थाहा नगरका एमाले कार्यकर्तालाई प्रशिक्षण

शिव चौलागाईं/
मकवानपुर थाहा नगरको दामन–पालुङ् क्षेत्रका एमाले अगुवा कार्यकर्ता प्रशिक्षित भएका छन् । आज थाहानगर ३ मा आयोजित कार्यकर्ता प्रशिक्षणमा नयाँ संविधान बनेपछि पार्टीको भूमिका, पार्टी र जनवर्गीय सङ्गठन बिचको सम्बन्ध, विकास निर्माणका सवालमा पार्टीका भूमिका लगायत विषयमा दामन–पालुङ्क्षेत्रका एमाले अगुवाहरुलाई प्रशिक्षित गरिएको हो । एमाले मकवानपुरको दुई नम्बर क्षेत्रमा जारी अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्ने अभियान अन्तर्गत कार्यक्रम गरिएको एमाले मकवानपुर दुई नम्बर क्षेत्रका इन्चार्ज विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो । एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण भेलामा पार्टी जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल, जिल्ला सदस्य इश्वर रुम्बा, थाहा नगर कमिटी सचिव सुरेन्द्रमान प्रधान, अनेमसंघ जिल्ला सदस्य कल्पना बलामी, थाहा नगर कमिटी उपाध्यक्ष चित्रबहादुर बलामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशिक्षण भेला एमाले थाहा नगर कमिटी अध्यक्ष अचुतमप्रसाद ढकालको अध्यक्षतामा भएको हो ।  
यहि फागुन १ गतेबाट एमाले मकवानपुरको दुई नम्बर क्षेत्रस्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण अभियान जारी रहेको जनाइएको छ । अभियानका क्रममा मकवानपुरको आमभञ्ज्याङ्, बुढीचौर,सुकौरा, इपा, कोगटे, निबुवाटार, टिष्टुङ्, मार्खु, चित्लाङ्, थाहानगरको बज्रबाराही लगायत क्षेत्रमा एमाले अगुवाहरुलाई प्रशिक्षित गरिसकिएको दुई नम्बर क्षेत्रका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । अब मकवानपुरको भैसे, भीमफेदी, कुलेखानी र  सिस्नेरीका अगुवा कार्यकर्तालाई प्रशिक्षित गरेपछि अभियान समापन गरिने उहाँले बताउनुभयो । 
यहि फागुन २९ गते दुई नम्बर क्षेत्रका अगुवा कार्यकर्ताहरुको बृहत भेला आयोजना गर्दै एक महिनासम्म सञ्चालित अभियान समापन गरिने पार्टीले जनाएको छ ।

All news in One Place