प्रमाणपत्रधारी शिक्षाले देश विकास हुन्न– शिक्षा मन्त्री

 शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले प्रमाणपत्रधारी शिक्षालाई सीपसंग जोडर प्राविधिक शिक्षाका लागि सरकार योजना बद्ध रुपमा अघि बढिरहेको बताएकाछन् । यस वर्षबाट प्रवेशिका परीक्षालाई लेटर ग्रेडिङ प्रणालीमा लगिएको बताउँदै ग्रेड ‘डि’ र ‘इ’ आउने विद्यार्थीका लागि पनि प्राविधिक शिक्षा लिन सकिने व्यवस्थाको लागि शिक्षा मन्त्रालयले गृहकार्य थालेको पाए । मकवानपुरको थाहा नगरपालिकाको जनकल्याण उच्च माविमा यस शैक्षि सत्रबाट शुरु भएको प्राविधिक शिक्षा, कृषि तर्फको बाली विज्ञानको उद्घाटन गर्दै शिक्षा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टले जहिल्यै प्राविधिक शिक्षामा जोड दिने गरेको पोखरलेलले उल्लेख गरे । उनकै सक्रियतामा निर्माण भएको स्कुलमा प्राविधिक शिक्षा उद्घाटन गर्न पाउँदा विष्टको सपना पूरा भएको अनुभव आफूले गरेको मन्त्री पोखरेलले बताए । उनले अब मुलुकमा अनुसन्धानमुलक र प्राविधिक शिक्षालाई जोड दिने बताए । यो सवाल अबको शिक्षा ऐनले सम्बोधन गर्ने उनले बताए ।  
कार्यक्रममा सांसद रामनारायण विडारीले प्रयोगमै आधारित शिक्षा आवश्यक भएको औल्याए । उनले भने–‘कसरी पौडी खेलिन्छ ? भनेर आउने प्रश्नपत्रमा उत्तर लेखेर हैन, पौडी नै खेलेर सिक्ने किसिमको शिक्षा अबको आवश्यकता हो ।’ कार्यक्रममा सासंद विडारीले तरकारीको पकेट क्षेत्र मकवानपुरमा प्राविधिक शिक्षा शुरु हुनु प्रभावकारी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मकवानपुर २ नंबर निर्वाचन क्षेत्रका सांसद सुभाष चन्द्र ठकुरीले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएकोले हरेक शिक्षालाई प्राविधिक विषयसंग जोड्नुपर्ने बताए । सरकारले अहिले एक गाविस, एक प्राविधिकको अवधारणा ल्याएको बताउँदै त्यसलाई पूरा गर्न निर्वाचन क्षेत्रैपिच्छे खुलेका प्राविधिक शिक्षालयले सहयोग पु¥याउने बताए । 
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियार, शिक्षा शिक्षा अधिकारी अम्बिका आचार्य, क्षेत्रिय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक दिनेश श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका उपाध्यक्ष बलराम बल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, नेपाली काँग्रेस थाहानगरका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, माओवादी केन्द्रका नागर अध्यक्ष अरुण रायमाझी, राप्रपा नेपालका थाहानगर अध्यक्ष हरेराम कार्की लगायतकाको आतिथ्य रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीवकुमार स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । जनकल्यण उच्च माविमा यस शैक्षिकसत्रमा ४८ जनाले कृषि प्राविधिकतर्फ बाली विज्ञान अध्ययन गर्दैछन् । 
यसैबीच मकवानपुरको आग्रामा रहेको सुन्दरीदेवी माविमा पनि सिविल इन्जिनियरिङ विषयको अध्यापन विषयको ७ असारमै शिक्षा मन्त्री पोखरेलले उद्घाटन उद्घाटन गरे । कार्यक्रममा आग्राका राजनीतिक दलका प्रतिनीधिहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम सुन्दरीदेवी माविका अध्यक्ष विनायक गोलेको सभाध्यक्ष्यतामा भएको थियो ।सुन्दरीदेवी माविमा यसै शैक्षिकसत्रदेखि शुरु भएको सिविल इन्जिनियरिङतर्फ ३१ जनाले अध्ययन गर्ने भएकाछन् । 

All news in One Place