हेटौंडा–६ लाई बालश्रम मुक्त वडा घोषणा
हेटौंडा/ हेटौडा उपमहानगरपालिका ६ नं.वडा बाल श्रम मुक्त वडा घोषणा भएको छ । आईतबार एक समारोहको आयोजना गरी उक्त वडालाई बाल श्रम मुक्त वडा घोषणा गरिएको हो । सन् २०१६ सम्ममा हेटौडा उपमहानगरपालिका क्षेत्रलाई नै बाल श्रम मुक्त घोषणा गर्ने अभियान अन्तरगत हेटौंडाका २९ वडा मध्ये ६ नंं वडा बाल श्रम मुक्त वडा घोषणा गरिएको हो । यस अघि ११,९ र ७ नंं.वडाहरु बाल श्रम मुक्त वडा घोषणा गरिसकिएको छ ।
महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहले बाल श्रम बिरुद्धको सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गर्दै ६ नं.वडालाई निकृष्ट बाल श्रम मुक्त घोषणा गर्नु भयो । ६ नम्बर वडालाई बाल श्रम मुक्त वडा घोषणा गर्न स्थानिय स्तरबाट वडा नागरिक मञ्चका अध्यक्ष कृष्णप्रसाद संजेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिमा बाल संरक्षण समितिबाट शिबप्रसाद खनाल, वडा सचिब केशब बोहरा, टोल बिकास समन्वय समितिबाट रामहरी चौलागाई, सामाजिक परिचालक रचिता मुडवरी र बाल कल्याण समाजबाट प्रकाश खतिवडा रहेका थिए ।
६ नम्बर वडाको २३ वटा टोल बिकास संस्था, ६ वटा युवा क्लब, (रेसुङ्गा, समाज सेवा, बंश गोपाल, नब जिबन ज्योति, डांफे र रक्षा देबी,) नागरिक वडा मञ्च, कल्याणटार र चौघडा राईगाउ नागरिक सचेतना केन्द्र, बंश गोपाल उमाबि., बाल जागृती यूवा बर्ष माबिर श्री कृष्ण प्राबि बारुते, मुनलाईट शिक्षा निकेटन, प्रज्वल शिक्षा सदन र सुनगाभा शिक्षा निकेतन, सहकारी संस्थातर्फ गरिबी निबारण हात्तिलेट, जनता कृषि सहकारी रामनगर, जनकल्याण बचत तथा ऋण सहकारी संस्था, चौघडा बचत तथा ऋण सहकारी, नौलो बिहानी कृषी सहकारी लगायतले यस अघि नै बाल श्रम प्रयोग नगर्ने, नगराउने र बाल श्रम प्रयोग भएको सेवा र सुबिधा बहिष्कार गर्नेबारे सामुहिक रुपमा प्रतिबद्धता गरिसकेको बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए ।
६ नम्बरलाई बाल श्रम मुक्त घोषणा गर्नु अघि श्रम कार्यालयको अगुवाईमा हेटौंडा उपमहानगरपालिका,जिल्ला बिकास समिति,नेपाल पत्रकार महासंघ,महिला तथा बालबालिका कार्यालय,प्लान ईन्टरनेशनल,बाल कल्याण समाज,जिल्ला प्रहरी कार्यालय र नागरिक समाजबाट संयुक्त अनुगमण गरी बाल श्रम नभएको निष्कर्ष निकालिएको हेटौंडा उपनगरपालिकाको सामाजीक बिकास महाशाखा प्रमुख भीम तिमल्सिनाले बताए ।
६ नम्बरका वडा नागरिक मञ्चका संयोजक कृष्णप्रसाद संजेलको सभाध्यक्षतामा भएको घोषणा कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख शोभा शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शाहले बालश्रम प्रयोग कानुनी रुपमा दण्डनीय र सामाजीक कलंक भएकाले यसको प्रयोगमा निरुत्साहित गर्न सबै क्रियाशिल हुनु पर्ने बताइन् । कार्यक्रममा एमालेका गोपाल श्रेष्ठ, नेपाली काग्रेसका दिपकलाल खतिवडा, राप्रपाका रबिन्द्र अधिकारी वडा सचिब केशब बोहोरा, टोल बिकासका बिष्णु ढुङगाना, स्थानिय समुदायका त्रिबिक्रम मानन्धर, हेटौंडा नगरपालिकाका भीम तिमल्सिना, बाल कल्याण समाजका प्रकाश खतिवडा, प्लान ईन्टरनेशन मकवानपुरका जानुका घिमिरे, बाल जागृती युवा बर्ष माबिका प्रधानाध्यापक अर्जुन चौलागाई, बंश गोपाल उमाबिका प्राचार्य रमेश लामिछाने,स्थानिय संस्थाका रामहरी चौलागाई, शिब खनाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्टिय रुपमा कार्यरत सिबिस, सिबिन, एनसिपिए ,कन्सोर्टियम, सिजोप लगायतका सस्थाहरुले बाल श्रम मुक्त बडा घोषणाप्रति एक्यबद्धता जाहेर गरेका थिए ।
स्थानिय टोल बिकास संस्था वडा नागरिक मञ्च, सचेतना केन्द्र, बिद्यालय,सहकारी र संघ सस्थाहरुबाट ब्यानर सहित घोषणा र्यालीमा सहभागी भएका थिए । बाल श्रममुक्त वडा घोषणा हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजनामा प्लान ईन्टरनेशनल र बाल कल्याण समाजको सहकार्य र सहयोगमा भएको थियो ।
हेटौडा उपमहानगरपालिकाको सन् २०१६ को अन्त्य सम्ममा निकृष्ट बाल श्रम अन्त्य गर्ने रणनैतिक योजनामा प्लान ईन्टरनेशनल र बाल कल्याण समाजले निकृष्ट बाल श्रम न्युनिकरण परियोजना (होप) संचालन गरिरहेको छ । होपले सन् २००८ देखि श्रममा संलग्न बालबालिकालाई बैकल्पिक शिक्षा, बिद्यालय भर्ना तथा शैक्षिक सहयोग पारिवारिक आय, सीप बिकास तालिम बाल श्रम रुपान्तरणका लागि आय आर्जन तालिम, बाल क्लब र यूवा क्लबलाई बाल संरक्षण तालिम, रोजगार दाता र टोल बिकास संस्थालाई लक्षित गरी बाल श्रम बिरुद्धको सचेतना कार्यक्रम, किशोरी शिक्षा, उद्धार तथा पारिबारिक पुनर्मिलन , श्रोत केन्द्र सेवा आदि कार्यक्रम सञ्चालन गर्दै बाल श्रम न्युनिकरण गर्ने सवालमा कृयाशिल रहेको छ ।