रियो ओलम्पिक खेल्न जाने जुडो टोलीको बिदाइ



काठमाडौँ । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिकमा सहभागी हुन जाने नेपाली जुडो टोलीलाई नेपाल जुडो संघले बिदाइ गरेको छ । शुक्रबार एक कार्यक्रमबीच रियो जाने जुडोको तीन सदसीय टोलीको बिदाई गरिएको हो ।
रियो ओलम्पिकमा जुडोबाट महिला ६३ केजीमा फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । फुपू १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन् । बिदाईपछि बोल्दै फुपुल्हामु खत्रीले ओलम्पिक खेल्नु नै ठुलो कुरा भएको र रियोमा पदक नजितेपनि प्रतिस्प्रधीसँग पुरा समय फाइट गर्ने लक्ष्य लिएको बताइन ।
“सबैभन्दा ठुलो कुरा ओलम्पिकमा  सहभागिता जनाउनु हो  र, मैले त्यो अवसर पाएको छु,” बिदाईपछि फूपुले भनिन् , “पदक जित्ने आश गरेको छैन । तर, रिङमा पुरा समय (पाच मिनेट) फाइट गर्ने छु ।” अगष्ट ५ देखि २१ तारिखसम्म सञ्चालन हुने रियो ओलम्पिक अन्तर्गत जुडो ६ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । जसमा फुपुले ९ तारिखमा खेल्नेछिन् ।
नेपालबाट कुनैपनि खेलाडीले अहिलेसम्म प्रतिस्प्रधीसँग पाँच मिनेट टिकेर खेलेको रेकर्ड छैन  ।  नेपालबाट सबैभन्दा बढी रिङमा टिक्ने खेलाडी देबु थापा हुन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा हाल फुपुको प्रशिक्षकको जिम्मेवारीमा रियो जाँदै छिन् ।  त्यस्तै अफिसियलमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य रहेका छन् ।  नेपाली टोली आईतबार रियोतर्फ प्रस्थान गर्दैछ । 
यसैबीच जुडो संघले ओलम्पिक खेल्ने टोलीको हौशला बढाउन पुरस्कार दिने घोषणा गरेका छन् । रियो ओलम्पिकमा  रिङमा पुरा समय टिके खेलाडीलाई २५ हजार र प्रशिक्षकलाई १० हजार दिने घोषणा गरेको छ । त्यस्तै सघले खेलाडीले एक बाउट जिते ५० हजार, दुई बाउट जिते १ लाख दिने घोषणा गरेको छ । ओलम्पिकमा खेलाडीले जति बाउट जित्दै जान्छ त्यसमा पुरस्कार राशी ५० हजारको दरले थपिदै जाने छ ।
नेपाली टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव एवं नेपाली रियो टोलीका सेभ दि मिसन केशवकुमार श्रेष्ठले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । बिदाइपछि जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विपिन श्रेष्ठले फुपु र देबुलाई ब्याग, ट्रयाकसुट, जुत्ता र टिसर्ट हस्तान्तरण गरेका थिए ।
यसअघि सोही टोलीलाई सामाखुशीस्थित लिङकन कलेजले पनि बिदाइ गरेको थियो । लिङकनका अध्यक्ष विष्णुराज पौडेल, प्रिन्सिपल प्रकाश शर्मा घिमिरे तथा प्रशासन प्रमुख विशाल थापाले फुपु र देबुलाई ट्रयाकसुट र जुत्ता प्रदान गरेका थिए

All news in One Place