जुटे फोहोरमैला व्यवस्थापनमा दामन–सिमभन्ज्याङबासी

मकवानपुर थाहा नगरपालिकाको दामन नयाँगाउँदेखि सिमभन्ज्याङसम्मको त्रिभूवन राजपथ आसपासमा सरसफाई गरिएको छ । नयाँगाउँ–दामन–सिमभन्ज्याङ क्षेत्रका होटल व्यवसायी, सामाजिक संघसंस्थाहरुका प्रतिनीधिहरुले स्वतस्फुर्त रुपमा सरसफाइ गरेका हुन् । 
थाहा नगरपालिकाको कार्यालयले नवौं गणतन्त्र दिवसको अवसरमा नगरको मुख्य बजार सरसफाई गरेको पर्सिपल्ट दामन सिमभन्ज्याङमा स्थानीयहरुले स्वतस्फूर्त रुपमा अभियान संचालन गरेका हुन् । संकलित फोहोरलाई नगरपालिकाको ट्रिपरको सहयोगमा एकै ठाउँमा जम्मा गरिएको छ । फोहोरमध्ये कुहिने नकुहिने छुट्याई त्यसको नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । 
नगरको फोहोर व्यवस्थापनको लागि थप कार्यक्रम संचालन गर्ने वातावरण तथा फोहोरमैला व्यवस्थापन अधिकृत न्यूटन महर्जनले बताए । नगरको फहोर व्यवस्थापनको लागि नगरबासी आफै सचेत भएकोमा कार्यकारी अधिकृत भिमबहादुर परियारले खुशी व्यक्त गरे । नगरबासीले फोहोरमैला व्यवस्थापनमा देखाएको जागरुपतालाई नगरले सकारात्मक रुपमा लिएको बताउँदै योजनावद्ध रुपमा फोहोर मैला व्यवस्थापन सम्बन्धी कार्यक्रम संचालन हुने परियारले बताए । फोहोर मैला व्यवस्थापनमा ट्रिपर सहयोग गरेकोमा कुरुणाभूमी सामुदायिक वनका अध्यक्ष तथा स्थानीय समाजसेवी बिनोद लामाले खुशी व्यक्त गरे । अध्यक्ष लामाले नगर र नगरबासीको सहकार्यमा नै सकारात्मक काम हुने प्रतिक्रिया दिए ।


All news in One Place