छुटेका भूकम्पपीडितको गुनासो सम्बोधन हुने
मकवानपुर थाहा नगरपालिकाका भूकम्प पीडितहरुको विद्युतीय तथ्याङ्क छुट भएको भए गुनासो फारम भरेर पुनःनिर्माण इकाई कार्यालय हेटौंडा पठाउने निर्णय भएको छ । नगरपालिकाको कार्यालय विकास घरमा नगरस्तरीय रजनीतिक दल, वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनीधिहरुको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
छुटेका भूकम्प पीडितहरुको गुनासो फारम वडा नागरिक मञ्चका संयोजक तथा प्रतिनीधिको सहयोगमा भर्ने व्यवस्था मिलाईने भएको छ । पुनः निर्माण प्राधिकरणले जिल्ला विकास समिति मार्फत तथ्याङ्क नगरपालिका कार्यालयमा पठाएपछि यथार्थ पीडितहरुको छुटेको गुनासो आएको हो । नागरिकको गुनासो सम्बोधन गर्न २० जेठमा बैठक बसेको हो ।
यस अघि थाहा नगरका यथार्थ भूकम्पपीडित सरकारको तथ्याङ्कमा छुटेको भन्दै नागरिकहरुले कार्यालयमै आएर गुनासो गरेका थिए ।
