मेरी आमा (कविता)

मेरी आमा

मैले धेरै सुनेँ
कैयौ आमाका बेदनाहरु
अझ धेरै पढेँ
आमाका मुटुभरि भरिएका
मायाको गाग्रोहरुलाई
धेरैले फेसबुकको वालमा
आमाकै तस्वीर भरे
फेसबुकमा आमालाई धर्ती भन्नेहरुले
कहिल्यै आमाको आँसु पुछेनन्
त्यसैले त

आमाहरुको साँचो माया बुझ्न सकेनन ।
-आन्ना ढुंगेल (नीता)
थोत्रो घरमा चुपचाप
पात झरेको बुढो रुख झै
एकान्तकै बास भए पनि
भञ्ज्याङको चौतारी झै
सधै सितलता दिइरहने
मेरी आमा
सन्तानका खुशीका लागि
जीवनभर आफ्नो खुशी त्याग्दा पनि
आज अग्लिदैछ एक्लोपनको हिमाल
रंगहीन फुलहरुजस्तै
उदासीपनका दृश्यहरु
राम्रैसँग पढ्न सकिन्छ
चाउरिएका मुहारहरुमा
कतै सन्तोष देखिँदैन
सेतै फुलेका कपाल कन्याउँदै
आँखाका आँसु दबाउन खोज्ने
मुस्कुराएको अभिनय गर्दै
एक्लोपनलाईे छोप्न खोज्दैछिन्
विगत र आगतको सम्झनामा
उदास अनुहार लिएर
पल पल हार्ने मेरी आमा
अँध्यारोसँग मित लाउँदै
सन्तान खुशीका लागि
सधैँ मैन बाल्ने मेरी आमा
आज फेसबुकको भित्तामा टाँसिदा
जीवनभर तिमी रोएको
खै कसले पो देख्यो र ?
 -मातातीर्थ औंसी २०७३


All news in One Place