यौन तथा प्रजनन अधिकार प्रयोग गर्नबाट महिलाहरु बञ्चित


गर्भपतन गराएका महिलाहरुलाई हेय र लाञ्छनाका दृष्ट्रिले हेरिने गरेको मकवानपुरमा गरिएको एक अध्ययनले देखाएको छ । युवा सेवा समाज मकवानपुरद्धारा जिल्लाका ९ गाविस र १ उपमहानगरपालिकामा गर्भपतनका बारे समुदायले गर्ने व्यवहारका विषयमा गरिएको अध्ययनले सो कुरा उल्लेख गरेको छ । गत २०७२ असारदेखि मंसिरसम्म गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष बुद्धशरण लामाले महिलाहरु परिवारको दवावकै कारण असुरक्षित तरिकाले गर्भपतन गराउन बाध्य भएको र सो पश्चात महिलालाई पौष्टिक आहार स्याहारको साटो परिवार तथा समाजबाटै हेयका दृष्ट्रिले हेरिने गरेको बताउनुभयो । यौन तथा प्रजनन अधिकारमा महिला र पुरुष दुवै बराबर भएपनि त्यसको प्रयोगमा महिलाहरु बञ्चित भईरहेको लामाको भनाई छ ।
फाेटाे: रुपा गुरुङ/हेटाैंडा
कार्यक्रममा वोल्दै नेपाल परिवार नियोजन संघ मकवानपुरका शाखा प्रवन्धक हेमन्त श्रेष्ठले जिल्लामा ३८ प्रतिशत महिलाहरु सुरक्षित गर्भपतनका विषयमा जानकार रहेको बताउनुभयो । उहांले आर्थिक वर्ष २०७२/०७३ सम्म एक सय जना महिलाले सुरक्षित गर्भपतनको सेवा लिएको जानकारी दिदै अझैपनि जिल्लामा असुरक्षित गर्भपतनको अवस्था व्यापक रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरकी प्रतिनिधी मिलन घिमिरेले मकवानपुर जिल्लाका सवै स्वास्थ्यसंस्थाहरुमा सुरक्षित गर्भपतन सेवाको विस्तार भईरहेकाले सुचिकृत संस्थाबाट मात्रै गर्भपतन गराउन सुझाव दिनुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यलय प्रमुख शोभा शाह , जिल्ला प्रहरी कार्यलय मकवानपुरकी एसपी मिरा चौधरी , राप्रपाका सुन्दर कार्की , नया शक्ति पार्टीका राजन मैनाली , अनेम संघकी पार्वती राना , अनेम संघ क्रान्तिकारीकी कमला पौडेल , जिल्लामा क्रियाशिल चिकित्सकहरु र विभिन्न संस्थाका प्रतिनिधी महिलाहरुको सहभागिता रहेको थियो ।
गर्भपतनबाट पिडित बनेका महिलाहरुका लागी संस्थाले पैरवीको भूमिका खेल्ने र उनिहरुका यौन तथा प्रजनन अधिकारका बारे सुसुचित गराउने उद्धेश्यले कार्यक्रम गरिएको समाजले जनाएको छ ।

-रुपा गुरुङ/हेटाैंडा

All news in One Place