उत्तरी मकवानपुरमा पनि बन्दको प्रभाव
ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै यातायात मजदुर तथा व्यवसायीहरु १३ जेठमा आव्हान गरेको चक्काजामको प्रभाव मकवानपुरमा परेको छ । विहानैबाट यातायात मजदुर तथा व्यवसायीहरुले भाडाका सवारी साधन आवागमनमा अवरोध सृजना गरेका छन् । मकवानपुरको सदरमुकाम हेटौंडा सहित थाहानगर तथा ग्रामिण क्षेत्रबाट संचालन हुने भाडाका सवारीसाधन संचालन भएका छैनन् ।
गृह मन्त्रालयले १३ जेठमा सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहहित विभिन्न याताव्यवसायी संकर मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै चक्काजामको पूर्वनिर्धारित कार्यक्रम फिर्ता नहुने जनाएका थिए ।
निजी सवारी साधनको आवागमनमा भने कुनै अवरोध नगर्ने संगठनहरुले जनाएका छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म हुने बताइएको छ । व्यवसायी र मजदुरले राजमार्गलाई शान्ति तथा बन्दमुक्त क्षेत्र घोषणा गर्न माग गर्ने गरेकोमा यसपटक उनीहरू आफैं बन्दमा उत्रिन लागेका हुन् । ट्राफिक प्रहरीले नियम नमान्नेविरुद्ध १ जेठदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो ।
मकवानपुर थाहानगर शिखरकोटमा भएको चक्काजामको दृश्य । |