मन्दिर छ भगवान छैनन्
कृष्ण सारु ।
मकवानपुरः मन्दिर निर्माण गरिसक्न नभ्याउँदै भगवानको मूर्ति राखेर पूजापाठ गर्न हतारो हुन्छ । तर, मार्खु गाविस–४
सिम्लाङमा भने लक्ष्मीनारायण मन्दिर निर्माण गरेको २९ वर्षसम्म पनि स्थानीयले भगवान लक्ष्मीनारायणको मूर्ति राख्न सकेका छैनन् ।
कुलेखानी जलविद्युत् आयोजना निर्माण हुँदा २०३२ सालमा कुलेखानीको जलासय इन्द्रसरोबर नजिक रहेको मन्दिरको जग्गा आयोजनाले अधिग्रहण गरी मन्दिर डाँडामा सारेको थियो ।
नयाँ मन्दिर बनेपछि फिर्ता ल्याउने भन्दै चित्लाङबासीले लक्ष्मीनारायणको मूर्ति लगेका थिए ।
२०४४ सालमा नयाँ मन्दिर निर्माण भएपनि हालसम्म चित्लाङवासीले मूर्ति फिर्ता नदिँदा मन्दिर भगवानबिहीन भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झमकलाल बलामीले भने, ‘हामीले मन्दिर बनिसकेपछि सयौँ पटक मूर्ति फिर्ता ल्याउन छलफल गरिसक्यौं तर अझै पनि मूर्तिफिर्ता ल्याउन हामी सफल भएका छैनौँ ।’
मूर्तिकै विषयलाई लिएर दुई गाउँबीचको सम्बन्ध बिग्रिएको अध्यक्ष बलामीले बताए ।
इन्द्रसरोबर निर्माणको क्रममा मन्दिर भत्काइएपछि चित्लाङ गाविसका तत्कालिन प्रधानपञ्च सुन्दरमान श्रेष्ठले मूर्ति घरमा लगेर राखेका थिए ।
चित्लाङबासीहरुले गाउँमा भित्रिएको भगवान फिर्ता पठाउन नहुने भन्दै चित्लाङमै राखेको गाविस सचिव तपराज जोशीले बताए ।
चित्लाङबासीले भगवान लक्ष्मीनारायणको मन्दिर निर्माण गरिरहेका छन् । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण बलामीले भने, ‘गाउँमा भित्रिएका भगवान अन्यत्र पठाउदा गाउँमा अशुभ हुनुका सथै भगवान रिसाउनसक्ने भएकाले हामीले मार्खुबासीलाई नपठाएका हौँ ।’
मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको र छ महिनाभित्र मन्दिरमा भगवान लक्ष्मीनारायणको मूर्ति राख्ने तयारी गरिरहेको उनले बताए ।
मार्खुुबासीले मूर्ति फिर्ता ल्याउन सहयोग गर्न जिल्ला प्रशासन कार्यालय, पुरातत्व
विभाग र गुठी संस्थालाई अनुरोध गरेका थिए ।
‘सबै
निकायले पुरानो मन्दिर भएको ठाउँमा पुरानै र नयाँ मन्दिर भएको ठाउँमा नयाँ मूर्ति राख्नु भनेको थियो’, मार्खुस्थित
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बलामीले भने, ‘पुरातत्व
विभागले नयाँ मूर्ति किनिदिन्छु भन्दा पनि चित्लाङबासीले मानेनन् ।’
वर्षौ पुरानो मूर्ति अर्कैलाई दिएर नयाँ मूर्ति राख्दा भगवान लक्ष्मीनारायण रिसाउलान्की भन्ने मार्खुबासीलाई चिन्ता छ । स्थानीय मार्खु युवा क्लबले मन्दिरको संरक्षण गरिरहेको छ ।
‘भगवानका मूर्ति नै नभएपछि पुजापाठ हुने कुरा भएन मन्दिर ताल्चा लगाएर राखेको छौँ’,क्बलका निवर्तमान अध्यक्ष राजु बस्नेतले भने ।