नयाँ बनाउन पुरानो भत्काउनु नपर्नेः अध्यक्ष थापा
राप्रपा नेपालका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री कमल थापाले संविधान प्रति जनताको बितृष्णा बढ्न दिन नहुने बताएकाछन् । राप्रपा नेपाल मकवानपुरको २५ जेठमा हेटौँडामा भएको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष थापाले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान संविधान कार्यान्वयन अनिवार्य रहेको बताउँदै यसतर्फ अघि बढ्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
संविधानको बिपक्षमा मत हालेको राप्रपा नेपाल समेत संविधान कार्यान्वयन गर्न लागि परिरहँदा संविधानको पक्षमा मत हालेका दलहरु संविधानलाई असफल बनाउन बन्द हड्ताल र नाकाबन्दी जस्ता कार्यमा लाग्नु दुखद् भएको उनको भनाइ थियो । नयाँ बनाउनको लागि पुरानो भत्काउनुपर्ने आवश्यकता नरहेको भन्दै परिवर्तन निरन्तरता सहितको हुनुपर्ने थापाको भनाई छ ।
अध्यक्ष थापाले प्रजातन्त्रको लागि लडेका भन्ने पार्टीहरु बहुमतले गरको निर्णय अस्विकार गरेर आन्दोलन गरिरहेको बताए । प्रजातन्त्रमा विश्वास गर्ने हो भने आफुलाई चित्त नबुझेको विषय चुनाव जितेर आफ्ना मान्यता स्थापित गराउन सक्नुपर्ने उनले दलहरुलाई चुनौती दिए । संविधान कार्यान्वयन नभए शान्ति र स्थायित्व कायम नहुने भन्दै थापाले सबै दलहरु मिल्नुको बिकल्प नभएको उल्लेख गरे । उनले अर्को चुनावसम्मको लागि सरकार फेर्नु आवश्यक नरहेको समेत बताए । कार्यक्रममा राप्रपा नेपालका सांसद गणेश थापा, केन्द्रीय सदस्य मधु अधिकारी, दिपक बहादुर सिंह लगायतले बोलेका थिए । दुई दिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पार्टी जिल्ला अध्यक्ष नवराज विष्टले बताए ।