सहिद वासुदेबको घरमै पुग्यो अनेरास्ववियु
आमभञ्याङ/ नवौ गणतन्त्र दिवसको अवसरमा मकवानपुरमा विभिन्न कार्यक्रमहरु भैरहेको बेला एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन मकवापुर जिल्ला कमिटी भने लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ सहिद भएका मकवानपुर आमभञ्याङका सहिद वासुदेब घिमिरेको घरमा सहयोग सहित सहिद मातापिता लाई सम्मान गर्न आमभञ्याङ् पुगेको छ ।
गणतन्त्र दिवसको अवसरमा हेटौँडामा विभिन्न कार्यक्रमहरु भैरहेको अवस्थामा अनेरास्ववियुले भने सहिद घिमिरेका मातापिता चित्रकुमारी घिमिरे तथा कृष्णप्रसाद घिमिरेलाई भेटी ५ हजार नगद सहित सम्मानपत्रद्वारा सम्मान गरेको हाे ।
एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले सहिदको सपना पुरा गर्ने जिम्मेवारी अब आफुहरुको काँधमा आएको बताए । सहिदको सपना साकार हुने दिन नजिकिदै गएको बताउँदै श्रेष्ठ नेपालले आन्दोलनबाट पाएको उपलब्धीको संस्थागत विकास हुने प्रक्रिया सुरु भैसकेको बताए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरकी उपसचिव मिना लामा, सदस्यहरु नविन सिग्देल, पार्वती राना, सुमित्रा काफ्ले एमाले आमभञ्याङ गाउकमिटीका पदाधिकारीहरु तथा अनेरास्ववियु मकवानपुरका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
सम्मानपत्र ग्रहण पश्चात प्रतिक्रिया दिँदै सहिद पिता घिमिरेले आफ्नो परिवारको एकजना मात्र सदस्यलाई भएपनि रोजगारी मिले आफ्नो औषधि खर्च टर्ने बताए । आफुहरुलाई कमाएर खुवाउने सन्तान सहिद भएपछि निकै समस्याको साथ जीवन निर्वाह गर्दै आएको बताउँदै उनले सरकारबाट अझै आशा रहेको उल्लेख गरे ।