प्रेस सेन्टरका केन्द्रीय पार्षद अधिकारीले छाडे माओवादी
हेटौंडामा नेकपा माओवादी केन्द्रको एकता भेला चल्दै गर्दा प्रेस सेन्टरका केन्द्रीय पार्षद शम्भु अधिकारीले भने आफू संलग्न नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।
आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस लेखेर उनले माओबादी छाडेको घोषणा गरेका हुन् । शनिबार विहान हेटौंडामा एकता भेलाको तयारी भइरहेका बेला थाहानगरमा रहेका उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आजबाट यो माओबादी भन्ने पार्टी परित्याग गरियो ।’ सँगै उनले आफू स्वतन्त्र रहने पनि बताएका छन् । नेकपा माओवादी केन्द्र नेकपा एमाले भन्दा माथि उठ्न नसकेको उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । माओवादी केन्द्र परित्याग सम्बन्धी स्टाटस पोष्ट गरेको एक घण्टा पछि अर्को पोष्ट गर्दै उनले बहुदलीय कम्युनिष्टको विरोधसमेत गरेका छन् ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारले जनमुखी काम गर्नुको सट्टा १४ राजदूत फिर्ता गरेको, अध्यक्ष प्रचण्डले आफ्नै छोरालाई स्वकीय सचिब राखेको, मधेश आन्दोलनमा मारिएको भारतीय नागरिकलाई सहीद घोषणा गरेर क्षतिपूर्ति दिएको, प्रहरीलाई भाला रोप्ने विरुद्धको मुद्धा फिर्ता लिएको, नक्कली डाक्टरलाई पुनः काममा आउन निर्देशन दिएको जस्ता कुराहरुले उनलाई दिक्क तुल्याएको थियो ।
सल्लाहकार नियुक्ति नियमावली संसोधन र कालोधन छानविन समिति खारेज गरेर प्रचण्ड सरकारले भ्रष्टताको पक्षपोषण गरेको उनले आरोप लगाएका छन् । पत्रकार रामजी बलामीले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको एक स्टाटसमा टिप्पणी गर्दै अधिकारीले माओवादी नराम्ररी बिग्रेको उल्लेख गरेका छन् । उक्त स्टाटासमा पत्रकार बलामी सँग च्याट गर्दै उनले आफू पहिले देखिनै मओवादीसँग एकता गर्नु हुन्न भन्ने पक्षमा रहेका बताए । उनी माओवादी एकताअघि संयुक्त जनमोर्चा नेपाल पार्टीमा आवद्ध थिए ।
तत्कालीन अखिल क्रान्तिकारीका जिल्ला नेता अधिकारीले पत्रकार बलामीसँग कुराकानी गर्दै माओवादीसँग एकता गरेदेखि नै नारायणकाजी श्रेष्ठलाई बहिस्कार गरेकोसमेत बताए । दोस्रो संविधान सभा निर्वाचनमा उमेदवार हुँदा आफू चुनावमा हारे पनि महिनामा एक पटक आफु उमेदवार भएको निर्वाचन क्षेत्रमा आउँछु भनेका श्रेष्टले त्यसपििछ एकपटक पनि नआएको आरोप लगाएका छन् । उनले श्रेष्ठलाई ‘दोकलकाटे’ को संज्ञा दिएका छन् ।
बहुदलीय कम्युनिष्टको बिरोध गरेर उनले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको विचारलाई पछ्याएको देखिन्छ । अर्को फेसबुक स्टाटसमा उनले ‘अबको राजनीति’ भन्दै निष्पक्ष सक्रियताको अभ्यास ‘थाहा’ अभियानमा लाग्ने जनाउ दिएका छन् ।