थाहानगरलाई पर्यटकीय नगर बनाउन सरकारको कार्यक्रम सार्वजनिक

सरकारले १७ नगरलाई ‘एक सहर एक पहिचान’ का रूपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेटमा सातै प्रदेशका मुख्य–मुख्य सहर पहिचान गरी ‘आत्मनिर्भर, चलायमान, सुविधा सम्पन्न र समृद्ध सहर सबैको रहर’ नाराका साथ विकास गरिने भएको हो ।
सहरी विकास मन्त्रालयका अनुसार मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय सहरका रूपमा विकास गरिने छ । त्यस्तै इलामलाई हरित, दमक र बर्दिबासलाई व्यापारिक, उदयपुरको त्रियुगा र कैलालीको धनगढीलाई औद्योगिक सहरका रूपमा विकास गरिनेछ । जनकपुर, लुम्बिनी, रोल्पाको लिवाङ र पाल्पालाई धार्मिक तथा सांस्कृतिक पहिचानको सहर बनाइनेछ ।
गोरखा, नारायणपुर नगरपालिका, रुकुमको रुकुमकोट र डडेलधुराको अमरगढीलाई ऐतिहासिक सहरको पहिचान दिँदै आगामी बजेटमा पार्न मन्त्रालयको सिफारिस छ । सिरहालाई भने कृषि सहरका रूपमा विकास गरिने छ । जुम्लाको चन्दननाथ नगरपालिकालाई हिमाली जडीबुटी र चितवनको भरतपुरलाई मेडिकल सहरका रूपमा विकास गर्न मन्त्रालयले सिफारिस गरेको छ ।
बढ्दो जनसंख्या र बसाइँ सराइ व्यवस्थित गर्न यी सहरलाई आधुनिक, सुविधासम्पन्न र प्रविधियुक्त बनाइने भवन निर्माण तथा सहरी विकास विभागका महानिर्देशक रमेश सिंहले जनाए । हुम्ला र जुम्लामा स्याउका साथै कर्णाली क्षेत्रमा जडीबुटीको अपार भण्डार रहेको उल्लेख गर्दै चन्दननाथमा ती उत्पादनको भण्डारण गरिने उनले बताए । ‘सम्भाव्यता अध्ययनका लागि ८५ करोड रुपैयाँ अनुमानित लागत छुट्याएका छौं,’ उनले भने । उनका अनुसार विस्तृत इन्जिनियरिङ डिजाइन प्रतिवेदन तयार गरेर थप अध्ययन गरिनेछ ।
दस वर्षभित्र ती सहरको सामान्य आधुनिक पूर्वाधार विकास गर्ने सरकारको लक्ष्य छ । प्रत्येक सहरलाई सुविधा सम्पन्न र आधुनिक बनाउन ५१ अर्ब रुपैयाँ लाग्ने उनले जनाए । –कान्तिपुरबाट

All news in One Place