एसएलसीमो नतिजा आज
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा २ असारमा सार्वजनिक गर्ने भएको छ ।
दिउँसो ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले जनाएको छ । गत १८ चैत गतेदेखि २९ सम्म सञ्चालित परीक्षाको नतिजा यसवर्षदेखि अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीमा हुनेछ । एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने छ ।
९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।
नियमित, प्राविधिक र पुरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिने छ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ ।
परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएका छन् ।