राजनीतिक अस्थीरताले महिलाका मुद्दा कमजोर : राइ
थाहानगर/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष जयन्ती राइले राजनीतिक अस्थीरता र संक्रमणकालका कारण महिलाहरुका मुद्दा कमजोर बनेको बताएकी छन् ।
एमाले थाहानगर कमिटीको आयोजनामा सोमबार भएको अनेम संघ र युवा संघ नेपाल थाहानगरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै राइले महिलाहरुले उठाउँदै आएका लैङगिक हिंसा सहितका मुद्दाहरु राजनीतिक अस्थीरताका कारण कमजोर बनेको बताइन् । महिलालाई अधिकारसम्पन्न बनाउने विषय अघि बढ्न नसकेको भन्दै मुलुकको उच्च ओहोदामा महिला नेतृत्व रहेपनि महिलाका मुद्दालाई कार्यान्वयन गर्ने अवस्था नभएको बताइन् ।
‘१देशका तीन ठूला नेतृत्वमा महिला रहेपनि गाउँमा महिलामाथि दमन अझै कायम छ’, उनले भनिन्– मुलक संक्रमणकालबाट पूर्णरुपमा मुक्त नभएसम्म महिलाले हिंसाको शिकार बनिरहनुपर्छ ।
संविधानसभा सदस्य समेत रहेकी राइले पछिल्लो घटनाक्रमले मुलुकमा संविधान कार्यान्वयन नहुने संकेत देखापरेको दाबी गरिन् । मुलुकका समस्या पोको परेर विदेशीका सामु राख्दै मुलुकलाई थप संकटमा पार्ने तयारी वर्तमान सरकारले गरेको उनको आरोप थियो । संविधानको कार्यान्वयनका कुरा भारतसँग सहकार्य गर्दै गर्न थालेपछि मुलुकको राष्ट्रियता र स्वाधीनता थप खतरामा परेको उनको तर्क थियो ।
कार्यक्रममा अनेरास्ववियु पूर्वअध्यक्ष रामकुमारी झाँक्रीले मुलुकमा बन्ने भनेको ठूला आयोजना बाहिरी मुलुकको जिम्मा लगाउने बहानामा सरकारले राष्ट्रिय स्वाभिमानमाथि खेल्न खोजेको आरोप लगाइन् । एमाले थाहानगर अध्यक्ष अच्युतम्प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, अनेम संघ केन्द्रीय सचिव विष्णु ओझा, युवा संघ नेपालका केन्द्रीय सचिव नरेश शाहीलगायतले मन्तव्य राखेका थिए । लोकदोहोरी गायक बद्री पंगेनीको सांगीतिक प्रस्तुतिले सम्मेलनमा थप रौनकता थपिएको थियो ।