राईगाउँका सर्बदलीय टोली सरकारी कार्यालयमा डेलिगेशन

मकवानपुरको राईगाउँ गाबिसका सर्बदलीय टोली सरकारी कार्यालयहरुमा डेलिगेशन गएका छन् । जिल्ला बिकास समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल बिद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्र, डिभिजन सडक कार्यालयको पुगी टोलीले ध्यानकर्षण गराएका हुन् ।
तीन बर्षदेखि राईगाउँ–६ देउजर खोलाको निर्माणाधिन पुल अलपत्र पर्दा स्थानीयवासीलाई असुबिधा भएको भन्दै तत्काल निर्माण गर्न माग गरेका छन् । जिबिसमा ज्ञापन पत्र बुझाउँदै टोलीले ठेकेदार ढकल रानालाई यथाशीघ्र कडा कार्बाही गरि निर्माण शुरु गर्न आग्रह गरेको छ । त्यस्तै, टोलीले राईगाउँ, फापरबारी, बेतिनी गाबिसलाई समेटेर सिफारिस गरिएको गाउँपालिकाको नाम बागमती राख्न र गाउँपालिकाको केन्द्र भुगोल र दुरीका हिसाबले उपयुक्त फापरबारीको झुरझुरेमा राख्न माग गरेको छ । यसअघि गाउँपालिकाको नाम फापरबारी र केन्द्र फापरबारी बजारमा राख्ने सिफारिस भएको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेको राईगाउँको टोलीले राईगाउँसम्मै बस सञ्चालनका लागि परमिट दिन आग्रह गरेको छ । फापरबारीसम्म मात्र बस सञ्चालन हुँदा करिब १६ किलोमिटर राईगाउँबासी हिड्न बाध्य भएको उनीहरुको भनाई थियो ।
राईगाउँको टोलीले बर्षौअघि देखि अलपत्र रहेको केन्द्रिय बिद्युत बिस्तार गर्न माग गरेको छ । धेरै बर्षदेखि बिस्तारको काम भएपनि बिद्युत बिस्तार नभएकोमा टोलीले नेपाल बिद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रलाई ध्यानाकर्षण गराएको हो ।
टोलीमा राईगाउँका दलहरु नेपाली काँग्रेस सभापती शेरबहादुर लामा, नेकपा एमालेका अध्यक्ष भिमकुमार राई, नेकपा माओवादी केन्द्रका बलबहादुर पाख्रिन, राप्रपाका सञ्जय राई, राईगाउँ गाबिसका सचिव शुक्रमान राई, सूर्य माध्यमिक बिद्यालयका सदस्य यज्ञबहादुर श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

All news in One Place