न्याय पैसामा हैन, प्रमाणमा हुन्छ–न्यायधिस
न्यायलय कहिल्यै पैसाको आडमा नभइ प्रमाणका आधारमा छिनोफानो गर्ने निकाय भएको जिल्ला अदालत मकवानपुरका न्यायधिस कृष्णराम कोइरालाले बताए । कानुन दिवसको अवसरमा मकवानपुर थाहानगरमा आयोजना गरेको ‘न्यायमा पहुँचमा लागि समुदायमा अदालत’ कार्यक्रममा न्यायधिस कोइरालाले यस्तो बताएका हुन् ।
कार्यक्रमको अवसरमा थाहानगर क्षेत्रका स्थानीयहरुले अदालतमा जाँदा अपनाउनुपर्ने विधिको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागी निरञ्जन अधिकारीले कागजको भरमा भन्दा पनि प्रत्येक्ष फिल्डमै अनुगमन गरेर फैसला भए पहुँच नहुनेले पनि निसाफ हुने बताए । उनले भने–‘नाम नभनौ, निर्दोष पनि दोषी भएको घटना छ ।’
कार्यक्रममा जिल्ला अदालत मकवानपुरका अधिवक्ता इश्वरराज ढकालले ‘मकै भए घट्ट, पैसा भए अड्डा’ भन्ने उखानको पछि नलाग्न अनुरोध गरे । ढकालले भने–‘पैसाको पछि न्यायलय कहिल्यै पनि लाग्दैन, प्रमाण विना कसैले मुद्दा छिनोफानो गरेको भए भन्नूस्, हामी कानूनी दायरामा ल्याउँछौं ।’ कार्यक्रममा अधिवक्ता रमेश पोखरेल, कमल बहादुर घिसिङ, श्रेस्तेदार दशरथ पंगेनी, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र पनेरुलगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीयहरुले राखेको जिज्ञासामा अधिवक्ता तथा न्यायधिसहरुले जवाफ दिएका थिए । थाहा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सन्तोष बोहराको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, संयूक्त वडा सेवा केन्द्र पालुङका सचिव दिनेश महर्जन, प्राविधिक सुकदेव विडारी, राजश्व शाखा प्रमुख डोल्मा लामा, पत्रकार रामकुमार कार्की, जनकल्यण उच्च माविका प्राचार्य सानोभाई कार्कीलगायतकाको आतिथ्य रहेको थियो ।
कार्यक्रममा थाहानगरका सहकारीकर्मी, संघसंस्थाका प्रतिनीधि, किशोरी समूह, महिला समूह, सुरक्षा निकाय, विद्यार्थीहरू लगायतकाको क्षेत्रका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
तस्विरहरूः अच्यूत विडारी/विकासखबर