‘जनता अलमल्याउने सरकार’–ओली
दोस्रो थाहा महोत्सव शुरु
संविधान संशोधनको भन्दै अहिलेको सरकारले जनतालाई अल्मल्याउन खोजेको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । संविधान निर्माण गर्दा पनि जातिय सवाल उठाएर चर्चा कमाउन खोजेको भन्दै एमाले राष्ट्रियताको सवालमा कहिल्यै नचुक्ने ओलीले बताए । मकवानपुरको थाहा नगरपालिका इन्द्रायणी चौरमा २९ भदौबाट शुरु भएको थाहा महोत्सवको उद्घाटन गर्दे ओलीले यस्तो बताएका हुन् ।
स्थानीय कला संस्कृतिको संरक्षण, कृषि र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ८ सम्म संचालन हुने महोत्सव उद्घाटनको अवसरमा ओलीले मुलुकमै यातायात प्रवेश गराउने पुरानो त्रिभुवन राजपथ भएको थाहानगर अब मुलुककै नमुना पनि बन्ने संभावना बोकेको नगर भएको उल्लेख गरे । कृषि र पर्यटनको उद्गम थलो थाहानगरलाई राधानीसंग केही मिनेटमै जोड्ने चन्द्रागिरी–थानकोट सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिए । आफूले सरकारको नेतृत्व गर्दा आधुनिकीकरण र औद्योगिकरणको सवाल उठाउँदा विकास देख्न नचाहनेले विरोध गरेको बताए । उनले भने–‘हावाबाट बिजुली निस्कदैन भन्ने महान बुद्धिजीवीहरु मकवानपुरकै फापरबारीमा गएर हेर्नुस् ।’
थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको जन्मथलो थाहा नगरमा भएको महोत्सवले यहाँको सचेतनाको स्तर बढाएको उल्लेख गरे । उनले भने–‘थाहा अवारनेस क्याम्पियन हो।’ ‘थाहा कार्यक्रम नभएर थाहा अभियान हो’– ओलीले भने । थाहा नगरबासीको उत्साहले देशकै नमुना नगरपालिका भएर देखाउनको लागि आफ्नो तर्फबाट सहयोग गर्ने उनले बताए । व्यवहारिक रुपमै विकासको अभ्यास थाल्ने थलो थाहा भएकोले यहाँबाट अरुले सिक्ने ठाउँको रुपमा स्थापित हुनुपर्ने उनको कथन थियो । यो अभ्यास दिवंगत रुपचन्द्र विष्टले थालेको उनले सम्झना गरे ।
दुई सय ५० वटा स्टलवटा स्टल रहेको महोत्सवमा खाना, लत्ताकपडा, सूचना प्रविधि, दैनिक उपभोग्य बस्तु, घरेलु उत्पादन, पर्यटकीय जानकारीसहितका स्टल तथा कृषिका स्टलहरु रहनेछ । करिब तीन लाख अवलोकनकर्ताहरु आउने अनुमान गरिएको महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुले दैनिकरुपमा मनोरञ्जन प्रदान गर्ने संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए । महोत्सवमा ३० गते ज्योति मगर, ३१ गते बद्री पंगेनी, असोज १ गते राधिका हमाल, मुलाको साग र जोगिन्दर, २ गते पशुपति शर्मा, ३ गते साहिमा श्रेष्ठ र पाँडे, जिग्री, ४ गते कोमल वली, ५ गते इन्दिरा जोशी, ६ गते सुनिल गिरी र रमेशराज भट्टराई, ७ गते चन्दा अर्याल र दिनेश थापा र ८ गते प्रमोद खरेलले साँगीतिक प्रस्तुति दिने महासचिव प्रधानले बताए । महोत्सव अवधिभर गायक टंक बुढाथोकीको र थाहा आइडल ९गायन तथा नृत्य० प्रतियोगिताका प्रतिस्पर्धीहरुको बेजोड प्रस्तुति रहने महासचिव प्रधानले बताए ।
महोत्सवमा करिब पाँच करोड रुपियाँभन्दा बढीको व्यापार हुने अध्यक्ष खत्रीले बताए । बेमौसमी तरकारी खेतीको नामले परिचित मकवानपुरको उत्तरी क्षेत्रमा महोत्सवको अवसरमा हेटौंडा, वीरगञ्ज, काठमाडौं, चितवनलगायत क्षेत्रबाट अवलोकनकर्ताहरु आउने आयोजकको दाबी छ । महोत्सव थाहा नगरको आर्थिक, सामाजिक तथा पर्यटन प्रबद्र्धनको उद्देश्यसहित आयोजना गर्न लागिएको हो ।