डाँडाखर्कमा हुरीबतासले मकै सोत्राम्मे
मंगलबार साँझ वर्षासागै आएको हुरीबतासले मकवानपुरको डाँडाखर्क गाविसमा खेती गरिएको मकै सखाप पारेको छ ।
चमरा र घोगा लाग्दै गरेको मकै हुरीले सखाप पारेको स्थानीय गुणराज लामाले जानकारी दिए । अपरान्हदेखि शुरु भएको वर्षा र हुरी साँझ ६ बजेबाट मत्थर भएको थियो ।
हुरीले मकैको बिरुवा सोत्तर बनाएपछि गाउँमा अब के खाएर बाँच्ने भन्ने चिन्ता छाएको छ । मकै डाँडाखर्कबासीको मुख्य अन्न बाली हो ।
हुरीले मकैबालीभित्र लगाइएको कोदोका विरुवा पनि ढालेको लामाले बताए । ‘घोगा लाग्दै गरेको मकै ढलेपछि अब उठ्न सक्दैन, कोदोचाहिँ तैविसेक उठ्छ की,’ उनले भने ।
हुरीले वर्षा घरभित्र पस्दा स्थानीय झनै त्राहीमाम बनेका थिए । भूकम्पले चर्किएको, पाखा झरेको र कमजोर भएको अवस्थामा भित्रै पानी पसेपछि केहीबर उनीहरुको भागाभाग समेत भएको लामाले बताए ।