प्राविधिक शिक्षामै अवसर (सम्पादकीय)
सरकारले दुई वर्षअघिबाट विद्यालय तहमा प्राविधिक र व्यावसायिक धार सञ्चालनमा ल्याएको छ । दुई वर्षअघि देशभरिका ९९ विद्यालयबाट मात्र शुरु गरिएको यो धारको पढाइ अहिले थप गरिएको छ । यसैवर्षबाट थाहानगरको जनकल्याण उच्च माविमा कृषि, आग्राको सुन्दरीदेवी माविमा सव–इन्जिनियर अध्यापन शुरु गरिएको छ । जीवनोपयोगी व्यावसायिक सीपको विकासका लागि शुरु गरिएको यो धारमा कम्प्युटर विज्ञान, इलेक्ट्रिकल इन्जिनियर, सिभिल इन्जिनियरिङ, बाली तथा पशु विज्ञानलगायतका विषयमा पढाइ शुरु गरिएको छ । प्राविधिक धारको शिक्षालाई विद्यालय तहदेखि विस्तार गर्न नमूनाको रुपमा सबै निर्वाचन क्षेत्रमा लागु गरिएको छ । एउटा निर्वाचन क्षेत्रमा न्यूनतम एउटा विद्यालयमा यस्तो धारको शुरुवात गरिएको शिक्षा विभागले जनाएको छ । कक्षा ९ देखि नै प्राविधिक तथा ब्यावसायिक धारको शुरुवात गरेर सरकारले क्रमशः शिक्षालाई जीवनमुखी बनाउने लक्ष राखेको देखिन्छ । खासगरी विद्यालय शिक्षाको संरचना तथा गुणस्तर सुधारका लागि सरकारले अघि सारेको विद्यालय क्षेत्र सुधार कार्यक्रमको मर्मअनुसार यो धार परीक्षणको रुपमा सञ्चालनमा ल्याएको छ । कक्षा ८ सम्मलाई आधारभूत शिक्षा, कक्षा ९–१२ लाई प्राविधिक शिक्षा र त्यसमाथि उच्च शिक्षा सञ्चालन गर्ने रणनीतिक उद्देश्यसहित अहिले नमूनाको रुपमा प्राविधिक धार शुरु गरिएको छ ।
यसमा सरकारले अलग्गै अनुदानको व्यवस्था गर्ने भएकाले विद्यालयहरुले राम्रो व्यवस्थापन गर्न सकेको खण्डमा यसको प्रभावकारिता बढ्ने देखिन्छ । मानव जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका छ । तर नेपालमा अहिलेसम्म शिक्षा जीवन जिउने आधार बन्न सकिरहेको छैन । डिग्रीका प्रमाणपत्र बाकसमा थन्क्याएर शिक्षित युवाहरु अदक्ष कामदारको रुपमा तेस्रो मुलुक जानुपर्ने बाध्यता रहेको छ । दैनिक दुई हजारको संख्यामा विदेश गइरहेका युवाहरुमा अधिकांश शिक्षित भए पनि उनीहरु दक्ष छैनन् । नेपालभित्रै पर्याप्त रोजगारीको अवसर नहुनु त समस्या छँदैछ, त्यसमा हाम्रो शिक्षा प्रणाली पनि समस्याको रुपमा रहेको छ । अहिले नेपालको शिक्षा प्रणाली भनेको शिक्षित बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चिनिने गरेको छ । हामीलाई शिक्षा त चाहिन्छ नै, दक्षताबिनाको शिक्षाले मात्र जीवन जिउने आधार दिंदैन । त्यसैले दक्षतासहितको शिक्षा जरुरी छ, त्यो भनेको प्राविधिक शिक्षा नै हो ।
नेपालमा ८० प्रतिशत विद्यार्थी अव्यावहारिक शिक्षा पढ्न क्याम्पसमा जान्छन् । औपचारिक र प्राज्ञिक शिक्षाका लागि उच्च शिक्षा पनि आवश्यक छ, तर नेपालमा जुनरुपमा आम विद्यार्थीले उच्च शिक्षा पढ्ने तर श्रमबजारमा योग्यता बिक्री गर्न नसक्ने अवस्था छ, यो टाउकोले टेकेर हिाडिरहेको शिक्षा प्रणालीकै परिमाण हो । हरेक विषयमा विज्ञता हासिल गर्न उच्च शिक्षा चाहिन्छ । तर यो आम व्यक्तिहरुका लागि अनिवार्य हुँदैन । त्यस्तो शिक्षा अनिवार्य हुन्छ, जसले जीवन धान्ने सीप सिकाओस् ।
धेरै लगानी गरेर उनीहरुले उच्च शिक्षा पढ्छन् । तर त्यसबाट उनीहरुले दक्षता नभई प्रमाणपत्र मात्र हात पार्छन् र फेरि प्रमाणपत्र घरमा छाडेर अदक्ष कामदारको रुपमा विदेश जान्छन् । विदेश नै जाने भए पनि दक्षता हासिल गरेर जाादा आम्दानी, सुरक्षा, सम्मान सबै दृष्टिले राम्रो सम्भावना हुन्छ । एकातिर देशभित्र दक्ष जनशक्ति नहुादा नयाा काम गर्न अन्य मुलुकबाट कामदार भित्र्याउनुपर्ने बाध्यता छ भने अर्को्तिर प्राविधिक शिक्षाको अभावमा नेपाली शिक्षित युवाहरु अदक्ष कामदारको रुपमा विदेश गइरहेका छन् । मकवानपुरमै खुलेका सिमेन्ट उद्योगलाई मात्र हेर्ने हो भने पनि त्यहाँ काम गर्ने दक्ष कामदार बाहिरबाटै आएका छन् । यो सानो उदाहरण मात्र हो । खासमा अब नेपालमा दक्षतासहितको शिक्षा चाहिएको छ । त्यसैले नेपालमा विद्यालय तहमै शुरु गरिएको प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै यसको विस्तारमा जोड दिनु आवश्यक छ ।