नेपालीले भत्काए भारतीय बाँध



काठमाडाैं । राजनीतिक नेताले भारतको पाउ मोलेर आफूलाई नेपालमा प्रभावशाली बनाउन कोसिस गर्ने हुनाले नेपाली गाउँ डुबाउन सीमापारीका भारतीयले सजिलै आँट गरे । तिनले दसगजा नजिकै बाँध बाँधेर सप्तरी जिल्ल्लाका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा पार्ने काम गरेपछि स्थानीय नेपाली जनता आक्रोशित भएर सो बाँध भत्काउन गएका थिए । सबै अन्तर्राष्ट्रिय नियम र मानवीय संवेदनासमेतको बेवास्ता गर्दै नेपाली गाउँ डुबाउने नियतका साथ भारतीय गाउँलेले बनाएको त्यस्तो बाँधले पार्नसक्ने असरको आकलन गर्दै नेपाली गाउँले सो बाँध भत्काउन गएको र त्यस क्रममा घन्टौ झडप भएको समाचार नेपाली दैनिकले प्रमुखताका साथ दिएका छन् । 
लोकमानसिंह कार्की प्रकरणमा अख्तियारको पक्ष र विपक्षमा छुट्टिएको नेपाली मिडिया यस प्रकरणमा पुनः अर्को तरिकाले ध्रुवीकृत भएको देख्न पाइनेछ । अख्तियारको प्रभाव क्षेत्रमा परेका मिडियाले एकथरी रंग देखाएका थिए भने नेपाल–भारत सम्बन्धका विषयमा नेपालको पक्षमा उभिनसक्ने र नसक्ने दैनिकको अर्को समूह देखिन्छ । पाठकले यस विषयमा ध्यान दिएको अवस्थामा कुन कुन दैनिक भारतको विषयमा अडान लिन सक्छन् वा सक्दैनन् भनेर बुझ्न सक्नेछन् ।
भारतीयले बनाएको बाँधको विरोध गर्न जाँदा सप्तरी जिल्लाको तिलाठी गाविसका धेरै व्यक्ति पिटिएको समाचार अन्नपूर्ण पोस्टले प्रमुखताका साथ प्रकाशित गरेको छ । चार कोलममा तस्बिरसहित अन्नपूर्ण पोस्टले प्रकाशित गरेको समाचारले यो विषयमा पोस्टको संवेदनशीलता देखिएको छ ।
नागरिक दैनिकले पनि ‘दसगजामा घन्टौं झडप’ शीर्षकमा मुख्य समाचार चार कोलममा नै प्रकाशित गरेको छ । नागरिक दैनिकले बाँध निर्माण रोक्न गएका आधा दर्जन नेपाली घाइते भएको विवरण प्रकाशित गरेको छ । हिमालय टाइम्सले पनि यस समाचारलाई प्रथम पृष्ठको एन्कर बनाएको छ । टाइम्सले समाचारको बीचमा एक घाइते नेपालीको तस्विर पनि प्रकाशित गरेको छ । राजधानीले यही समाचारलाई तेस्रो पृष्ठमा ठूलो स्थान दिएर प्रकाशित गरेको छ । भारतीयले एकतर्फीरूपमा बनाएको बाँध नेपालीले भत्काए भन्ने शीर्षकसहित राजधानीले समाचार बनाएको छ । नयाँ पत्रिकाले यो समाचारलाई पन्ध्रौ पृष्ठमा लगेर राखेको छ भने कान्तिपुरले नवौं पृष्ठमा । 
होटलको सेयर किनबेचमा पनि कार्कीको हस्तक्षेप
कान्तिपुरले मुख्य समाचारका रूपमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गोकर्ण रिसोर्टको साझेदार परिवर्तन गर्न पनि हस्तक्षेप गरेको समाचार प्रकाशित गरेको छ । बलराम बानियाँले लेखेको उक्त समाचारमा पूर्व राज परिवारको सम्पत्तिका रूपमा रहेको गोकर्ण रिसोर्ट सिंगापुरको एक कम्पनीले भाडामा चलाएकोमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निर्देशनमा यति होल्डिङलाई दिइएको उल्लेख छ । राजपरिवार हुँदा नै सिंगापुरको एलएम सुबिर ब्रदर्सलाई ३० वर्षको लागि लिजमा दिइएको उक्त कम्पनीको सेयर यति होल्डिङलाई बेच्न कार्कीले निर्देशन दिएको देखिएको छ । 
दुर्घटनामा पूर्व राज्यमन्त्रीको मृत्यु
