२२ करोड कर छल्न क्रिष्टल होटल १४ दिनमा दुई पटक बिक्री, प्रतिष्ठित व्यापारी मणिहर्ष ज्योतिकी छोरीको कर छल्ने नया तरिका

काठमाडौं, साउन ११



   घरजग्गा खरिदबिक्रीमा कसरी करछली हुन्छ भन्ने भित्री रहस्य काठमाडौंको न्युरोडको एक होटल बिक्रीले खुलासा गरिदिएको छ । न्युरोडको शुक्रपथचोकमा रहेको हाल बन्द भएको होटल क्रिष्टल प्रालिले २५ प्रतिशत संस्थागत आयकर छली गर्ने उद्देश्यले १४ दिनको अवधिमा उक्त होटल दुई पटक बिक्री गरेको खुलासा भएको छ ।
   राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार कम्पनीको नामबाट २०७२ माघ २५ गते उक्त होटल प्रभा स्थापितको नाममा १० करोड २३ लाख ७२ हजार रुपैयाँमा बिक्री गरेर मालपोत कार्यालयबाट पास गरिएको थियो । त्यसको १४औँ दिनको दिन अर्थात् फागुन ९ गते उक्त होटल प्रभाको नामबाट महर्जन बिजनेस एसोसिएट प्रालिलाई ९० करोड बढी अर्थात् एक अर्ब रुपैयाँमा बिक्री गरिएको मालपोतको रेकर्डबाट देखिन आएको छ । महर्जन बिजनेस एसोसिएट प्रालिका मालिक कृष्णलाल महर्जन हुन् । 
   ‘मालपोतकै रेकर्डमा १४ दिनमा उक्त होटल ९० करोड फाइदा लिएर एक अर्ब रुपैयाँमा बिक्री भएको देखिन्छ’, विभाग स्रोतले भन्यो, ‘पैसा त त्योभन्दा बढी लिएको पनि हुनसक्छ ।’ होटल सिधै महर्जन बिजनेसको नाममा बिक्री गर्दा संस्थागत आयकर २५ प्रतिशत तिर्नुपर्ने भएकाले पहिला प्रभा स्थापितको नाममा नामसारी गरेर पछि महर्जन बिजनेसलाई बिक्री गरिएको हो । 
   करछली गर्ने उद्देश्यले बिक्री गरिएको उक्त होटलको वास्तविक मालिक पनि प्रभा नै हुन् । १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलमा रहेको उक्त क्रिष्टल होटल प्रभा स्थापित, उनका श्रीमान् विजयरत्न स्थापित र छोरा अक्षयरत्न स्थापितको संयुक्त लगानी रहेको प्यान नम्बर ३०११२००४३ भएको क्रिष्टल होटल प्रालिको नाममा २०५९ सालदेखि सञ्चालनमा थियो ।

   उक्त होटल बिक्री गर्दा करोडौं रुपैयाँ राजस्व छली भएको उजुरी परेपछि विभागले अनुसन्धान थालेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा १४ दिनको अवधिमा उक्त होटल दुई पटक बिक्री भएको र बिक्री रकम पनि धेरै देखिएपछि विभागले सबै कागजात झिकाएर अनुसन्धान गर्दा एकै परिवारको नाममा होटल सञ्चालन गर्ने फर्म रहेको र सोही फर्मका एक जनाको नाममा पहिला होटल बिक्री गरेको देखाएर पछि मात्र वास्तविक रुपमा बिक्री गरेको देखिएको हो । अनुसन्धानको क्रममा उक्त होटल बिक्रीबापत २२ करोड ४४ लाख पाँच हजार राजस्व छली भएको दाबी विभागले गरेको छ ।

   सबै अनुसन्धान गर्दा कर छली गर्ने उद्देश्यले १४ दिनको फरकमा क्रिष्टल होटल दुई पटक बिक्री गरेको पुष्टि गर्दै विभागले आयकर ऐनको दफा १२० ‘ख’ अनुसार लाग्ने कर २२ करोड ४४ लाख ५ हजारमा शतप्रतिशत जरिवानासहित ४४ करोड ८८ लाख १४ हजार राजस्व असुल गर्नुपर्ने भन्दै आन्तरिक राजस्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय न्यूरोडमा पठाएको छ । संस्थागत आयकर छली गरेको कारण विभागले करदाता सेवा कार्यालयमा अनुसन्धान गरेको फाइल कर समेत तोकेर पठाएको हो । विभागले गरेको कर निर्धारणलाई करदाता सेवा कार्यालयले पनि सदर गरेमा क्रिष्टलका मालिक स्थापितहरुले उक्त कर तिर्नैपर्छ । अहिले उक्त फाइल करदाता सेवा कार्यालयका प्रमुख उपसचिव मुक्ति आचार्यकहाँ छ । स्रोतका अनुसार कर नतिर्नका लागि स्थापितहरुले सेवा कार्यालयका प्रमुखलाई प्रभावमा पार्ने प्रयास गरेका छन् ।

