सडक नाटक तालिम शुरु
थाहानगर/आग्रा र टिस्टुङका युवाहरुको सहभागितामा चार दिने सडक नाटक तालिम मंगलबार पालुङमा शुरु भएको छ ।
थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारले तालिमको उद्घाटन गरेका हुन् ।
सो क्रममा उनले तालिमपछि आग्रा र टिस्टुङमा मात्र नभएर थाहा नगरपालिका आसपासका क्षेत्रमा जनचेतनाका लागि सशक्त नाट्य समूह बनाउन आग्रह गरे । नाटक जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो ।
टियर फण्डको सहयोगमा बाल कल्याण समाजले तालिमको आयोजना गरेको हो । तालिम उद्घाटन कार्यक्रममा टियर फण्डका एरिया कोअर्डिनेटर मुकुन्दराज केसीले युवाहरु परिवर्तनको संवाहक भएकाले उनीहरुबाट समाज परिवर्तनका लागि सडक नाटकका माध्यमबाट महत्वपूर्ण योगदान हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बाल कल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले युवाहरु आफ्नो उद्धेश्यमा स्पष्ट हुनु पर्ने औंल्याउँदै नाटक तालिमलाई प्रभावकारी बनाउन सहभागीहरुलाई आग्रह गरे ।
आग्रा र टिस्टुङ गाविसमा महिला हिँसा, बाल बिवाह, मानव वेचविखनजस्ता सामाजिक समस्याहरुलाई जरैदेखि उखेलेर फाल्न जनचेतनाका लागि तालिम आयोजना गरिएको परियोजना संयोजक कुमार नेगीले बताए । तालिममा दुबै गाविसका गरी २० जना युवा सहभागी छन् ।
नाट्यकर्मीहरु आसाकाजी श्रेष्ठ, भीमाकुमारी मैनाली, राम थोकर र लक्ष्मण थोकर तालिमका प्रशिक्षक छन् ।