‘मकवानपुरको विकासका लागि सहयोग हुन्छ': भारतीय राजदूत रे (अडियाे सहित)
नेपालका लागि भारतीय राजदूत रंञ्जित रेले मकवानपुरको कृषि र पर्यटन विकासको लागि सहयोगको आश्वासन दिएका छन् । नेपाल भारतको सम्बन्ध पुरानो भएकोले मकवानपुरको विकासका लागि आफ्नो मुलुकको तर्फबाट हुने सहयोगमा कुनै कन्ज्युस्याई नहुने उद्घोष गरे । मकवानपुरको दामनपालुङ हुँदै सन् १९५३ मा नै त्रिभुवनराजपथ निर्माणमा भारतले सहयोग गरेको बताउँदै राजदूत रे ले दुई देशको विकास काँधमा काँध मिलाएर गर्न आफू तत्पर रहेको बताए । भारतको विदेश नीतीमै छिमेकी देशको विकासको चहाना रहेको बताए । थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा भारतीय राजदूत रेले यस्तो बताएका हुन् ।
पालुङ जेसीजको सभाहल थाहानगरमा भएको कार्यक्रममा भारतीय महावाणिज्य दूत अन्जु रन्जनले थाहानगरका किसानहरुले प्रविधि विनाको कृषिप्रणाली अपनाएकोले स्थानीय किसानकै बालबालिकाले कृषि प्राविधिक शिक्षा पढ्नूपर्ने बताइन् । प्राविधिक शिक्षाको लागि भारतले छात्रवृत्ति प्रदान गर्ने दूत रन्जनले बताइन् । उनले भनिन्–‘थाहानगरकै लागि केही कोटा हामी व्यवस्था गर्छौ ।’ रन्जनले थाहानगर कृषि पर्यटनका लागि असाध्यै रमणीय क्षेत्र भएको बताइन् । कार्यक्रममा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले थाहानगर सहित उत्तरी मकवानपुरको संभावना र भएका स्रोतको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले स्वागत गरेको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुर र भारतको सहकार्य लामो समयदेखि भएको बताउँदै भारतको सहयोग र सहकार्य विना विकास कार्य सहज नभएको बताए । उनले नेपाल भारत सम्बन्धलाई टिकाइ राख्नुपर्ने बताए । कार्यक्रममा संचार सहकारी संघका केन्द्रीय अध्यक्ष विष्णुहरि ढकाल, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थाहानगर स्तरीय राजनीतिक दलका प्रतिनीधिहरु, सरकारी तथा गैर सरकारी सरकारी कार्यालयका प्रमुखहरु लगायतकाको उपस्थिती रहेको थियो ।