अर्गानिक खेतीको विकल्प छैन–हमाल
मुलुकमा अब अर्गानिक खेतीको विकल्प नभएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीनाथ हमालले बताएकाछन् । खेतबारीमा रोपेका कृषिजन्य उपजमा छिट्ने विषलाई औषधी भनिनू नै गलत प्रवृत्ति भएको बताउँदै अधिकृत हमालले रासायनिक विषादीको सट्टामा अब अर्गानिक नै अपनाउनु पर्ने बताए । उनले भने–‘मानिसको ज्यानले सबै कुरा सहन्छ, पचाउँछ विषादी पचाउँदैन ।’ नाडेफको आर्थिक सहयोगमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको आयोजनामा भएको वातावरणमैत्री कृषिका लागि जैविक मल एवं विषदी प्रवद्र्धन परियोजना बोझोमा आधारित विषदी उत्पादन तालीममा सहजीकरण गर्दै उनले यस्तो बताएका हुन् । जिल्ला कृषि विकास कार्यालय मकवानपुरको सह आयोजनामा भएको तालीममा स्थानीय मकवानपुर थाहानगरका अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
तालीममा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका बाली संरक्षण अधिकृत जनकदत्त घिमिरेले जैविक विषदी बनाउन सजिलो उपाय सुझाउँदै घरगाउँमा पाइने बनस्पत्तिबाट बनाइ प्रयोग गर्न समिने उल्लेख गरे । बारीतिरै पाइने तितेपाती, निम, बकाइनो, सिस्नोलगायतको वनस्पत्तीबाट जैविक मल उत्पादन गरी अर्गानिक विषदी बनाउन सकिने भएकोले आफू स्वस्थ हुने उपाय आफैसंग भएको किसानहरु माझ बताए । उनले आफूले सिकेका सीपहरु छिमेकका किसानहरुलाई पनि साटासाट गर्न आग्रह गरे ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका रामहरि तिमल्सेनाले संचालन गरेको कार्यक्रममा कृषि प्राविधिक रविन्द्र पौडेल, मधुसुदन आचार्यलगायत स्थानीय पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।