   राजस्व अनुसन्धान विभागले दाबी गरेको करलाई सेवा कार्यालय पनि सदर गरेमा क्रिष्टलका मालिकहरु आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष कर पुनरावलोकनका लागि जान सक्नेछन् । त्यहाँबाट पनि कर तिर्नैैपर्ने ठहर भएमा क्रिष्टलका मालिकहरु राजस्व न्यायाधिकरणमा मुद्दामा जाने छन् । न्यायाधिकरणले गरेको फैसला अन्तिम हुनेछ । स्रोतका अनुसार राजस्व अनुसन्धानका विभागका महानिर्देशकले गरेको निर्णय करदाता सेवा कार्यालयका प्रमुखले उल्ट्याउन सक्ने सम्भावना कम हुन्छ भने एउटा महानिर्देशकले गरेको निर्णय अर्को महानिर्देशकबाट उल्ट्याउने सम्भावना पनि पनि धेरै कम हुन्छ । ‘पैसाको चलेखलबाट कर्मचारीहरु बँचे भने राजस्व अनुसन्धान विभागबाट भएको निर्णय आन्तरिक राजस्व विभागबाट समेत सदर हुन्छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने । होटल बिक्रीबाट करोडौं कर छलीको प्रयास गर्ने प्रभा काठमाडौंको प्रतिष्ठित व्यापारी मणिहर्ष ज्योतिको छोरी हुन् । रुप ज्योतिकी बहिनीको कर छली गर्ने उक्त योजना सार्वजनिक हुँदा समग्र ज्योति ग्रुपकै प्रतिष्ठामा समेत आँच आएको छ ।

२२ करोड ४४ लाख पाच हजार कर छल्न खोज्दा ४५ करोड तिर्नुपर्ने !

२०७२ माघ २५ गते क्रिष्टल होटल प्रभा स्थापितको नाममा १० करोड २३ लाख ७२ हजार रुपैया“मा बिक्री गरेर मालपोत कार्यालयबाट पास गरिएको थियो । त्यसको १४औं दिनको दिन अर्थात् फागुन ९ गते उक्त होटल प्रभाको नामबाट महर्जन बिजनेस एसोसिएट प्रालिलाई ९० करोड बढी अर्थात् एक अर्ब रुपैया“मा बिक्री गरिएको मालपोतको रेकर्डबाट देखिन आएको छ । होटल सिधै महर्जन बिजनेसको नाममा बिक्री गर्दा संस्थागत आयकर २५ प्रतिशत तिर्नुपर्ने भएकाले पहिले प्रभा स्थापितको नाममा नामसारी गरेर पछि महर्जन बिजनेसलाई बिक्री गरिएको हो । प्रालि भनिए पनि उक्त होटल एकै परिवारका श्रीमती प्रभा स्थापित, उनका श्रीमान् विजयरत्न स्थापित र छोरा अक्षयरत्न स्थापितको नाममा रहेको फर्ममार्फत सञ्चालन गरिएको थियो ।
                 कुन्द दीक्षितलाई पनि राजस्वको पत्र 
   काठमाडौं । विदेशी बैंकमा पैसा जम्मा गरेको र सेयर लगानी गरेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले दीक्षित परिवारका अर्का सदस्य कुन्द दीक्षित र उनकी श्रमीत मिलन दीक्षितलाई पनि बयानका लागि बोलाएको छ । विभागले गत शुक्रबार पत्र काटेर १५ दिनभित्र बयानका लागि उपस्थित हुन भनेको छ ।
   विदेशी बैंकमा सेयर लगानी गर्दा नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्नेमा अनुमति नलिई सेयर लगानी गरेको र अवैध तरिकाले रकम जम्मा गरेको आरोप उजुरीमा लगाइएको स्रोतको दाबी छ । ‘कुन्द र मिलन दीक्षितलाई बयानका लागि पत्र काटिएको हो’, विभाग स्रोतले भन्यो, ‘उनीहरुले पत्र बुझ्न आलटाल गरेछन् । ढोकामा टाँसेर जान्छौं भनेपछि बुझेका छन् । तर, बयानका लागि आइसकेका छैनन् ।’ विभागले कनकमणि दीक्षित र उनकी श्रीमती शान्ता दीक्षितलाई विभागमा हाजिर हुन आउन सार्वजनिक सूचना नै जारी गरिसकेको छ । पत्रकारिताको आवरणमा दीक्षित परिवारले अर्बौ राजस्व छली गरेको राजस्व अनुसन्धान विभागको 
अनुमान छ ।

All news in One Place