रमुख आतिथ्तामा भएको विरोध ¥यालीमा युवा संघ नगर अध्यक्ष तिर्थ क्षेत्री, सचिव नरेन्द्र भण्डारी, संघ जिल्ला सदस्य सानु लामा, सुनिल लोप्चन, युवा संघ २ नं. क्षेत्रीय अध्यक्ष सागर पाण्डे, अनेरास्ववियु ३ नं. क्षेत्रीय अध्यक्ष आकाश अधिकारी, जिल्ला सदस्य प्रमोद फु“याललगायतको उपस्थिति थियो । अमरेश सिंहलाई कानुनी कार्बाही नभए युवा संघले भौतिक कार्बाही गर्ने चेतावनी दिएको छ । विदेशी शक्तिको चलखेलमा नाच्नेलाई युवा संघले बा“की नछोड्ने युवा संघको चेतावनी छ ।
-नवीन तिमल्सिना/हेटौंडा
हेटौंडामा रहेका पाँच वटा सरकारी कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, वन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गरिएको छ ।
आर्थिक वर्ष २०७२/०७३ मा खर्च गरिएको इन्धन र त्यसबापतको भुक्तानी विवरण तथा सवारीसाधन प्रयोगसम्बन्धी लगबुकको प्रमाणित प्रतिलिपि र अतिथि सत्कार शिर्षकमा खर्च गरिएको रकमको विलभर्पाइको प्रमाणित प्रतिलिपि माग गरिएको सूचनाको हकका लागि नागरिक अभियान मकवानपुरका संयोजक कुमार अधिकारीले बताए ।
जिल्लाका कानून व्यवसायी, व्यवसायी, नागरिक र पत्रकारहरुको १६ जनाको समूहले सूचनाको हक अनुसार सूचनाहरु माग गरेका हुन् । सूचना माग गर्नेहरुमा पत्रकार गिरिजा अधिकारी, कृष्ण सारु, हरि हुमागाई, राज सापकोटा, मनोज ढोडरी, प्रदिप गौतम, रुपेश दुलाल, प्रमोद अधिकारी, सुवास तिवारी, धु्रब अधिकारी, अधिवक्ता ऋषि केबी, व्यवसायी कृष्णराज कोइरालालगायतका छन् ।