पारिवारिक आर्थिक व्यवस्थापन तालिम

थाहानगर/आग्रा गाविसमा विपन्न र पहँुचको कमी भएका महिलाहरुले पारिवारिक आर्थिक व्यवस्थापन तथा महिला नेतृत्वसम्बन्धी तालिम लिएका छन् । गाविसको विभिन्न महिला समूहमा आबद्ध ३० जना महिलाले सो तालिम लिएका हुन् ।
टियर फण्डको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले तालिमको आयोजना गरेको हो । २ दिने तालिम मंगलबार शुरु भइ बुधबार समापन गरिएको बाल कल्याण समाजकी आग्रा फिल्ड सुपरभाइजर उमा कार्कीले बताइन् ।
ग्रामीण महिला स्वावलम्बन संस्थाका कुमार रुम्बा र आशिष अस्लामी मगरले सहजीकरण गरेको तालिममा महिलाहरुलाई आफ्नो परिवारको आर्थिक योजना बनाउन सिकाइएको थियो । तालिमको उद्घाटन गर्दै परियोजना संयोजक कुमार नेगीले तालिमपछि सहभागी महिलाहरुलाई आफ्नो पारिवारिक आर्थिक योजना बनाएर अघि बढ्न आग्रह गरेका थिए । तालिमपछि उनीहरुको दैनिक जीवनमा आएको परिवर्तनबारे अनुगमन गरिने पनि उनले बताए ।
तालिममा सहभागी ललिता अधिकारीले तालिमबाट आफूले इच्छा र आवश्यकता छुट्याएर काम गर्ने कुरा सिकेको र अब आवश्यकता अनुसार आम्दानी र खर्च गर्न पारिवारिक योजना बनाउने प्रतिवद्धता व्यक्त गरिन् । त्यस्तै अर्का सहभागी करिना थिङले महिला कसरी नेतृत्वमा पुगन सक्छन् भन्ने बारेमा सिकेको र यसले आफूमा उत्साह थपिएको बताइन् ।
कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष काइँलीमाया गोलेले महिलाहरुलाई चुलोचौकोमा मात्र सीमित नभई त्यसभन्दा बाहिर आउन आग्रह गरिन् । ‘घरमा मज्जाले काम गर्नुपर्छ, तर यस्तो तालिम र अवसर आयो भने छोड्नु हुँदैन’ उनले भनिन्, ‘केही गर्छ भन्ने अठोट लिएर गर्ने हो भने अवश्य सफलता पाउन सकिन्छ ।’ उनले आफै पनि ठूलो संघर्ष गरेर गाविस भरिका महिलाको नेतृत्व गर्ने तहमा पुगेको बताइन् ।