राप्रपा नेपालको जिल्ला परिषद हुने
हेटौँडा/राप्रपा नेपाल मकवानपुरको जिल्ला परिषद् बैठक यसै साता हेटौंडामा हुने भएको छ । पार्टी केन्द्रीय बैठकको निर्देशनअनुसार ‘विशेष’ भनिएको बैठक जेठ २५ गते हुने भएको हो । बैठकका लागि शुक्रबार राप्रपा नेपाल जिल्ला कमिटीको तयारी बैठक बसेको छ । बैठकले जिल्ला परिषद्का लागि तयारी समितिहरु गठन गरेको छ । प्रचारप्रसार समितिमा गुरुप्रसाद सापकोटा, मञ्च व्यबस्थापन तथा स्वयम्सेवक परिचालक समितिमा राजन खरेल र अर्जुन ढुंगाना, मञ्च व्यबस्थापन अम्बिका खतिवडा, ¥याली संयोजक केदार चौलागाईं, आर्थिक संयोजक दीपक सिंह, सांसद् गणेश थापा र गुरु सापकोटा, प्रतिनिधि कार्ड व्यबस्थापन खिलप्रसाद चौलागाईंलाई तोकिएको छ । राप्रपा नेपाल केन्द्रीय सदस्य दीपक सिंह, राजाराम बर्तौला, सांसद् गणेश थापा,पार्टी जिल्ला अध्यक्ष नवराज बिष्ट, बरिष्ठ उपाध्यक्ष रामहरि न्यौपाने, केदार चौलागाईं, गुरुप्रसाद सापकोटालगायत सहभागी बैठकले जिल्ला परिषद्लाई बृहत् बनाउने निर्णय गरेको छ ।
उद्घाटन समारोहमा जनसागरको सहभागिता जुटाउने तयारी भएको सांसद् थापाले बताए । जिल्ला परिषद्को पूर्वसन्ध्यामा थापा मकवानपुरका विभिन्न गाविस तथा नगरमा कमिटी गठन, सहयोग र विकास निर्माणमा सक्रिय छन् । थापाले राप्रपा नेपालप्रति मकवानपुरबासीको विश्वास र भरोसा बढेको दाबी गरे । जिल्ला परिषद्ले ४ वर्ष कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । परिषद्मा ४ सय ४५ प्रतिनिधि सहभागी हुने अध्यक्ष बिष्टले जानकारी दिए । प्रत्येक गाविसबाट ५ जना, हेटौंडा उपमहानगरबाछ १ सय १, थाहानगरबाट ५१, ४ निर्वाचन क्षेत्रबाट २१ जनाका दरले,जिल्ला कमिटीबाट २९ र केन्द्रीय कमिटीबाट अध्यक्ष कमल थापा, गणेश थापा, दीपक सिंह, मधु अधिकारी र राजाराम बर्तौला प्रतिनिधि आउने बिष्टले बताए । तेश्रो जिल्ला परिषद् उद्घाटन केन्द्रीय अध्यक्ष, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री कमल थापाले गर्नेछन् ।