पुनर्निर्माण प्राधिकरणलाई ८४ अर्बको अख्तियारी
वैदेशिक अनुदान ३२ अर्ब/ऋण ३५ अर्ब हुने
काठमाडौं, साउन १०
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ८४ अर्ब रुपैयाँबराबरको अख्तियारी प्रदान गरेको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष ०७३/०७४ का लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई नेपाल सरकार, वैदेशिक सहायता तथा अनुदान र वैदेशिक ऋणहरुमार्फत करिब ८४ अर्ब रुपैयाँबराबरको अख्तियारी उपलब्ध गराएको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा एक खर्ब ४२ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा गरिसकेको अवस्थामा अर्थ मन्त्रालयले हालै प्राधिकरणलाई करिब ८४ अर्ब रुपैयाँको अख्तियारी प्रदान गरेको हो । प्राधिकरणले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले उक्त रकमको स्रोत नेपाल सरकार, दातृनिकायहरुले उपलब्ध गराएको अनुदान र ऋण रकम रहेको जानकारी दिए । उक्त रकममध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट व्यहोरिने भएको छ । यस्तै प्राधिकरणका अनुसार सबैभन्दा बढी भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि अनुदान तथा सहायता उपलब्ध गराएको छ ।
प्राधिकरणका अनुसार सरकारले उपलब्ध गराएको रकममध्ये भारतबाट १२ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध भएको छ । यस्तै वैदेशिक सहायतातर्फ नगद अनुदानतर्फ जाइकाबाट एक अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट एक अर्ब ५० करोड रुपैयाँ, जर्मनी केएफडब्लुबाट तीन अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै ऋणतर्फ आईडीएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, एसियाली विकास बैंकबाट नौ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपैयाँ ऋण लिइएको छ ।
यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ स्रोत उपलब्ध हुने प्राधिकरणले जनाएको छ । गत वर्ष अर्थ मन्त्रालयबाट चार वटा खर्च शीर्षकमा रकम विनियोजन भएको हुँदा स्रोतान्तर रकमान्तर लगायतको प्रक्रियाका कारण बढी समय लागेको प्राधिकणले जनाएको छ ।
यसपटक १३ वटा खर्च शीर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने प्राधिकरणले विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विपद्पछिको आवश्यता आंकलन प्रतिवेदन (पीडीएनए) र पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाका (पीडीआरएफ)मा उल्लेख भएका क्रियाकलापहरुलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गराएको आधारमा सम्बन्धित निकायहरुबाट कार्यक्रमहरु प्राप्त गरी प्राधिकरणको कार्यकारी समितिले नीतिगत निर्णय गरेका आधारमा बजेट निकास गरिने प्राधिकरणले जनाएको छ ।