धनकुटामा बिहीवार भएको बस दुर्घटनामा पूर्व राज्यमन्त्री हरि खेवासहित १३ जनाको मृत्यु भएको समाचारलाई धेरै दैनिकले महत्वका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले सो समाचारमा खेवाको तस्विर र दुर्घटनास्थलको चित्रपनि बनाएर प्रकाशित गरेको छ साथै दुर्घटनामा परेको बसको तस्विर पनि संलग्न गरेको छ । गोरखापत्रले चार कोलममा सोही समाचार र एउटा तस्बिर प्रकाशित गरेको छ । यो समाचारलाई हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट तथा राजधानीले पनि उत्तिकै महत्व दिएका छन् । नयाँ पत्रिकाले एक कोलम र नागरिकले समाचार रेखामा यो समाचार प्रकाशित गरेका छन् ।
सम्पादकीय
आजको राजधानीले ‘भँडार खनेर आँगन नपुर’ शीर्षकमा सरकारमा आउने दललाई स्थानीय तह पुनर्संरचना आयोगको पुनर्गठन गर्ने प्रक्रियामा गएर निर्वाचन नबिथोल्न आह्वान गरेको छ । नयाँ सरकार बनिनसक्दै निर्वाचनको विषयमा ध्यान दिएकोमा राजधानीले सकारात्मक सन्देश भनेको छ । साथै ओली सरकारले मंसीरमा गर्ने भनेको निर्वाचनलाई चार महिना सार्ने निर्णयलाई पनि एक तवरले सही मानेको राजधानीले आयोगले दिएको रिपोर्ट नमान्ने तथा आयोगनै पुनर्गठन गर्ने विषयलाई भँडार खनेर आँगन पुर्न खोजेको रूपमा हेरेको छ । 
हिमालय टाइम्सले मेडिकल शिक्षामा देखिएको द्वन्द्वको विषयमा समीक्षा गर्दै डा. गोविन्द केसीको पक्ष तथा विपक्षमा देखिएको विचारले नेपालको चिकित्सा क्षेत्रमा प्रभाव पार्ने बताएको छ । चिकित्सा क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिकालाई महत्वपूर्ण मान्दै टाइम्सले तिनलाई सो क्षेत्रमा रहेको विकृतिको अन्त्यको विरोध नगर्न पनि आह्वान गरेको छ । यस सन्दर्भमा सरकारको भूमिका महत्वपूर्ण हुने र कुनै मध्यमार्ग निकाल्नुपर्ने निष्कर्ष पनि टाइम्सको रहेको छ । नेपालको चिकित्सा शिक्षा अब अगाडि कसरी बढ्नुपर्छ भन्ने विषयमा स्पष्ट दृष्टिकोण चाहिएको बेला मध्यमार्गको कुरा उठाएर टाइम्सले टालटुले रणनीतिलाई गरेको समर्थनले निजी क्षेत्रको त चित्त बुझ्ला तर डा. केसीको माग तथा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुरूप भने हुँदैन । 
भूकम्पले असर परेका नेपालका सम्पदाको पुनर्निर्माणमा सरकारले कसरी काम गर्नसक्ला र यसका लागि कसरी अघि बढ्नु पर्छ भन्ने विषयमा नयाँ पत्रिकाले सम्पादकीय लेखेको छ । 
अन्नपूर्ण पोस्टले पूर्व राजपरिवारको सम्पत्ति भाडामा लगाएर पैसा उठाउने नेपाल ट्रष्टको निर्णयलाई दरिद्र मानसिकता भनेको छ । पूर्व राजपरिवारको सम्पत्तिको हकवालालाई केही नदिएर ट्रष्टले मौलिक हक हनन गरेको आरोप लगाउँदै पोस्टले अब पुनः भाडामा दिने निर्णय गरेर ट्रष्ट भाडा ‘नेगोसिएट’ गर्ने संस्था बन्न खोजेको आरोप लगाएको छ । पोस्टले राजा वीरेन्द्रको शान्तिप्रतिको चाहनाअनुरूप अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय खोल्नु ठीक हुने सल्लाह दिएको छ । 
कान्तिपुरले आउँदो सरकारले चुनावी मार्गचित्र प्रष्ट पार्नुपर्ने विषयमा सम्पादकीय लेखको छ भने गोरखापत्रले साना लगानीकर्ताको सुरक्षाको प्रत्याभूति हुनुपर्ने विषयमा आवाज उठाएको छ । नागरिकले पनि साना लगानीकर्ता सम्मेलनको औचित्यमा सम्पादकीय लेखेको छ । 

All news in One Place