बालमैत्री हरित पार्क बनाउने थाहानगरको यस्तो छ योजना

बालबालिकाको घुम्न जाने रोजाईको केन्द्र बिन्दु अब थाहानगर नै बन्ने योजना सार्वजनिक भएको छ । योजना कार्यान्वयनमा सबै एक जुट भई निर्माण भए कुनै बेला हेटौंडा र काठमाण्डौमा रहेका बाल उद्यानमा रमाउने बालबालिकाको मन थाहानगरकै बाल उद्यानले मन लोभ्याउने छ ।
 थाहा नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ को बजेटबाट बाल उद्यान  (पार्क) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । डिपीआर अनुसार निर्माण कार्य पनि गरेरै छाड्ने राजनीतिक दलहरुबाट प्रतिबद्धता समेत आएको छ । थाहा नगरपालिका वडा नम्बर १२ को कुन्छाल नजिकैको सार्वजनिक चौरमा बाल उद्यान निर्माण गर्नको लागि डिपीआर तयार गरेको हो । नगरपालिकाले पर्यटन प्रवद्र्धनलाई मध्येनजर गरेर बाल उद्यानको निर्माण कार्य अघि बढाउन लागेको कार्यकारी अधिकृत भिम बहादुर परियारले जानकारी दिए । 
थाहा नगरपालिका स्तरीय राजनैतिक दलको निर्णयबाट पर्यटन प्रवद्र्धनको लागि छनौंट गरिएको क्षेत्र मध्ये एक बाल उद्यान हो । दलको निर्णय अनुसार    बज्रवाराहीको बाल उद्यान, बज्रवाराही मन्दिर क्षेत्र प्रवद्र्धन, दामनको भ्यूटावर, पालुङको कोटथुम्की, दामनको कालीदमारलगायतको क्षेत्रलाई एकीकृत रुपमा विकास गरी पर्यटन प्रवद्र्धनमा विकास गरिने छ । ति क्षेत्रहरुको विकास गर्नका लागि प्रारम्भमा डिपीआर तयार गरीने छ । पर्यटकीय पहिचान बोकेको थाहानगरको बज्रवाराहीमा निर्माणको योजना रहेको बाल उद्यानको लागत एक करोड ३४ लाख हुने डिपीआरमा उल्लेख गरिएको छ । नगरका विकास योजनाहरुमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको छ । योजनामा राखिएको उक्त उद्यानलाई परियोजना प्रतिवेदनमा ‘बालमैत्री हरित पार्क’ भनिएको छ । पार्क निर्माण गर्ने भनिएको चौरमा खानेपानी र घेराबार यसै आर्थिक वर्षको बजेटबाट गरिने थाहा नगरपालिकाले जनाएको छ । यसका लागि प्रक्रिया अघि बढिसकेकोे छ । 
जिल्लाको उत्तरी क्षेत्रको थाहानगरमा निर्माण हुन लागेको पहिलो पार्क चारसय ६९ दशमलव ७६ वर्ग मीटरमा क्षेत्रमा फैलने डिपीआरमा उल्लेख गरिएको छ । बालबालिकाको मनोरञ्जनका लागि आवश्यक सामाग्री उद्यानमा राखिने छ । त्यस्तै विश्राम कक्ष, मनमोहक बगैचा, चौतारोलगायतको व्यवस्था हुनेछ । पार्क क्षेत्रमा स्वच्छ खानेपानीको धारा, शौचालयलगायतको पूर्वाधार हुनेछन् । पार्कमा जानेहरुको सवारी व्यवस्थापनका लागि व्यवस्थित पार्किङ क्षेत्र पनि तय गरिने छ ।
पार्क निर्माण एकै वर्षमा सम्पन्न नहुने भएकोले यसलाई नगरपालिकाको बहुवर्षे परियोजना भनेको छ । नगरपालिकाले आफ्नो स्रोतको बजेट वर्षेनी विनियोजन गर्दै जाने र विभिन्न गैर सरकारी संस्थाहरुसंग पनि सहकार्य गर्ने योजना रहेको अधिकृत परियारले बताए । ‘सामान्य युवा क्लबदेखि ठूला अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसंग पनि पार्क निर्माणको लागि सहकार्य गरिने छ’–कार्यकारी अधिकृत परियारले प्रतिवद्धता व्यक्त   गरे । 

राजनीतिक दलको अठोट

थाहानगरलाई पर्यटकीय सहर बनाउनको लागि हरेक क्षेत्रको विस्तृत परियोजा प्रतिवेदन बनाएर प्राविधिक स्टमेट सहित अघि बढ्ने नेकपा एमाले थाहानगर कमिटिका अध्यक्ष अच्युतम प्रसाद ढकालले बताएकाछन् । अध्यक्ष ढकालले भने–‘मैले हरेक बैठक र कार्यक्रमहरुमा  डिपिआरको कुरा गर्दा सबै अचम्म मान्थे एउटा भए पनि डिपीआर तयार भयो अब काम पनि हुन्छ यसका हामी विश्वस्त   छौं ।’ ‘कुनै पनि परियोजना डिपीआर विना  दिगो हुनै सक्दैन’–अध्यक्ष ढकालको जिकिर गरे । थाहा नगरलाई राष्ट्रले नै पर्यटकीय शहर बनाउने योजना अघि सारेको सन्दर्भमा नगरका सबैको ध्यान यस तर्फ जानुपर्ने नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि सचिव बिनोद लामाले जोड दिए । डिपीआर बन्नु आफैमा महत्वपुर्ण भएको प्रतिक्रिया दिदै नगरले विनियोजन गर्ने हरेक बजेट पर्यटन विकासलाई आधार मानेर गर्न सके पर्यटकीय क्षेत्रको विकास गर्न संभव भएको उल्लेख गरे । यस्ता राम्रा र सकारात्मक योजनाको डिपीआर बनेर काम भइरहेको सन्दर्भमा विकासमा वडा र टोल ताक्ने पद्धतीको अन्त्य हुनुपर्ने  बताए । सचिव लामाले भने–‘बज्रवाराहीमा निर्माण हुने यो संरचनाले पनि पर्यटन प्रवद्र्धन गर्छ, यसको विकासको लागि हामी सबै तत्पर हुनैपर्छ ।’
नगरपालिकाको धरोहरकै रुपमा विकास हुन लागेको पार्कको लागि सबै एकजुट हुनुपर्ने नेपाली काँग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठको तर्क रहेको छ । सबै मिलेर काम गरे विकास हुन धेरै समय नलाग्ने श्रेष्ठको भनाइ छ । बजेट जुटाउन पहल गर्नको लागि आफू र आफ्नो पार्टीको तर्फबाट जहिल्यै तयार रहेको उनले बताए।  डिपीआर चित्र हो, यसलाई पूरा गर्न बजेट चाहिन्छ त्यसको लागि सबै मिलेर सहकार्य गर्नु आवश्यक रहेको राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण विष्टले बताए । बजेट आउँदा त्यसको उचीत सदुपयोग हुनु आवश्यक रहेको विष्टको भनाइ छ । ‘हामीले विभिन्न विषयगत समिति गठन गरेको सार्थकता अहिले भएको छ, अब डिपीआर तयार भएपछि सम्बन्धीत समितिलाई सक्रिय हुन सजिलो भएको छ’–विष्टले भने । पर्यटकीय संरचनाको अनुगमन र स्तरीय विकासको लागि नगर पर्यटन समिति सक्रिय हुनुपर्ने उनको भनाइ  छ । 

All news in One Place