आग्रा र टिस्टुङमा सूचना केन्द्र शुरु

टिस्टुङमा गाविस कार्यालयसँग समन्वय गरी नौखण्डेस्थित गाविस भवनबाट र आग्रा गाविसमा कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरी सोही संस्थाको भवनबाट सूचना केन्द्र संचालन गरिएको बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले जानकारी दिए ।
नेगीका अनुसार श्रोत केन्द्रको रुपमा संचालन गरिएको सूचना केन्द्रमा मुख्यतयाः नागरिकको संरक्षण र अधिकारसँग जोडिएका सूचना तथा शिक्षामुलक पाठ्यसामग्री राखिएका छन् । महिला, बालबालिका र जोखिममा रहेका नागरिकहरुको सेवाप्रदायक निकायसँग पहुँच पु¥याउन र नागरिक सशक्तीकरणमा सहयोग पु¥याउन सूचना श्रोत केन्द्र संचालन गरिएको हो ।
स्थानीय नागरिकको आवश्यकताका आधारमा सूचना, शिक्षा तथा संचार सामग्री प्रकाशन तयारी गरिरहेको बाल कल्याण समाजले उक्त सूचना केन्द्रमा हाल विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग संकलन गरिएका पाठ्य सामग्री राखेको छ । ‘हाल धेरैजसो महिला तथा बाल अधिकारसँग सम्बन्धित शिक्षा तथा सूचनामुलक सामग्री राखेका छौं’ नेगीले भने ।
संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, जीवीकोर्पाजन, कृषि, विपद व्यवस्थापन, सरसफाइ, आवास तथा पुनर्निर्माण लगायत स्थानीय नागरिकलाई आवश्यक सामग्री सूचना केन्द्रमा राखिने र त्यस्ता सामग्रीहरु उपलब्ध गराउन बालकल्याण समाजले सरोकारवाला संघसंस्थाहरुलाई आग्रहसमेत गरेको छ ।
असारमा स्थापना गरिएको सूचना केन्द्र साउनको दोस्रो साताबाट संचालनमा ल्याइएको बाल कल्याण समाजका टिस्टुङ गाविस सुपरभाइजर बिरबहादुर थापाले बताए ।