साढे चार लाख भूकम्पपीडितलाई, २३ अर्ब ७३ करोड रकम आवश्यक


घर/आवास निर्माणका लागि केन्द्रीय आयोजनालाई २० अर्बको अख्तियारी



गत वर्षको विनाशकारी भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेकामध्ये चार लाख ७४ हजार चार सय ४४ घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि साढे २३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान पाउने सूचीमा परेका उक्त संख्याका घरधनीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक भएको जनाएको छ ।

   यस्तै सरकारले भूकम्पपीडितहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई करिब २० अर्ब रुपैयाँ अख्तियारी प्रदान गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित भई अनुदान पाउने सूचीमा परेका भूकम्पपीडितहरुलाई घर तथा आवास निर्माणका लागि पहिलो किस्ताको रकम उपलब्ध गराउनका लागि उक्त इकाइलाई सो रकम बराबरको बजेटको अख्तियारी उपलब्ध गराएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उक्त इकाइलाई भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने गरी अख्तियारी प्रदान गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । प्राधिकरणले मंगलबार उक्त अख्तियारी इकाइलाई प्रदान गरेको हो ।

   उनले अनुदान रकम व्यवस्थापन गर्नका लागि नेपाल सरकार, दातृनिकाय र अघिल्लो वर्षको बचत रकम तथा गैरसरकारी संस्थाबाट उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए । यस्तै प्राधिकरणले १९ अर्ब ३३ करोड नौ हजार एक सय ५० रुपैयाँ खर्च गर्न सकिने भन्दै बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थाहरुमार्फत उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिएको छ । यस्तै प्राधिकरणले उपत्यकाबाहिरका भूकम्पबाट अतिप्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकामा गरी पाँच लाख ३३ हजार एक सय ६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको जनाएको छ । यस्तै हालसम्म ३७ हजार ७२ घरधनीका लागि पहिलो किस्ताको अनुदान रकम एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।

   चालू आर्थिक वर्षमा पुनर्निर्माणका कार्यहरु अघि बढाउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिब ८४ अर्ब रुपैयाँको बजेट अख्तियारी प्रदान गरिसकेको छ । कुल अनुदान पाउन अनुदान सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरकारी संस्थाहरुसँग सम्झौता भइसकेको छ । उनीहरुले प्राधिकरणबाट तोकिएका बैंकहरुमार्फत नेपाल सरकारले उपलब्ध गराएसरह पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्ताबापत ८० हजार र तेस्रो किस्ताबापत ७० हजार रुपैयाँ उपलब्ध गराउन व्यवस्था सरकारले बनाइसकेको छ । यस्तै प्राधिकरणले काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सर्वेक्षण सुरु भएको छ भने भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण गर्ने तयारी भइरहेको छ । सर्वेक्षणपछि तथ्यांक विश्लेषण गरी अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गरेपछि अनुदान रकम उपलब्ध गराइनेछ ।
मदन मिजार काठमाडौं, साउन १३

All news in One Place