हेटौंडाले सम्मान गरेकाे अम्बर गुरुङ

भिम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले अर्पण गर्ने भनेको पहिलो सम्मान ग्रहण गर्न संगीतकार अम्बर गुरुङ् २०६४ सालमा हेटौंडा आउनुभयो । २०६४ माघ १५ गते विजुली माया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार ग्रहण गर्न गुरुङ् पहिलो पटक हेटौंडा आउँदा नै यहाँको साहित्यिक माहौलबाट निकै आकर्षित हुनु भयो । साना तथा नयाँ संगीत सर्जक÷स्रष्टाहरुलाई पनि निकै सम्मानले हेर्ने गुरुङ्ले मकवानपुरको सांस्कृतिक/सांगीतिक अवस्थाको अध्ययन गर्ने इच्छा समेत त्यति बेला व्यक्त गर्नुभयो ।
२०६४ सालमा अम्बर गुरुङ्लाई सम्मान अर्पण गरिँदै
 । तस्बिर सौजन्यः तुल्सी थापा

“हामीले पहिलो पटक गुरुङ्लाई सम्मान गर्न बोलायौं उहाँले सहर्ष हाम्रो सम्मान स्वीकार गर्नुभयो” त्यतिबेला भिम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष साहित्यकार तुल्सी थापाले गुरुङ्को हेटौंडा आगमनको स्मरण गर्दै भन्नुभयो, “उहाँले मकवानपुरको संगीत र साहित्यको अध्ययनमा विशेष रुचि देखाउनु भएको थियो । यो सपना उहाँको अधुरो रह्यो ।” मकवानपुरको सांस्कृतिक विशेषताबारे धेरथोर जानकारी अम्बर गुरुङ्सँग रहेको उहाँले बताउनुभयो । अझ उहाँको बुझाइमा गुरुङ्प्रति प्रतिष्ठानको सम्मान भन्दा पनि गुरुङ्को हेटौंडामा उपस्थिति र सम्मानको स्वीकृति प्रतिष्ठानकै लागि विशेष सम्मान हो ।
 “कहिलेकाँही बाटो पर्दा हेटौंडा आएको भए पनि औपचारिक रुपमा हेटौंडामा पहिलो पटक आएको हु”, करिब एक दशक अघि अम्बर गुरुङ्सँग भएको कुराकानी स्मरण गर्दै थापाले सुनाउनुभयो, “मलाई मकवानपुरको सांस्कृतिक विशेषता उच्च लाग्यो । यहाँका जातजातिका भाषा तथा संगीतको अध्ययन गर्ने मेरो इच्छा जागृत भएको छ ।” आफैं सम्मानित महशुस गरेको मकवानपुरले त्यसका ३ वर्षपछि सोहि सम्मान फत्तेमान राजभण्डारीलाई अर्पण गर्न प्रमुख अतिथिको रुपमा अम्बर गुरुङ्लाई हेटौंडामा पायो । भिम विरागलाई पनि सम्मान गर्ने गुरुङ्ले दोश्रो पटक सोही कार्यक्रममा आउन पाउँदा निकै खुशी लागेको बताउँदा आफूहरुलाई निकै गौरव महशुस भएको थापा स्मरण गर्नुहुन्छ ।
 नेपालमा उहाँको संगीतको निकै ठूलो स्थान छ । दार्जलिङ्मा जन्मिनु भएका अम्बर गुरुङको कर्मथलो नेपाल रह्यो । गुरुङ्लाई हेटौंडामा ल्याएर सम्मान गर्न पाउनु सबै हेटौंडावासीको सम्मानको रुपमा प्रतिष्ठानले लिएको छ । गणतन्त्र स्थापनापछि प्रज्ञा प्रतिष्ठानको कुलपति भएर गुरुङ्ले लामो समय काम गर्नु भयो । यसैक्रममा हेटौंडाले फेरि एक पटक अम्बर गुरुङ्लाई भित्र्यायो । भिमफेदीका श्रष्टा गणेशलाल श्रेष्ठको शतवार्षिकीको समयमा अम्बर गुरुङ् हेटौंडा आउनु भयो । नेवा सांस्कृतिक पुचःले २०६८ चैत २७ गते श्रेष्ठको शतवार्षिकी कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा हेटौंडा आउँदा गुरुङ्ले हेटौंडाको नेवारी संस्कृति पनि देख्नु भयो । अझ भिमफेदीमा भएको विशेष कार्यक्रमले उहाँलाई थप आकर्षित ग¥यो । गणेशलाल श्रेष्ठको सम्मानमा ¥याली पनि निकालिएको थियो । “मकवानपुरमा पनि विविध सांस्कृतिक कार्यक्रम भएको उहाँले हेर्नुभयो”, मकवानपुरका साहित्यकार थापालाई गुरुङ्को भनाई अझै स्मरण छ, “उहाँले हेटौंडाको बसाई धेरै राम्रो भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । यो हाम्रो लागि निकै महत्वपूर्ण हो ।”
 हेटौंडा आफ्नो बेग्लै खालको धार्मिक संस्कृति रहेको उहाँको बुझाई रहेको थियो । स्वास्थ्यले साथ दिएको भए उहाँको हेटौंडा बसाई निकै लामो पनि हुन सक्ने थापाको बुझाइ छ । “तर उहाँले हामीलाई छाडेर गइसक्नु भयो,” थापा भन्नुहुन्छ, “हेटौंडालाई उहाँले धेरै सम्मान गर्नु भएको थियो । स्वस्थ हुनु भएकोभए यहाँ आएर उहाँले केही अध्ययन गर्नु हुन्थ्यो । संगीत र संस्कृतिको विषयमा खोज गर्ने उहाँको योजना थियो । हेटौंडाको विषयमा निकै सकारात्मक रहनु भएकै कारण उहाँको हेटौंडा साइनो निकट थियो ।”
 अम्बर गुरुङ भन्दा दुई पुस्तापछिको समूहका मकवानपुरे साहित्यकार निमेष निखिल पनि अम्बर गुरुङसँगको सम्बन्धलाई स्मरण गर्नुहुन्छ । एकदमै सरल, पुस्तान्तर भए पनि साथीभाई जस्तो व्यवहार गर्ने स्फूर्त मनस्थितिका अम्बर गुरुङलाई २०६४ सालमा सम्मान गर्ने कार्यक्रममा अम्बर गुरुङको व्यक्तित्वलाई चित्रण गरी कविता समेत लेख्नुभएको छ निमेष निखिलले । निखिल सम्झनुहुन्छ, “अम्बर गुरुङलाई सम्मान गर्ने कार्यक्रम तय भएपछि मलाई उहाँको बारेमा कविता लेख्न आग्रह भयो, मैले उहाँको सामान्य बायोडाटा हेरेर कविता लेखेको थिएँ ।” सम्मानित हुने सभामा आफ्नै बारेमा कविता रचना गरेर वाचन गरेको सुन्दा अम्बर गुरुङले खुसी व्यक्त गर्नुभएको उल्लेख गर्दै निमेष निखिलले भन्नुभयो, “कविता सुनिसकेपछि अम्बर गुरुङले मलाई अंगालो हालेर धन्यवाद दिनुभयो ।” केही समयपछि पोखरामा अम्बर गुरुङलाई भेट्दा आफ्नो परिचय दिँदै निमेष निखिल अम्बर गुरुङलाई नमस्कार गर्दा अम्बर गुरुङले भन्नुभएको कुरा निमेष निखिललाई अमीट छाप बनेको छ । अम्बर गुरुङले निमेष निखिललाई भन्नुभएछ, “ए निमेष निखिल ? मैले तिम्रो कविता कोठामा झुण्ड्याएर राखेको छु ।”
२०७३\०२\२५ 
प्रमोद अर्यालको ब्गबाट

All news in One Place