"अमर बन्दै अमिर"

फरकसोच फेसबुक अभियानको तर्फबाट तत्कालिक मकवानपुरका
स्थानीय विकास अधिकारी भूवन प्रकाश विष्टले अक्षयकोषका लागि
अमिर भोम्जनलाई रकम हस्तान्तरण गर्दै ।
फाइल फोटो ।
मकवानपुर थाहा नगरपालिका वडा नंबर १ का १६ वर्षीय अमिर भोम्जन लामाका अरूका जस्तै सपना छन्, तर उनी शारीरिक कठिनाइका कारण सपना सहजै पूरा नहोलान् कि भन्ने चिन्तामा छन् । अमिरको न हात चल्छ, न खुट्टा नै । तर, उनले हरेस खाएका छैनन् । मुख र जिब्रोकै भरमा उनी आफ्नो जीवन चलाइरहेका छन्, सपनालाई पछ्याइरहेका   छन् ।
‘म मोबाइल पनि जिब्रोले नै चलाउँछु,’ उनी भन्छन्, ‘मसँग विश्वास छ, आँट छ । म गर्न सक्छु ।’ अमिरले लेखिका झमककुमारी घिमिरेलाई चिनेका छन् या छैनन्, त्यो अलग पाटो भयो । तर, उनी झमककै पथमा   छन् ।  त्यसैले त कलम र कापी लिन्छन् र लेख्न बस्छन् । मुखको सहयोगमै उनी लेख्ने मात्र होइन, राम्रा चित्र पनि बनाउँछन् ।
र, गुनगुनाउँछन् जीवनका उकाली–ओराली समेटिएका गीतहरू । यही अभ्यासले हुनुपर्छ, अहिले अमिर गायक बन्ने सपना बुनिरहेका छन् । आफ्ना गीतका लागि आफैँ शब्द कोरिरहेका छन् । उनी भन्छन्, ‘म एक ठगिएको मान्छे हुँ । जसरी मलाई यी अंगले धोका दिए, त्यसरी नै मेरा लागि यो संसार अन्धो बनेको छ । सपना पूरा गर्न सहयोग र साथ चाहिँदो रहेछ ।’ 
अमिरलाई कक्षा ४ मा पढ्दा सामाजिक कार्य गर्दै आएको थाहानगरको फरकसोच फेसबुक अभियानले रु. १ लाखको उनकै नाममा अक्षयकोष राखिदिएको छ । उनले अक्षयकोषबाटै दैनिक व्यक्तिगत खर्च टारिरहेका     छन् । 
१२ वैशाखको भूकम्पपछि उनको परिवार सामान्य टिनले छाएको छाप्रोमा जीवन बिताउन बाध्य छ ।


हेर्नुहोस् :  युनिसेफले तयार गरेको अमिरको प्रतिभा सहितको भिडियो ।




All news in One Place