छाला प्रत्यारोपण अझै महँगो, छाला दान गर्न चिकित्सकको सुझाव


काठमाडौं । बस दुर्घटनामा परेकी १८ वर्षीया एलिसा राईको शरीरको ३५ प्रतिशत भाग आगोले पोलेको थियो । आगोले पोलेको निको हुँदैन भन्ने चिन्ताले उनलाई सधैं सताइरहन्थ्यो । तर, छाला प्रत्यारोपण गरेपछि उनको चिन्ता हराएको छ । नयाँ जीवन पाएको महसुस भएको छ उनलाई । कीर्तिपुर अस्पतालमा उपचाररत राईलाई एक आफन्तले छाला दान गरेका छन् । 
झापा घर भएकी राई साथीहरूसँग काठमाडौं घुम्न आएकी थिइन् । घर फर्किने क्रममा लहानमा बस दुर्घटनामा परेर आगो लाग्यो र उनी पनि जलिन् । उनीसँगै सिटमा बसेकी एक वृद्धाको तत्कालै मृत्यु भयो । लहानकै अस्पतालमा पु¥याएपछि बल्ल राईको होस खुलेको थियो । 
एक साता लहानको अस्पतालमा राखेपछि उनलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा ल्याइएको थियो । उनको शरीरको पछाडिको बायाँपट्टिको कम्मरसम्मको भाग पोलेको छ । छाला प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि केही राहत मिलेको उनले बताइन् । 
कर्णसिंह बोहराको पीडा पनि उस्तै छ । ४२ वर्षीय बोहराको शरीरको ५५ प्रतिशत भाग आगोले पोलेको छ । उनको अवस्था एकदमै नाजुक रहेको उपचारमा खटिएका डाक्टरहरू बताउँछन् । भर्खर छाला प्रत्यरोपण गरिए पनि बोहराको अझै एउटा अपरेसन गनुपर्ने डा. शंकरमान राईले बताए । डडेलधुरा घर भएका बोहराको जर्किनबाट पेट्रोल बोकेर लैजाने क्रममा चुहिएर आगो लागेपछि पछाडिको भाग जलेको थियो । 
धनगढी अस्पतालमा उपचार गर्दा निको नभएपछि उनलाई पनि कीर्तिपुर अस्पताल ल्याइएको थियो । भाईले छाला दिएपछि बोहराले पनि नयाँ जीवन पाएका छन् । 
नेपालमा आगोले पोलेका बिरामीको संख्या बढ्दो छ । नेपालमा मात्र नभई विश्वमै अन्य बिरामीको तुलनामा आगोले पोलेका बिरामीको संख्या प्रत्येक वर्ष बढ्ने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । यस्ता बिरामी विश्वभर करिब २० प्रतिशत रहेको अनुमान छ । 
डब्लुएचओका अनुसार विश्वमा प्रत्येक वर्ष १ करोड १० लाख जनालाई आगोले पोल्ने गरेको छ । यीमध्ये ३ लाख २० हजार जना मृत्यु हुने गरेको छ । आगोको चपेटामा पर्नेमा ५० प्रतिशत दक्षिण पूर्वी एसियाका नागरिक छन् । नेपालमा भने वार्षिक करिब २१ सय जनाको आगोले पोलेर मृत्यु हुने गरेको छ । 
प्लास्टिक सर्जरी विशेषज्ञ तथा कीर्तिपुर अस्पतालका निर्देशक डा. शंकरमान राईका अनुसार आगोले पोलेका मध्ये २० प्रतिशतभन्दा बढीले छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । आगोको चपेटामा महिला बढी पर्ने गरेका छन् । करिब ७० प्रतिशत महिला घरको भान्छामा काम गर्ने क्रममा पोलिने गरेको डा. राईले बताए । 
छाला दान गर्ने प्रचलन सुरु भएपछि केही बिरामीले राहत पाएको राई बताउँछन् । तर, छाला दान गर्नेको संख्या एकदमै न्यून छ । डा. राईका अनुसार २ वर्षमा ४ जनाले मात्र छाला दान गरेका छन् भने ६ जनाले छाला प्रत्यारोपण गरेका छन् । गैरसरकारी संस्था फेक्ट नेपालको सहयोगमा आगोले पोलेका पुराना बिरामीको निःशुल्क छाला प्रत्यारोपण गरिरहेको अस्पतालले जनाएको छ । छाला प्रत्यारोपण गर्न करीव ६ लाख रुपैयाँसम्म लाग्छ । 
 
के हो छाला प्रत्यारोपण ?
प्रत्यारोपण गर्दा पोलेको भागको शल्यक्रिया गरी जलेको छाला निकालेर त्यो ठाउँमा नयाँ छाला राखिन्छ । बिरामीको आफ्नै छाला तिघ्रा र फिलाबाट निकालेर जीउको अर्को भागमा प्रत्यारोपण गर्न सकिन्छ । तर, छाला निकाल्न मिल्ने भाग पनि जलेको छ भने अरु व्यक्तिको छाला निकालेर राख्नुपर्ने हुन्छ । 
 
के हो छाला दान ?
प्लास्टिक सर्जरी विशेषज्ञ डा. विशाल कार्कीका अनुसार छाला दान गरेको छ भने मृत्यु भइसकेपछि उसको शरीरबाट छाला निकाल्न सकिन्छ । जीवितै अवस्थामा पनि छाला दान गर्न सकिने चिकिसकहरू बताउँछन् । यसका लागि छाला बैंक स्थापना गरिएको छ । डा. किरण नकर्मीका अनुसार २ सय जनाले मृत्युपछि छाला दान दिने घोषणा गरेका छन् । एकजनाको छाला ६ जनासम्मलाई प्रत्यारोपण गर्न सकिन्छ । मृत्यु भएको ६ घण्टाभित्रमा शरीरबाट छाला निकाल्नुपर्ने हुन्छ । मृत शरीरबाट निकालेको छाला ५ वर्षसम्म प्रत्यारोपण गर्न सकिन्छ । १६ वर्षमुनिका र एचआईभी÷एड्स, हेपाटाइटीस बी÷सी लागेका, छालाको क्यान्सर लागेका र छालामा इन्फेक्सन भएकाले भने छाला दान गर्न मिल्दैन । अन्य संक्रमण भएर मृत्यु भएकाले पनि दाला दान गर्न सक्दैनन् ।

All news in One Place