आग्रामा तीनमहिने लामा तथा मणिपा प्रशिक्षण सकियो
मकवानपुरको आग्रा गाविसमा वडा नंम्बर ५ डाँडाबासको भेतोग छाईलिङ गुम्बामा सञ्चालित ३ महिने लामा तथा मणिपा प्रशिक्षण शिविरको समापन गरिएको छ । पेमा साङ्गे लामाको प्रमुख प्रशिक्षणमा लामा तथा मणिपा प्रशिक्षण शिविर भएको हो ।

शिविरमा ३६ जना प्रशिक्षर्थीको सहभागिता रहेको थियो । ३ महिनाको शिविरबाट प्रशिक्षार्थीहरुलाई आफ्नो परम्परा अनुसार पुजापाठ कसरी गर्ने, यसका विधिहरुलगायतका धेरै कुराहरु सिकाईएको जनाएको छ । तामाङ समुदायको धर्म भाषा ओझेल परेकोले यसलाई संरक्षण गर्नको लागि शिविरको आयोजना गरिएको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धर्म गुरु महासचिव लामाले बताए ।
समापन कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई मायाको चिनो सहित कदर पत्र वितरण गरिएको थियो । सो अवसरमा जुनसुकै धर्म माने पनि आफ्नो नैतिकतालाई विर्सन नहुने केन्द्रिय सहसचिब तथा गायिका डोल्माले बताइन् । गुम्बाका अध्यक्ष बुद्धिलाल थिङको अध्यक्षतामा भएको समापन कार्यक्रमका अवसरमा सर्वोउत्कृष्ट दाता राजेन्द्र थोकर, आनी सम्नेन डोल्मा, अक्कल बहादुर थिङ,चिनिमाया तामाङलगायतको आतिथ्यता तथा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।