‘अब आफै बैठक चलाउँछु’
टिस्टुङको बागेश्वरी बाल क्लबकी छात्रा सबिता बिकेलाई बाल क्लबले के गर्छ भन्ने थाहा थिएन । उनलाई आफूले के गर्नुपर्छ भन्ने पनि थाहा थिएन । ‘साथीहरुले बाल क्लबमा सम्बन्ध विकास सचिबमा बस्न आग्रह गरे, सम्बन्ध विकास सचिबको काम के हो भन्ने चाहिँ थाहा थिएन’ सबिताले भनिन् ।
भदौको दोस्रो साता क्लबको बैठक बस्यो । बैठकमा बाल क्लबको पदाधिकारीलाई टियर फण्ड÷बाल कल्याण समाजले तालिम दिन लागेको थाहा भयो । तालिम लिन कसलाई पठाउने भन्ने विषयमा बैठकमा छलफल भयो । सबिताले आफू तालिममा जाने इच्छा जनाइन् । अरुले सहमति जनाए । क्लबबाट तीन जना पठाउनु पर्नेमा एक जना उनी पनि परिन् । बागेश्वरीबाट सुष्मा, अविनाश र सविता तालिममा सहभागी भए ।
भदौको १२ र १३ गते टिस्टुङको नौखण्डेमा तालिम भयो । सवितासहित टिस्टुङका ८ वटा बाल क्लबका २३ जना पदाधिकारीहरु तालिममा सहभागी थिए । ‘मलाई बाल क्लबमा बसेदेखि नै तालिम लिन मन लागेको थियो । मेरो इच्छा बाल कल्याण समाजले पुरा गरिदियो’ तालिमको समापनमा बोल्दै उनले भनिन् ।

‘बैठक शुरु भएपछि क्लब सचिबलाई बैठकको अध्यक्षताको लागि आग्रह गरें । क्लब सचिबले बैठकसमक्ष प्रस्ताव राख्न भन्नु भयो । प्रस्ताब पेश गरेर सबै सचिबहरुलाई पालैपालो प्रस्तावमाथि आआफ्नो विचार राख्न आग्रह गरें । अन्त्यमा क्लब सचिबले सबैको विचार सुनेपछि निष्कर्ष दिनुभयो । मैले निर्णय पुस्तिकामा निर्णय लेखें र सबैलाइृ सुनाएँ । निर्णयमा सबैले सही गरे ।’
बैठकमा सम्बन्ध विकास सचिबको कामबारे अभ्यास गर्दा सवितालाई ज्यादैै रमाइलो लाग्यो । उनले प्रत्यक्ष रुपमा धेरै कुरा सिकिन् । बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले उनीहरुलाई बैठकको अभ्यास गराएका थिए । सबिताले भनिन्, ‘मलाई सम्बन्ध विकास सचिबले गर्ने काम थाहा थिएन, अहिले बुझें ।’
तालिममा सहभागीहरु क्लब सचिब, सम्बन्ध विकास सचिब, अनुशासन सचिब, खेलकुद सचिब, सरसफाइ सचिब, मनोरनजन सचिब, स्वास्थ्य सचिब आदि थिए । उनीहरुले आआफ्नो काम के हो भन्ने कुरा बुझे । तालिमको समापनमा मन्तव्य व्यक्त गर्दै सबिताले भनिन्, ‘अब म क्लबमा सम्बन्ध विकास सचिबको भूमिका राम्रो सँग निभाउँछु । मैले धेरै कुरा सिकेको छु ।’
जाँदाजाँदा उनले टियर फण्ड र बाल कल्याण समाजलाई धन्यवाद दिन छुटाइनन् । ‘यो तालिमको व्यवस्था नभएको भए आफू नाम मात्रको पदाधिकारी हुने रहेछु,’ उनले भनिन् । उनले आफूलाई तालिममा सहभागी हुन पठाउने बागेश्वरी बाल क्लबका साथीहरुप्रति पनि आभार व्यक्त गरिन् ।