मकवानपुर महिला समुहले मनायो तीज
हेटौंडा/विगत १४ वर्षदेखि एच.आई.भी एड्स तथा महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको मकवानपुर महिला समूहले आफ्ना सदस्यहरुसँग तीज मनाएको छ । हेटौंडाको एक पार्टी प्यालेसमा आज एक कार्यक्रमका बीच मकवानपुर महिला समूहले तीज विशेष कार्यक्रम सञ्चालन गरेको हो ।
आफ्ना सदस्य तथा संस्थामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरोकार राख्ने पक्षहरुसँग खुसी साटासाट गर्ने उद्देश्यका साथ तीज विशेष कार्यक्रम राखिएको समूहकी अध्यक्ष ईश्वरी बानियाँले जानकारी दिनुभयो । वर्षभरका दुःख कष्टलाई भुलेर एक दिन भएपनि आफ्ना दिदीबहिनीहरुसँग रमाएर नाच्दा आनन्द मिल्ने भएकाले समूहले दिदीबहिनीकै अनुरोधमा हरेक साल तीज विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्तर्गत गीति नाटक, नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रम मार्फत तीजलाई सन्देशमूलक र हिंसाको अन्त्यका लागि पनि पहल गरिएको संस्थाकी कार्यक्रम संयोजक निशा लामाले जानकारी दिनुभयो । मकवानपुर महिला समूहकी अध्यक्ष ईश्वरी बानियाँको सभाध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यता तथा सेतु नेपालका कार्यक्रम संयोजक रञ्जु रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।