बज्रवाराहीमा एमालेको क्षेत्रीय प्रशिक्षण
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवसमा नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम ७ साउनमा बज्रवाराहीमा सम्पन्न भएको छ । एमालेका केन्द्रीय नेताहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
एमालेका पोलिटब्युरो सदस्य एवम् संघीय मामिला प्रमुख पर्शुराम मेघी गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्यद्वय केदार न्यौपाने र विरोध खतिवडा बिशिष्ट अतिथि थिए । एमाले नारायणी अञ्चल इन्चार्ज समेत रहेका न्यौपानेले कार्यक्रममा सहभागी एमाले कार्यकर्ताहरुलाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुष्पलालबाट सिक्नुपर्ने कुराहरु र मकवानपुर इन्जार्च समेत रहेका खतिवडाले स्थानीय निकायको पुनर्संरचना र संविधान कार्यान्वयन विषयमा प्रशिक्षण दिएका थिए ।
सोही अवसरमा मकवानपुर २ का साँसद सुभाषचन्द्र ठकुरीले क्षेत्र नं. २ को विकास र संसदको वर्तमान राजनीतिको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् २ नं. क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी उपसचिब मिना लामा, सदस्यहरु भगवती पुडाशैनी, ठूली गोले, रामचन्द्र बल, पञ्चमाया स्याङ्तान, थाहा नगर इन्चार्ज सानुकाजी गोपाली, क्षेत्रीय सचिब बिमलकुमार ढकाल लगायतले बोलेका थिए । एमाले क्षेत्रीय अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
अन्ततः मेम्बर लो एमालेमै
मकवानपुरका युवा बामपन्थी नेता मेम्बर लो अन्ततः एमालेमै फर्केका छन् । ७ साउनमा मकवानपुरको बज्रवाराहीमा आयोजित एमाले २ नं. क्षेत्रीय अगुवा कार्यकर्ता पशिक्षण कार्यक्रमको अवसरमा उनी एमालेमा फर्किएका हुन् ।
लामो समय एमाले राजनीतिमा रहेका लो संघीय समाजवादी गठन भएपछि उतै लागेका थिए । उक्त पार्टीको केन्द्रीय सदस्य रहेका लोले संघीय समाजवादी पार्टी र फोरम नेपालवीच एकता भई संघीय समाजवादी फोरम नेपाल बनेपछि पार्टी परित्याग गरेका थिए । उनले गत १९ जेठमा हेटौंडामा पत्रकार सम्मेलन गरी उक्त पार्टी छाडेको घोषणा गरेका थिए ।
संघीय समाजवादी फोरम नेपालले माक्र्सबादलाई लत्याएको र समानुपातिक समावेशी चरित्रलाई नमानेको भन्दै पार्टी परित्याग गरेका लोले नेपाली जनताको भरोसाको केन्द्र एमालेमात्र भएकोले पुनः आफ्नो राजनीतिक घर एमालेमा फर्केको बताए ।
एमालेमा फर्कंदै गर्दा नेता लोले पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गर्ने प्रतिवद्धता जनाएका थिए ।