थाहामा ४८ दिनपछि नयाँ कार्यकारी अधिकृत

मकवानपुर थाहा नगरपालिकामा रिक्त रहेको ४८ दिनपछि नयाँ कार्यकारी अधिकृत आएका छन् । बाराको कोल्वी नगरपालिकाबाट सरुवा भई भिमबहादुर परियार थाहा नगरपालिकामा आएका हुन् । यसअघि कार्यकारी अधिकृत रहेका हरिलाल पुरी उपसचिवमा बढुवाभई सरुवा भएपछि १५ चैतबाट थाहा कार्यकारी अधिकृत विहिन भएको थियो । पुरी अहिले नवलपरासीको कावासोती  नगरपालिकामा सेवारत् छन् । 
सरुवा भई थाहामा आएका कार्यकारी अधिकृत भिमबहादुर परियार मकवानपुर फापरबारी गाविसका स्थायी बासिन्दा हुन् । परियार सरकारी सेवा अघि गैरसरकारी संस्थामा सेवारत् थिए । लगनशील, जवाफदेहिता र कर्तव्यमा दृढ हुने स्वभावका परियारले सबै भन्दा पहिले पुरातत्व विभागबाट सरकारी सेवा शुरु गरेका हुन् । उनले डिभिजन    सहकारी कार्यालय मकवानपुर हेटौंडामा प्रमुख सहकारी अधिकृत भई सेवा गरे ।  पछिल्लो समय स्थानीय निकाय अन्तर्गत कोल्वी नगरपालिकामा कार्यकारी अधिकृत भई सेवारत् थिए । साँस्कृतिक तथा      पुरातात्विक क्षेत्र सहित मुलुककै अर्थतन्त्रको तीन मध्येको एक खम्बा सहकारीको क्षेत्रमा लामो अनुभव हासिल गरेका अधिकृत परियार स्थानीय निकायको कामप्रति उत्तिकै दख्खल राख्छन् । उनी समुदाय र नागरिकप्रति जिम्मेवार छन् । उनले मास्टर डिग्रीसम्मको शिक्षा हासिल गरेका छन् । लामो समय गैरसरकारी संस्थामा काम गरेकाले उनी योजना निर्माण र कार्यान्वयन तथा प्रशासकीय पद्दतीमा अघि छन् । थाहानगरमा उनी चौथो अधिकृतको रुपमा आएका हुन् । आएका मध्ये अधिकृत   परियार सबैभन्दा कान्छा अधिकृत हुन् ।

नयाँ कार्यकारीलाई अवसर 

थाहा नगरपालिकामा आएका नयाँ कार्यकारी अधिकृतका लागि नगरलाई कस्तो बनाउने भन्ने खाका सहितको विकास गर्ने ठूलो अवसर छ । हुनतः थाहानगरको तेस्रो नगरपरिषद्ले आर्थिक वर्ष २०७३/०७४ को अनुमानित बजेट पास गरिसकेको     छ । यद्यपी त्यसलाई योजना अनुसार आगामि पौष मसान्त भित्रमा सम्पन्न हुने चौथो नगरपरिषद्ले संशोधन भने गर्न सक्दछ । यसले गर्दा नयाँ आर्थिक वर्ष शुरु हुनै लाग्दा आएका कार्यकारी अधिकृतको लागि यो अवसर पनि हो । 
नगरपालिकाको यहि आर्थिक वर्षबाट नयाँ भवनबाट सेवा संचालन हुँदैछ । त्यसो त नगरका विभिन्न मुख्य चारवटा मुख्य सडकहरु धमाधम स्तरीकरण  हुँदैछन् । नगरपालिकालाई कस्तो बनाउने भन्ने विषयमा अब नयाँ कार्यकारी अधिकृत तथा रानैतिक दलको संयन्त्र, विषयगत उपसमिति तथा सरोकारवलाहरु सबैले नयाँ आर्थिक वर्षसंगै योजनावद्ध रुपमा अघि बढ्ने अर्को अवसर हो । 
नगरको वडा नंबर ७ इन्द्रायणी चौरमा निर्माणाधिन प्राकृतिक रंगशाला, भर्खरै सम्भाव्यता अध्ययन भएको नेपालकै पहिलो कृषि अनुसन्धान केन्द्र, पर्यटन विकासको लागि सम्भाव्यता अध्ययन भएको प्याराग्लाइडिङ, दामन भ्यू टावर नगरको मातहतमा ल्याइ संचालन गर्ने, नगरका प्रमुख पर्यटकीय गन्तव्यलाई स्तरीकरण गरी संचालनमा ल्याउने, नयाँगाउँमा वन उद्यान निर्माण गर्ने, रुपचन्द्र स्मृति स्मारक निर्माण सम्पन्न गर्ने, वडा कार्यालय भवन निर्माणलगायतका महत्वपूर्ण सवालहरुलाई नयाँ कार्यकारी अधिकृत सहित दलिय प्रतिनीधहरुसंग नगरबासीले आश गरेका सवाल हुन् । त्यसो त पुराना र राम्रा कामलाई पछ्याउन नगरबासीको आग्रह छ । मुख्य कुरा त समग्र नगरको गुरु योजना निर्माण गरी नगरलाई साँच्चिकै नगरको रुपमा विकास गर्नको लागि नयाँ कार्यकारी तथा नगरका नेतृत्वहरुलाई विकास विज्ञयहरुले सुझाएका छन् । पर्यटकीय नगरीका रुपमा परिचित बनाउनको लागि नगरपालिकाको पर्यटन गुरु योजना बनाउन यसै आर्थिक वर्षमा बजेट विनियोजन भएको भए पनि त्यसलाई पूरा गर्नका लागि अबको योजना बनाउनु पर्ने छ ।

