मनहरीमा प्राकृतिक पार्क बनाउन सुरु
पश्चिम मकवानपुरको मनहरी ४ स्थित सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा प्राकृतिक पार्क निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिकामा रहेका सहिद स्मारक, पुष्पलाल स्मृति पार्क तथा चिल्ड्रेन पार्कजस्तै यहाँस्थित सार्वजनिक स्थलमा सुन्दर पार्क निर्माण गर्न लागिएको हो । पार्क निर्माण स्थलमा सोमबार माननीय सांसद तथा नेकपा एमालेका केन्द्रीय संसदीय विभाग सचिव अनन्त पौडेल र सांसद राजाराम स्याङ्तानले संयुक्त रुपमा बृक्षरोपण गरी उद्घाटन गरेका छन् ।
वन अतिक्रमण भएको क्षेत्रमा पार्क निर्माण गर्नका लागि जिल्ला वन कार्यालय मकवानपुरको स्वीकृतिमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडा, उपकेन्द्र मनहरी र सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समूहको साझेदारी भएको ब्रह्मकुमार बिजयराज सिग्देलले बताए । वन क्षेत्रमा बनाउन लागेको पार्कलाई प्राकृतिक रुप नै दिइने सिग्देलले बताए । ‘हामी प्रकृतिलाई चलाउने पक्षमा छैनौँ, प्रकृतिलाई श्रृंगार गर्ने काम मात्र गर्छाै ।’, उनले भने ।
बृक्षरोपण कार्यक्रममा बोल्दै सांसद पौडेलले प्रकृतिलाई सिंगारेर पर्यटकीय गन्तब्य बनाउनका लागि सुरु गरिएको पहलकदमीको स्वागद गर्दै आफूले सक्दो सहयोग गर्ने बताए । उनले राज्यको कोषलाई पार्क निर्माणका लागि लगानी गर्न पहल गरिने बताए । अर्का सांसद राजाराम स्याङ्तानले पनि पर्यटन वोर्डसहितका निकायहरुमा पार्क निर्माणका लागि पहल गर्ने आश्वासन दिलाए ।
