प्रधानमन्त्री दाहाल र मउवा प्रतिनिधिबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल र मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिबीच भेट भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा मकवापुरको हेटौंडा बजारका व्यवसायीलाई परेको पीडा र सुरूङ मार्गको विषयमा छलफल भएको संघका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । भेटका क्रममा प्रधानमन्त्री समक्ष प्रतिनिधिहरूले पूर्वपश्चिम राजमार्ग अन्तर्गत् हेटौंडा बजारमा २५ मिटर सडक चौडा गर्ने विषयमा व्यवसायीहरूलाई अल्झाउने काम मात्रै भएको भन्दै यसको समाधानको लागि आग्रह गरेका थिए । हाल २५ मीटर भित्र पर्ने घरजग्गाका लागि बैक तथा वित्तीय संस्थाले समेत लगानी गर्न सकेको छैन् । उनीहरूले यस विषयमा सरकारले सडक चौडा बनाउने हो भने सो सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर बाटो खोली दिन पनि आग्रह गरेका थिए । उनीहरूले मुआब्जा दिएर सडक विस्तार गर्न स्थानीयले कुनै अवरोध सिर्जना नगर्ने विश्वास पनि दिलाईएको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
भेटमा काठमाडौं हेटौंडा सुरूङमार्ग सरकारी लगानीमा भएपनि बनाउन आग्रह गरिएको थियो । व्यवसायीहरूले यो मार्ग मकवानपुरबासीको मात्रै नभएर समग्र राष्ट्रको गौरवको कुरा रहेकोले पनि यसमा सरकारी लगानी आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । सुरूङमार्ग मा संघको समेत संस्थापक शेयर रहेको छ ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले यस विषयमा आफू सकारात्मक रहेको भन्दै हेटौंडाबासीलाई कुनैपनि समस्या नपर्ने गरी सडकको काम अगाडि बढाउन आफूले पहल गर्ने प्रतिक्रिया दिएका थिए । सुरूङ मार्ग बनाउने विषयमा पनि आफू सरकारकै लगानीमा बनाउनु पर्छ भन्ने पक्षमा रहेको प्रतिक्रिया दिँदै उनले यो मार्ग सबै नेपालीको लागि उपयोगी रहेको जानकारी पनि दिएका थिए ।
भेटमा सांसद्हरू इन्द्र बानियाँ, रामनारायण विडारी, निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछाने, पूर्व अध्यक्ष अरुणराज सुमार्गी, केशवलाल श्रेष्ठ,कृष्ण अग्रवाल, माओवादीका प्रेम बहादुर पुलामी, एमालेबाट सुनिल मोक्तान लगायतको उपस्थिती थियो । भेटमा अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिती रहेको थियो ।