पुरीले के गरे ?

थाहा नगरपालिका घोषणा भएको एक वर्ष भित्रैमा एकीकृत सम्पत्तिकर लागू गर्ने थाहा नगर मुलुककै अग्रपंक्तिको  नगरपालिका हो । साना नगरपालिकाको सूचीमा रहेको थाहाले यसरी द्रुत गतिमा काम गर्न सक्छ भन्ने विषयमा मन्त्रलय समेत विश्वस्त नहुँदा थाहाले कामै गरेर देखायो । पोखरा जस्तो विकसित उपमहानगरपालिकाले समेत यसवर्षबाट मात्र एकीकृत सम्पत्ति कर लागू गरेको   हो । यस अघि सेवारत् कार्यकारी अधिकृत हरिलाल पुरीको पालामा यो काम भएको हो । 
त्यसोतः स्थानीय निकासी करलाई मात्र नगरको मुख्य आन्तरिक आम्दानी देखिएकोमा सम्पत्ती कर अर्को भरपर्दो आम्दानीको स्रोत भएको छ । सफ्टवेयर नै राखेर थाहा नगरपालिकाले एकीकृत सम्पत्ती कर लागू गरेको हो । 
थाहानगर सहित जिल्ला नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको सन्दर्भमा थाहाले सरसफाई रणनीतिक योजना निर्माण गरेको छ । अब रणनीतिक योजनालाई कार्यान्वयनमा लैजानूपर्ने छ । पूर्व स्थानीय विकास अधिकारी भूवप्रकाश विष्टले समेत यस कार्यमा सहयोग गरेका छन् । नगरमा हुने सरसफाई सम्बन्धी कामलाई नगर सरसफाई रणनीतिक योजनालाई आधार मानेर अघि बढ्न विज्ञहरुले सुझाव दिएका छन् । थाहा नगरपालिकाको सडक गुरु योजना निर्माण भएको छ । यो अर्को एउटा महत्वपूर्ण कार्य हो ।  नगरको विकास कसरी हुन्छ भन्ने सवाल सडकले निर्धारण गर्दछ । त्यसैले सडक गुरु योजना अनुसार अब सडक विस्तार गर्नुपर्ने छ । थाहा नगरमा फहोर उठाउनको लागि टिूपर खरिद भएको भए पनि त्यसको उद्देश्य अनुसार काम हुन नसकेपनि ल्याण्डफिल्ड साइटको लागि वडा नंबर १ कजवे गैरीलाई योजनामा उनै अधिकृत पुरीको पालामा राखे । थाहा नगरपालिका घोषणा देखि नै साविक दामन गाविसको भवनमा कामकाज हुँदै आएकोमा नयाँ भवन निर्माण भएको    छ । नगरका चार मुख्य सडको टेण्डर सकेर सरुवा भएका अधिकृत पुरीकै पलामा रुपचन्द्र स्मृती पार्क निर्माण शुरु भएको छ । 
थाहा–८ नयाँगाउँमा वन उद्यानको लागि प्रक्रिया अघि बढेको छ । थाहा–७ मा बाल उद्यान निर्माणको लागि युनिसेफ र एलजीसिडिपीसंग प्रक्रिया अघि बढेको छ । २७ जना दरबन्दी रहेको थाहा नगरपालिकामा जनशक्तीको अभाव भइरहेको सन्दर्भमा छ जना स्थायी कर्मचारी अधिकृत पुरीकै पालामा भएको हो ।

All news in One Place