१०१ वर्षिय कर्णेल अधिकारी सम्मानित

नेपाली सेनाका कर्णेल गणेश बहादुर अधिकारी सम्मानित भएका छन् । सम्मानित भएका कर्णेल अधिकारी मकवानपुर थाहा नगरपालिका वडा नंबर ८ किटेनीका स्थायी बासिन्दा हुन् । १ सय १ वर्षिय अधिकारीलाई थाहा नगरपालिकाको कार्यालयले २५ जेठमा एक समारोहकाबीच सम्मान गरेको हो । कर्णेल अधिकारीलाई थाहा नगरपालिकाले दोस्रो पटक सम्मान गरेको हो । आर्थिक वर्ष २०७२/०७३ को वार्षिक कार्यक्रम अनुसार थाहा नगरपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनलाई सम्मान गरेको हो । कर्णेल अधिकारीले अहिलेसम्म थाहानगर र अरु संघसंस्थाका गरी ७ वटा सम्मान पाइसकेका छन् । कर्णेल अधिकारीले वि.सं. १९९० सालमा तत्कालिन शाही नेपाली सेनाको सिपाहीबाट सेवा शुरु गरेका हुन् । वि.सं. २०२५ सालमा प्रमुख सेनानी भए पश्चात् उनले श्री फष्ट राइफल गणबाट अवकास पाएका हुन् । 

थाहा नगरपालिकाले संयूक्त वडा सेवा केन्द्र दामन अन्तर्गतका कर्णेल अधिकारी सहित १८ जना ज्येष्ठ नागरिकलाई २५ जेठमा सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर विकास घरमा आयोजित समारोहमा सम्मान गरिएको हो । सम्मानित हुनेहरुलाई एक÷एक थान छाता पनि वितरण गरिएको छ ।  
थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश कुमार लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपीसथत अतिथीहरुलाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रम संयोजक सुदर्शन पहेलीले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका गणेश बहादुर लामा, नेकपा एमालेका प्रमोद कुमार केसी, नेकपा माओवादी केन्द्रका शकुन्तला गोपाली, चनवन ब्यारेकका सेनानी विशाल नरसिंह अधिकारी, थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल, बिनोद कार्की लगायताको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित भएका ज्येष्ठ नागरिकहरुले थाहानगरले गरेको सम्मानको प्रशंसा गरेका थिए । यसअघि २४ जेठमा थाहानगरको संयूक्त वडा सेवा केन्द्र पालुङका १४ जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको थियो । २६ जेठमा बज्रवाराही संयूक्त वडा सेवा केन्द्रमा पनि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको छ । 





All news in One Place