थाहा कार्यकारी अधिकृत बिहिन
सम्पूर्ण विकास निर्माण प्रभावित: १ करोड ८८ लाख ३२ हजार रुपियाँ खर्च हुन बाँकी
मकवानपुर थाहा नगरपालिकामा डेढ महीनादेखि कार्यकारी अधिकृत नहुँदा सम्पूर्ण विकास कार्य प्रभावित भएको छ । तत्कालिन कार्यकारी अधिकृत हरिलाल पुरीको उपसचिवमा बढुवा भइ नवलपरासीको कावासोती नगरपालिकामा सरुवा भएपछि थाहामा कार्यकारी अधिकृत रिक्त भएको हो । पुरीले चैत १५ गते थाहाबाट रमाना लिएर गएका हुन् । अधिकृत नहुँदा नगरपालिकाको बजेटमा निर्माण भएका कुनै पनि योजनाको अहिलेसम्म भूक्तानी हुन सकेको छैन । आर्थिक वर्ष सकिन दुई महीना बाँकी छँदा समेत नगरपालिकाले वर्षभरी गर्नुपर्ने विकास निर्माणको बजेट अझै खर्च गर्न सकेको छैन ।
![]() |
कार्यकारी अधिकृत कक्ष । |
नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ मा नगरपालिका अनुदान अन्तर्गत खर्च गर्नुपर्ने पुँजीगत बजेट तर्फ २ करोड ५४ लाख रुपियाँ मध्ये जम्मा ६५ लाख ७६ हजार ७०१ रुपियाँ मात्र खर्च भएको छ । अबको ६० दिनमा १ करोड ८८ लाख ३२ हजार २९९ रुपियाँ खर्च गर्नुपर्ने छ । यो आँकडा अनुसार नगरपालिकाले पुँजीगत तर्फ दिनको रु ३१ लाख ३८ हजारका दरले खर्च गरेर वर्षभरीको बजेट ६० दिनमा सक्नुपर्ने छ । सरकारी नियमानुसार असार २५ गतेबाट पुँजीगत खाता बन्द हुने प्रावधान छ । नगरपालिकाले वैशाख मसान्त भरीमा योजना सम्झौता गरी असार २५ गतेसम्म बजेट निकास गरीसक्नुपर्ने छ ।
नगरपालिकाले नगरपरिषद्बाट छनौंट गरेका योजना मध्ये अब चार वटा मात्र योजना सम्झौता हुन बाँकी रहेको योजना शाखा प्रमुख प्रकाश कुमार लामाले बताए । ‘कतिपय उपभोक्ता समितिहरुले काम सकिसके भूक्तानी दिन सकिएको छैन’–प्राविधिक सुकदेव विडारीले भने ।
त्यस्तै नगरपालिकाले चालुतर्फ भने विनियोजित बजेट भन्दा बढि खर्च गरिसकेको नगरपालिकाका लेखापाल दिपक गजुरेलले बताए । नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु.४१ लाख विनियोजन गरेकोमा मध्ये ४२ लाख ९९ हजार ६२० खर्च भइसकेको छ । नगरपालिकाले चालूखर्च तर्फ १ लाख ९९ हजार ६२० रुपियाँ बढि खर्च गरेको छ ।
सामाजिक सुरक्षा भत्ता पनि प्रभावित
थाहा नगरपालिका अन्तर्गतका १ हजार ४७८ जनाले कार्यकारी अधिकृतको अभावमा सामाजिक सुरक्षा भत्ता वापतको रकम बुझ्न पाएका छैनन् । नगरपालिकामा रहेका ७० वर्ष नाघेका ६२६ जना, दलित ज्येष्ठ नागरिक ७५ जना, एकल महिला ६८३ जना, पूर्ण अपांग १५ जना, आंशिक अपांग ३० जना, बाल संरक्षण अनुदान ४९ जना सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको सामाजिक विकास शाखा प्रमुख सुदर्शन पहेलीले जानकारी दिए ।
सामाजिक सुरक्षाको लागि जिल्ला विकास समिति मकवानपुरबाट १२ फागुन २०७२ मा ४५ लाख ९७ हजार २०० निकासा गरेको थियो । कार्यकारी अधिकृतले रमाना लिनू भन्दा एक महीना अघि सामाजिक सुरक्षा निकासा भएको भए पनि लेखापाल दिपक गजुरेलले बजेट खर्च योजना कमजोरीका कारण सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको हो । अहिले ज्येष्ठ नागरिकहरु भत्ता खोज्न नगरपालिका कार्यालय र संयूक्त वडा सेवा केन्द्रहरुमा आउने गरेको संयूक्त वडा सेवा केन्द्र पालुङका सचिव दिनेश महर्जनले बताए । कार्यालयमा दैनिक १०–१५ जना सामाजिक सुरक्षा भत्ताका लागि आउने गरेको सचिव महर्जनले बताए ।