गिद्ध संरक्षणका लागी मकवानपुर डाईक्लोफेनेक मुक्त
पुष्पराज अधिकारी
संरक्षण अभियान अन्तर्गत मकवानपुरलाई डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ ।
पशु उपचारमा डाईक्लोफेनेकको प्रयोग बन्द गरौं, लोपोन्मुख गिद्ध संरक्षण गरौं भन्ने नाराका साथ जिल्ला पशुसेवा कार्यालय तथा नेपाल पँक्षी संरक्षण संघले बिहीबार घोषणा कार्यक्रमको आयोजना गरी मकवानपुरलाई पशु डाईक्लोफेनिक मुक्त जिल्ला घोषणा गरेको हो ।
सन् २०११ मा गरिएको एक अध्ययनले नेपालमा पहिलेको भन्दा ९१ प्रतिशतले गिद्ध घटेको छ । गिद्धहरुको बिनाशको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाईक्लोफेनेक भएको उक्त अध्ययनले देखाएको छ । डाईक्लोफेनेक नामक औषधीले उपचार गराईएका पशुहरु उपचारको क्रममा मृत्यु भएमा तथा उक्त सिनो गिद्धहरुले खाएमा मृर्गौला काम गर्न छोडी केही दिनमै मरेको उक्त अध्ययनले देखाएको नेपाल पँक्षी संरक्षण संघका फिल्ड अफिसर भुपाल नेपालीले जानकारी दिए । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता तथा जिल्लाका पशुपँक्षी वातावरणीय सरोकारवालाहरुको उपस्थितीमा ५०औं जिल्लाको रुपमा मकवानपुरलाई डाईक्लोफेनेक मुक्त घोषणा गरेको हो । घोषणा गर्दै सहायक प्रजिअ पन्तले गिद्ध संरक्षण अभियान अन्तर्गत डाईक्लोफेनेक मुक्त घोषणामा मात्रै सिमित नभई अनुगमनको पाटोमा समेत अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । गिद्ध संरक्षणका लागी सम्पूर्ण पाराभेट तथा निजी पशु प्राबिधिकलाई पशुको उपचारमा डाईक्लोफेनेक नामक औषधी प्रयोग नगर्न निर्देशन दिए ।
गिद्ध संरक्षणका लागी सरकारले अभियान स्वरुप चारबर्षे गिद्ध संरक्षण कार्यक्रम९२०१५–२०१९० सञ्चालन गरेको छ । जस अनुसार दुईबर्षमा ७५ जिल्लालाई डाईक्लोफेनेक मुक्त बनाउने लक्ष्य रहेको पँक्षी संघका फिल्ड अफिसर नेपालीले बताए । नेपालमा पाइने नौ प्रजातिका गिद्धहरुमध्ये चार प्रजातीका गिद्धहरु डँगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध र सुन गिद्ध अति संकटमा रहेकाछन् । नेपालमा विभिन्न प्रजातिका करीब १५हजार गिद्धहरु रहको अनुमान रहेको छ । नेपाल सरकार औषधी ब्यबस्था बिभागले २०६३ मा डाईक्लोफेनेक औषधीलाई पूर्णरुपले बिक्री बितरण, आयात निर्यात तथा भण्डारणको लागी प्रतिबन्ध लगाएको छ । यदि कसैले बिक्रीबितरण गरिएको पाईएमा तीनबर्ष कैद वा पाँचहजार जरीवाना हुने कानुनी व्यवस्था रहेको छ ।