गणतन्त्र दिवसमा वृहद सरसफाइ कार्यक्रम
नवौं गणतन्त्र दिवसको अवसरमा थाहा नगरपालिका कार्यालयले शनिबार थाहानगरका मुख्य बजारहरुमा बृहद सरसफाइ कार्यक्रम गरेको छ । सेना, प्रहरी, गैरसरकारी संस्था, क्लब, विद्यालय र स्थानीय नागरिकसँग सहकार्य गरी नगरपालिकाले सरसफाइ कार्यक्रम गरेको हो । सरसफाइ अभियान अन्तर्गत नगरपालिकाको शिखरकोट बजार र बज्रवाराही बगर क्षेत्रमा सरसफाइ गरिएको नगरपालिकाका नायब सुब्बा अनिल लामिछानेले बताए ।
कार्यक्रममा प्लान नेपाल, इन्फो, टियरफण्ड, बाल कल्याण समाज, राडो नेपाल, आरएमसी, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, पिस नेपाल लगायत गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा शिखरकोट र बज्रवाराही गरी सात सय ६३ जनाको सहभागिता रहेको नगरपालिका कार्यालयले जनाएको छ । कार्यक्रमको समापन गर्दै नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारले सरसफाइ कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए । कार्यकारी अधिकृत परियारले –‘फोहोर व्यवस्थापन कुनै, संस्था तथा कर्मचारी एक दिन गरेर नहुने बताउँदै यसको व्यवस्थापन घर घरबाटै गर्नु पर्दछ।’ उनले नगरबासीलाई फोहोरमैला व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै शुन्यमा आधारित फोहोरमैला व्यवस्थापन नगरको अबको प्राथमिकता दिन योजना सहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
थाहा नगरपालिकाले ३ दिन गणतन्त्र दिवस मनाउने क्रममा शनिबार सरसफाइ कार्यक्रम गरेको हो । शुक्रबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो भने आइतबार मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको कार्यकारी अधिकृत परियारले बताए ।