मकवानपुरका गीतकार गौतमको “श्रुतिमा” एल्बम बजारमा आउँदै
नारायण गौतमको रचना तथा शब्दमा खै के त्यस्तो जादु छ कुन्नि, उनले लेखेका प्रायः गीतहरु मन छुन सफल हुन्छन् । हाल उनले “अझै पनि सम्झना छ त्यो कौशिको ऐना”को गीत रचना गरेका छन् । जसले साँगीतिक बजार निकै तताएको छ भन्दा पनि फरक नर्पला ।
मकवानपुरको हेटौंडामा जन्मेर, हाल अमेरिकालाई कर्मथलो बनाएका गौतम घरको कान्छा छोरा हुन् । आफ्नो माता–पिताकोे आशिर्वादले यो स्थानसम्म आइपुग्न सफल गीतकार तथा शब्दकार गौतम भन्छन् “मेरो प्राण र एक मुट्ठी साँस रहुन्जेलसम्म म यस्तै गीतहरुको रचना गरिरहने छु ।” हुन त गौतमले संख्यात्मक रुपमा धेरै गीत नलेखेता पनि गुणात्मक रुपमा भने उनको गीति लेखन निकै अब्बल मानिन्छ ।
सानैदेखि साहित्य रचनामा रुचि राख्ने गौतमले यो गीत बजारमा ल्याउने बताएका छन् । कि त रचना नै नगर्ने, गरिसकेपछि पहिलो दर्जाको रचना गर्ने उनको दाबी छ । गौतमले हालसम्म लगभग एकसय ५० गीतको रचना गरेका छन् । “अझै पनि सम्झना छ त्यो कौशिको ऐना, केश कोर्न बाहिरिएकी त्यो पल मैले बिर्सिएको छैन ।” गीतको लय र शब्द भावले नै झल्काउछ कि यो गीत निकै प्रेमिल र चोखो मायाको भावनामा आधारित रहेको छ ।
गौतमको रचनामा तयार भएको यस गीतलाई गायक दिपक लिम्बुले आवाज दिएका छन् । यस्तै गीतमा अहिलेका चर्चित सँगीतकार राजशुक्र लिम्बुले संगीत रहेको छ भने संगीत संयोजन बाबुल गिरीले गरेका छन् । बिदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरेर गौतमले पहिलो एल्बम निकाल्ने भएका हुन् ।
त्यसो त यसभन्दा अघि पनि उनको रचनाको गीत गायक हिमाल सागरले रेकर्ड गराएका थिए । जुन गीतको बोल “रहरहरु थाति राखी” भन्ने थियो । यस गीतको म्यूजिक भिडियो गत महिना मात्रै बजारमा आएको थियो । यस्तै उनको दोस्रो गीत प्रमोद खरेलको आवाजमा “मरे पछि तिमी सँग” पनि स्रोताले मन पराएका थिए । अब उनले चाडै नै “श्रुतिमा” नामक सोलो एल्बम बजारमा ल्याउने तयारी गरेका छन् ।