उद्योग वाणिज्य संघको भवन बनाउन जग्गा दिने घोषणा

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको भवन निर्माणका लागि बरिष्ठ उपाध्यक्ष नारायण सुवेदीले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 
संघका नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिनका लागि बिहीबार मनहरीमा आयोजित कार्यक्रममा उनले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ र मोबाइल एशोसिएसन मनहरीले आयोजना गरेको कार्यक्रममा अधिकाँश बक्ताहरुले उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाएका थिए । सोही क्रममा बरिष्ठ उपाध्यक्ष सुवेदीले आफ्नो नाउँमा रहेको १० धुर जग्गा उद्योग वाणिज्य संघलाई भवन निर्माणका लागि दिने घोषणा गरेका हुन् । उनल भने,–‘भवन निर्माणका लागि साथीहरु हातमा हात, साथमा साथ लागेर अघि बढ्छन् भने म १० धुर जग्गा काटेर दिन तयार छु ।’ जग्गा दिने घोषणा गरेलगत्तै उनलाई स्वागत र सम्मान गर्दै सहभागीहरुले ताली बजाएका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संघका अध्यक्ष गोविन्द रिजालले आफ्नो कार्यकालमा भवन निर्माण पहिलो प्राथमिकतामा पर्ने बताए । उनले सुविधासम्पन्न भवन निर्माण गर्ने र आउँदै गरेको मनहरी महोत्सवलाई व्यवस्थित पार्ने काममा आफ्नो कार्यकाललाई लगाउने बताए । अन्य बाँकी रहेका दैनिक कामहरुसँगै यी दुई कामलाई तुरुन्तै सुरु गरिहाल्ने र यसका लागि सबै व्यवसायीहरु एक भएर साथ दिनुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुवेदीसहित उपाध्यक्ष गणेशमान मानन्धर, महासचिव रामचन्द्र उप्रेती, सचिव पदमबहादुर तितुङ, कोषाध्यक्ष कृष्णहरि बर्ताैला, सहकोषाध्यक्ष जलाल दिन मियाँसहित सबै सदस्यहरुले आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यसमितिका सबै सदस्यहरुले आगामी कार्यकालमा केही न केही काम गरेरै देखाउने दाबी गरेका थिए । 
कपडा तथा तयारी पोशाक व्यवसायी संघका उपाध्यक्ष गणेश कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा मोबाइल एशोसिएनका सचिव हिमशिखर ब्लोन तथा कपडा व्यवसायीका तर्फबाट दीपक रिमालले स्वागत गरेका थिए । नव निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई कपडा व्यवसायी तथा मोबाइल एशोसिएसनका तर्फबाट खादा ओढाएर सम्मान तथा स्वागत गरिएको थियो । 
यसैगरी ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र मनहरीको प्रमु मिलन गीता पाठशालाले पनि नवनिर्वाचित संघका पदाधिकारी र कार्यसमितिलाई स्वागत र सम्मान गरेको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मकवानपुरकी प्रमुख सञ्चालिका शुसीला दिदीको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी उपसेवा केन्द्रकी सञ्चालिका संगिता दिदीले स्वागत गर्नुभएको थियो भने बरिष्ठ ब्रह्मकुमार बिजयराज सिग्देल तथा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजालले मन्तब्य ब्यक्त गरेका थिए । सोही अबसरमा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने स्वर्गीय सुदीप कार्कीकी माता निशा कार्कीलाई पनि सम्मान गरिएको थियो । 
-शिवकुमार काशी/मनहरी

All news in One Place